कर्मचारीलाई कोभिड देखिएपछि हुप्सेकोट गाउँपालिका बन्द
नवलपुर : नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को हुप्सेकोट गाउँपालिकामा कार्यरत कर्मचारीमा कोभिड-१९ को संक्रमण देखिएपछि गाउँपालिकाबाट प्रदान गरिने सेवा बन्द गरिएको छ । गाउँपालिकाको कार्यालयमा कार्यरत दुई जना कर्मचारीमा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएपछि गाउँपालिकाबाट प्रवाह गरिने सेवा चार दिनका लागि बन्द गरिएको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिका उपाध्यक्ष स्वतन्त्र कोपिला मल्लले सम्भावित संक्रमणको जोखिमलाई न्यूनीकरण गर्नका लागि कार्यालयबाट प्रवाह हुँदै आएको स्वास्थ्यलगायत अन्य अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरिएको जानकारी दिइन् । कर्मचारीहरूको स्वाब परीक्षणका क्रममा बुधबार उनीहरूमा संक्रमण पुष्टि भएपछि आजदेखि वैशाख १९ गतेसम्मका लागि गाउँपालिकाको सेवा प्रवाह बन्द गरिएको मल्लले बताइन् ।
पालिकाको अन्य वडा कार्यालयहरुबाट प्रवाह हुने सेवा भने स्वास्थ्य मापदण्ड अपनाएर पूर्ववतरूपमा सञ्चालन गरिने मल्लको भनाइ छ । जिल्लामा समेत दोस्रो लहरको कोभिड-१९ सङ्क्रमण तीव्ररूपमा बढेको भन्दै गाउँपालिकाले संक्रमणबाट जोगिन स्वास्थ्य सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ । (रासस)
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया