समाज

आमा कि आइडल आमा ?

सृजना खड्का |
पुस २५, २०७९ सोमबार ७:४२ बजे

‘मर्ने बेला हरियो काँक्रो ।’
‘बुढेसकालमा बैंस आएछ ।’
‘नातिनी खेलाउने बेला, ब्वाइफ्रेन्ड !’
‘गतिछाडा आइमाई, लाजको पसारो ।’
‘हाम्रो संस्कृति यस्तैले गर्दा बिग्रिएको हो ।’

एक साताअघि बैंकर रबिना देशराज श्रेष्ठले सामाजिक सञ्जालमार्फत प्रेमी स्टुआर्ट अलेक्जेन्डर च्यापम्यानलाई सार्वजनिक गर्दा आएका प्रतिक्रिया हुन् यी ।
उनको यो निर्णयलाई केहीले स्वागत गरे पनि धेरैले अश्लील र अपाच्य प्रतिक्रिया दिएका छन् । उनीहरूका अनुसार रविना यतिबेला प्रेमी स्टुआर्टसँग दक्षिण अफ्रिकी टापु राष्ट्र मडागास्कारमा घुम्न होइन, नातिनी स्याहार्न व्यस्त हुनुपपर्थ्यो । किनभने, हाम्रो समाजमा आमा/हजुरआमा आफ्नो होइन, अरुको इच्छामा बाँच्ने वस्तु हुन् ।


०००
अधिवक्ता तथा महिला अधिकारकर्मी विपना योगी (३४) ले गत असारमा दोस्रो बिहे गरिन् । श्रीमान् बितेको १२ वर्षपछि बल्ल उनले यो हिम्मत जुटाइन् । श्रीमान् गुमाएको सात/आठ वर्षसम्म दोस्रो बिहेबारे उनले कल्पनासमेत गरेकी थिइनन् ।

‘बिहे गर्दा भोलि भाइ, दाइ, बुवा, काका, मामाले के भन्लान्,’ यस्तै कुरा उनको मनमा खेल्थ्यो । तर, छोरी हुर्कंदै गएपछि भने उनलाई आफ्नो पनि कोही साथी भइदिए हुन्थ्यो भन्ने लाग्न थाल्यो ।

यही क्रममा उनको भेट ललितपुर, बालकुमारीका कविन्द्र श्रेष्ठ (४६) सँग भयो । कोभिड–१९ का कारण श्रीमती गुमाएर विरक्तिएका थिए, कविन्द्र । एकअर्कोको दुःख साट्दासाट्दै कतिबेला दुवैको मन साटियो पत्तै भएन । दुवैले बिहेको निर्णय गरे ।

विपनाको १५ र कविन्द्रको १८ वर्षीया छोरी छन् । सुरुमा उनीहरूले छोरीहरूसँगै सल्लाह गरे । दुवैजना बुवाआमाको पक्षमा उभिए । विपनाको परिवारले पनि खासै नाइँनास्ती गरेन । 
तर, आफन्त र समाज ?

कसैले कुरा काटे, कसैले बिहे नै बहिष्कार गरे ।  ‘दोस्रो नै सही मैले धुमधामसँग बिहे गर्ने निर्णय गरेँ,’ विपनाले सुनाइन्, ‘आफन्तले ‘विधुवा भएर पनि किन यसरी तामझामले बिहे गर्नुपरेको होला, लुकेर गरेको भए भइहाल्थ्यो नि’ भने । ‘त्यस्तो चटक हेर्न जानुप¥या छैन’ भनेर कतिजना त बिहेमै आएनन् ।’

१२ वर्षको एकल जीवन कसरी बित्यो, त्यो विपनालाई मात्र थाहा छ । उनका श्रीमानलाई बिहेको निर्णय गर्न दुई वर्ष पनि लागेन । तर, उनलाई यो आँट बटुल्न १२ वर्ष लाग्यो । महिलाहरू जन्मेदेखि मृत्युपर्यन्त पुरुषहरूबाट संरक्षित हुँदै आएको उनी बताउँछिन् ।

‘सानो हुँदा बुवाको संरक्षण, अलि ठूलो भएपछि दाजुभाइ, बिहेपछि श्रीमान् र श्रीमान् बितेपछि काका, मामालगायत समाजका विभिन्न पुरुषले हामीमाथि नजर लगाइरहेको हुन्छ,’ उनले भनिन्, ‘महिलाहरूलाई स्वतन्त्र छाड्नु हुँदैन भन्ने हाम्रो समाजको मान्यता छ । श्रीमान् बितेपछि त झन् सम्पूर्ण समाज एकल महिलालाई बात लगाउन पिछा लागेर हिँडेको हुन्छ । तर, मैले विद्रोह गरेँ ।’

उनको विद्रोहलाई ढाडस दिने पात्र हुन्, अभिनेत्री श्वेता खड्का । ‘श्वेताले बिहे गरेपछि मलाई पनि हिम्मत आयो,’ विपनाले भनिन्, ‘उहाँसँग मैले तपाईंको निर्णयप्रति मेरो सम्मान छ भनेर कुरा पनि गरेको थिएँ ।’

महिलाले आफ्नो जीवनको निर्णय आफैँ गर्न आर्थिक रूपले सक्षम हुनुपर्ने विपनाको तर्क छ । ‘आर्थिक रूपले सक्षम भएपछि महिलाले जस्तोसुकै निर्णय लिन सक्छन्,’ उनले भनिन्, ‘म पनि आर्थिक हिसाबले सक्षम थिइनँ भने, सायद यो आँट गर्न सक्ने थिइनँ ।’

तर, विपनाको जस्तो आँट रिटायर्ड जीवन बिताइरहकेकी कविता (नाम परिवर्तन)ले भने गरेकी छैनन् । बिहेको केही वर्षपछि नै श्रीमान् बितेपछि उनले दुई छोरी हुर्काइन् । आधा उमेर छोरीहरूको लालनपालनमा बिताएकी उनी अहिले एकल नै छिन् ।

दुवैजना बिहे गरेर विदेश पुगिसके । यतिबेला अनामिकालाई सहाराको आवश्यकता महसुस भएको छ । केही दिनअघि उनले छोरीहरूलाई आफ्नो इच्छा राखिन् । जुन इच्छा छोरीहरूले उनलाई कहिल्यै सोधेका थिएनन् ।

बुढेसकालमा सहाराको कुरा गर्दा छोरीहरूले साथ दिनुको सट्टा उल्टै खबरदारी गरे । ‘एउटीले हजुरआमा बन्ने उमेरमा केको बिहेको कुरा गर्नुभएको भनी, अर्कीले समाजले के भन्ला, आफन्तले के सोच्लान् भनेर मलाई लाजमर्दो कुरा नगर्नुस् भनी ।’

बुवाको बिहे सहजै स्वीकार्ने छोराछोरीले आमाको बिहे किन स्वीकार्दैन त ? पितृसत्ताविरुद्ध आवाज उठाउने लेखक शीतल दाहालका अनुसार यसमा हाम्रो समाजले बालबालिकालाई कसरी हुर्किइरहेका छन्, त्यसले अर्थ राख्छ । ‘छिमेकमा कुनै एकल अंकलले बिहे गर्दा परिवारमा कस्तो छलफल चल्छ ? अनि कुनै एकल आन्टीले बिहे गर्दा नि ? हो, यहीअनुसार भविष्यमा छोराछोरीले प्रतिक्रिया जनाउँछन्,’ उनी भन्छिन्, ‘कुनै घरमा पुरुषले दोस्रो बिहे गर्दा ‘वाह’ हुन्छ र महिलाले गर्दा ‘छ्या’ हुन्छ भने घरसँगै समाजले पनि त्यही सिक्छ । हामीले कुमारी (भर्जिन) केटी बिहे गर्नुपर्छ भनेर बालबच्चा हुर्काउँछौँ, अनि उनीहरूले कसरी आमाको बिहे स्वीकार्छन् ?’

डिभोर्स गरेर एक्लै बस्नुपर्ने, एकल भएर पनि बिहे गर्न नहुने समाजले महिलाहरूको निर्णयलाई आत्मसाथ नगर्ने दाहाल बताउँछिन् । ‘बलिउडमा त्यो आँट अभिनेत्री सुस्मिता सेनले गरिन्, नेपालमा रविना देशराजले,’ उनी भन्छिन्, ‘उनीहरू जस्तो सक्षम महिलालाई त कि पैसा कि चरित्र अगाडि ल्याएर कमजोर देखाउन खोजिन्छ भने सामान्य महिलाले यो कल्पनासमेत गर्दैनन् ।’

किनभने, हामीले महिलालाई आमा मात्र नभएर आदर्श आमा बनाइदिएका छौँ । आदर्श आमा बनाउने होडमा उनीहरूको इच्छा मारेका छाँै । रहरहरू सीमित घेराभित्र बन्द गरिदिएका छाँै । ‘हामीमध्ये कसैले पनि आमाहरूको इच्छा के हो, कहिल्यै सोधेका गरेका छौँ ?’ दाहालको प्रश्न छ ।

‘आदर्श आमा बन्ने होडमा धेरैको जागिर छुट्छ, रहर गुम्छ, आम्दानी टुट्छ,’ उनी थप्छिन्, ‘मानिस लिंगको आधारमा होइन इच्छाको आधारमा बाँच्न पाउनुपर्छ । सबै महिलालाई आदर्श आमा बन्नु छैन । महिला आमाभन्दा पहिला आम मानिस हो । उसका पनि आफ्नै रहर हुन्छन् । ’

अधिवक्ता सविता बिमली आमाको बिहेलाई अस्वीकार गर्नुका पछाडि थुप्रै कारण रहेको बताउँछिन् । ‘पहिलो कुरा अभ्यास नै हो,’ उनी भन्छिन्, ‘हामीले बुवाले चौथो बिहे भएको देखेका छौँ । आमाको दोस्रो बिहे भएको सुनेकासमेत छैनौँ । हाम्रो समाजमा त्यो अभ्यास नै छैन । जुन कुराको अभ्यास छैन, त्यो स्वाभाविक रूपले नौलो लाग्छ । पच्न गाह्रो हुन्छ ।’

अधिकारर्की सविता आफैँले भाउजू बितेपछि दाइले बिहे गरेको देखेकी छिन् । तर, दाइ बितेपछि भाउजूले बिहे होइन, बच्चा स्याहारेर बसेको देखेकी छिन् । ‘पुरुषको केसमा ऊ कसरी बाँच्ने भन्ने कुरा स्वयं उसैले तय गर्छ,’ उनी भन्छिन्, ‘किनकि, ऊ शासक हो । ऊसँग शिक्षा, शक्ति, सम्पत्ति छ । त्यसैले, उसको बुढेसकालको बिहेलाई पनि कसैले प्रश्न गर्न सक्दैन । तर, महिलाको केसमा सो निर्णय समाजले गरिदिन्छ ।’

त्यस्तै उनको अर्को पनि तर्क छ– पुरुषले महिलालाई बिहे गर्न चाहन्छ, आमालाई होइन । ‘डिभोर्स भएर वा श्रीमान् बितेर पनि जसको छोराछोरी छैनन्, उनीहरू पुरुषको रोजाइमा पर्छन्,’ उनी भन्छिन्, ‘बच्चासहितकी आमा कसैले पनि बिहे गर्न चाहँदैनन् । बच्चाको पढाइ र लालनपालनमा लगानी गर्दैनन् । अर्काको बच्चालाई आफ्नो ठानेर माया दिने हृदय बिरलै पुरुषहरूमा मात्र हुन्छ ।’ तर, जसको आर्थिक दायित्व पुरुषले बेहोर्नुपरेको छैन, ती महिलाहरूले दोस्रो बिहे गरेको सविताले देखेकी छिन् ।

आमाहरूले बिहे नगर्नुको कारणबारे सविता भन्छिन्, ‘जसको छोरी छ, ती आमाहरू सकेसम्म दोस्रो बिहे गर्न चाहँदैनन् । आफ्नी छोरी दोस्रो पुरुषबाट असुरक्षित हुन्छे भन्ने डर उनीहरूमा हुन्छ ।’ राष्ट्रिय महिला आयोगकी पूर्वआयुक्त तथा राजनीतिकर्मी धनकुमारी सुनार भने यसलाई पितृसत्तात्मक सोचको परिणामका रूपमा व्याख्या गर्छिन् ।

‘हामी सबैको परिवार र समाज पितृसत्तात्मक सोचबाट ग्रस्त छ,’ उनी भन्छिन्, ‘यो सोचले धर्म र संस्कारको प्रवद्र्धन गर्छ । आमालाई दास र बुवालाई ‘देवता’ बनाइदिन्छ । किनभने, आमाले बिहे गरे उनी अपवित्र हुन्छिन्, कुलको इज्जत जान्छ । उनी घरको इज्जत धान्ने, धर्मको मर्यादा राख्ने प्राणी हुन् ।’

उनले हिम्मतिला आमाहरूले गरेका केही बिहे देखेकी छिन् । तर, ती अधिकांश बिहे लुकेर, फूलमाला मात्रै लगाएर गरिएका हुन्छन् । ‘हाम्रो दिमागमा सात वर्षीया गोमाको ७० वर्षे वृद्धसँग बिहे भएको कुरा रोपिएको छ,’ उनी भन्छिन्, ‘७० वर्षकी वृद्धाको बिहे भएको हामीले कतै सुनेका छैनौँ । त्यसैले महिलाले दोस्रो बिहे गरिन् भने पनि पहिला जसरी झ्याइ–झ्याइ होइन, लुकिछिपी बिहे हुन्छ । यसलाई लाजको विषय बनाइन्छ ।’ 

समाजशास्त्री डा. मीना पौडेल समाजमा महिलाको पहिचान उनको यौनिकताको आधारमा हुने तर, पुरुषको पहिचान पुरुषार्थको आधारमा हुने बताउँछिन् । ‘महिला जतिसुकै बुद्धिमानी र सक्षम भए पनि कोसँग हिँड्छे/बोल्छेले उसको व्यक्तित्व निर्धारण हुन्छ,’ उनी भन्छिन्, ‘कोही महिला समाजले तय गरिदिएको विशाक्त सामाजिक मापदण्डभन्दा फरक बाटोमा हिँडे/विद्रोह गरे समाज भाँडेको आरोप लाग्छ ।’ 

कुनै महिलाले पारिवारिक, सामाजिक, व्यावसायिक दायित्व पूरा गरेर बिहे गर्दा पनि प्रश्न गर्नेहरूप्रति उनको विमति छ । ‘यही काम पुरुषले गरेको भए ऊ ‘महापुरुष’ हुन्थ्यो, प्रगतिशील र बहादुर हुन्थ्यो,’ उनी भन्छिन्, ‘तर, महिलाले त्यही निर्णय गर्दा अस्वाभाविक लाग्छ । किनभने, आमालाई आदर्श बनाउँदा उनले आफूभित्रका थुप्रै सम्भावना र रहर मार्नुपरेको छ ।’

रविनाको बिहेको प्रसंगमा समाजशास्त्री पौडेल भन्छिन्, ‘उनले विदेशी पुरुषसँगको प्रेम सार्वजनिक गरेकी छिन् । किनभने, उनको प्रेमीको समाजले उनलाई आमा/हजुरआमा भएकै कारण प्रेम गरेकामा लान्छना लगाउँदैन, प्रश्न गर्दैन ।’

‘उनले नेपाली पुरुषसँग यसकारण बिहे गरिनन् । किनकि, नेपाली समाजमा बिहे गर्नु भनेको बच्चा जन्माउनु हो । स्वतन्त्रतामा अंकुश लाग्नु हो । आफ्नो जीवन आफ्नै तरिकाले बाँच्न नपाउनु हो,’ उनी थप्छिन् ।


Author

सृजना खड्का

सामाजिक विषयमा कलम चलाउने खड्का संवाददाता हुन्।


थप समाचार
x