समाज

लकडाउनमा थप कडाई हुने, कोभिड-१९ हेर्न हरेक प्रदेशमा एक मन्त्री

इकागज |
बैशाख १७, २०७८ शुक्रबार १९:४९ बजे

फाइल तस्बिर

काठमाडौँ : कोभिड-१९ को संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले परिस्थिती झनै डरलाग्दो भएको भन्दै लकडाउनलाई थप कडाई गर्ने नीति लिएको छ । शुक्रबार बसेको बैठकले बैंक तथा वित्तीय संस्थाहरू र सरकारी कार्यालयहरू एक चौथाई मात्र कर्मचारी राखेर सञ्चालन गर्ने निर्णय गरेको छ । त्यस्तै निजी क्षेत्रको निर्माण कार्य ठप्प पार्ने र सार्वजनिक स्थलको निर्माण कार्यलाई भने त्यही खानाको व्यवस्था मिलाएर काम गराउने जस्ता निर्णय गरेको छ । 

बैठकले कोभीडको जोखिम थप बढेको निष्कर्ष निकाल्दै बैंक तथा वित्तीय संस्थाहरू र सरकारी कार्यालयहरू एक चौथाई मात्र कर्मचारी राख्न र अन्य निर्माण कार्य ठप्प पार्ने निर्णय लिएको हो । संक्रमण बढ्दो र चुनौतीपूर्ण अवस्था  रहेको बताउँदै उपप्रधानमन्त्री ईश्वर पोखरेलले सामान्य अवस्थाको झैँ नठान्न र आफैँ पनि सचेत रहन सबैलाई आग्रह गरेको उनका प्रेस सल्लाहकार गणेश पाण्डेले बताए । 


बैठकले उद्योगमा काम गर्ने कर्मचारीलाई कार्यस्थलमै खान बस्नको व्यवस्था गर्नुपर्ने र बाहिर हिडडुलमा व्यापक रोक लगाउने जस्ता निर्णय गरेको छ । बैठकले सरकारले यसअघि गरेका निर्णयलाई थप कडाइका साथ कार्यान्वयन गर्ने पनि निर्णय गरेको छ । हरेक प्रदेशमा एक मन्त्रीलाई कोभिड-१९ को व्यवस्थापन नियाल्ने जिम्मेवारी तोक्ने र समन्वय गर्ने पनि निर्णयका लागि मन्त्रीपरिषद्‍लाई सिफारिस गर्ने भएको छ । 

विदेशीले क्वारेन्टिनलाई बेवास्ता गरे फर्काउने र नेपालीले त्यस्तो गरेमा जरिवाना गर्ने जस्ता निर्णय गर्दै लकडाउनलाई थप कडा गर्ने निर्णय बैठकले गरेको छ । अक्सिजनमा हुने कालोबजारीलाई रोक्ने र होटल क्‍वारेन्टिनलाई थप व्यवस्थित गर्ने  विषयमा पनि निर्णय भएको पाण्डेले बताए । यसैगरी पशुपति क्षेत्रको शव दाह गृहलाई स्वास्थ्य सावधानी अपनाएर सञ्चालनमा ल्याउने निर्णय भएको छ । 

बैठकले काठमाडौँ उपत्यकाका सरकारी अस्पताललाई थप व्यवस्थित गर्दै लैजाने र कोभिडको उपचार गर्न स्थान छुट्याएर काम गरिने र त्यसले अपुग भए मा निजी अस्पतालालई पनि कोभिड अस्पतालको रुपमा उपयोग गर्ने निर्णय सीसीएमसीले गरेको छ ।  


Author

थप समाचार
x