शर्त उल्लंघन गरे आदेश स्वत: बदर, फेरि थुनामा पठाइने
उच्च अदालतका चार शर्त : सन्दिपले नेपाल छोड्न नपाउने, काठमाडौँ छोड्दा अनुमति लिनुपर्ने
फाइल तस्बिर
काठमाडौँ - नेपाली राष्ट्रिय टिमका पूर्व कप्तान सन्दिप लामिछाने आज शर्तसहित धरौटीमा रिहा हुँदैछन् । नाबालिग बलात्कारको आरोपमा थुनामा रहेका लामिछानेलाई चार शर्तसहित २० लाख रुपैयाँ धरौटीमा रिहा गर्न उच्च अदालत पाटनले बिहीबार आदेश दिएको थियो ।
उच्च अदालतले दिएको आदेशमा राखिएका चार शर्मा मुद्दाको फैसला नहुन्जेल नेपाल बाहिर जान रोक लगाइएको छ । उनको राहदानी रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार गर्न समेत अदालतले आदेश दिएको छ ।
त्यस्तै उनले रिहा भएपश्चात मुद्दाका विषयमा कुनै माध्यमबाट सार्वजनिक रूपमा बोल्न वा लेख्न पाउने छैनन् ।
पीडितलाई डर, धम्की वा प्रलोभन दिन नपाउने आदेशमा उल्लेख छ । जसका लागि उनले पीडित वा पीडितका आफन्तालाई भेट्न पाउने छैनन् ।
यति मात्रै होइन उनले अनुमतिविना काठमाडौँसमेत छाड्न पाउने छैनन् । छोड्नु परेमा जाने ठाउँ, बस्ने अवधि र फर्किने समयावधि तोकेर जिल्ला प्रहरी परिसर काठमाडौँबाट अनुमति लिनुपर्ने छ ।
माथिका कुनै पनि शर्त उल्लंघन गरेको अवस्थामा अदालले दिएको धरौटीमा रिहा हुने आदेश स्वत: बदर हुने छ र उनलाई पुन: थुनामा पठाइने छ ।
यसअघि जिल्ला अदालत काठमाडौंले लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो । जिल्लाको आदेशविरुद्ध उच्च अदालतमा पुनरावदेन भएको थियो । उनी गत भदौ २० गते नाबालिग बलात्कारको आरोपमा पक्राउ परेका थिए ।
लामिछानेले गत भदौ ५ गते राति तिलगंगाको एक होटलमा लगेर जबर्जस्ती करणी गरेको भन्दै नाबालिगका तर्फबाट भदौ २१ मा प्रहरी वृत्त गौशालामा उजुरी परेको थियो।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया