Ekagaj Logo
२२ कात्तिक २०८१, बिहीबार
(Thursday, 07 November, 2024)

समाज

चालक अनुमतिपत्र निलम्बन गर्ने व्यवस्था हटाउन यातायात व्यवसायीको माग

इकागज |
पुस ३०, २०७९ शनिबार २०:५४ बजे

काठमाडौं- यातायात व्यवसायीले ५ पटकभन्दा बढी गल्ती गर्ने चालकको लाइसेन्स ६ महिनाका लागि निलम्बन हुने व्यवस्था हटाउन माग गरेका छन् ।

शुक्रबार काठमाडौँमा भएको एक कार्यक्रममा बोल्दै व्यवसायीले चालकको लाइसेन्स ६ महिनाका लागि निलम्बन हुने व्यवस्था कार्यान्वयन नगर्न माग गरेका हुन् । २०७६ सालदेखिको रेकर्ड हेरी ५ पटकभन्दा बढी गल्ती गर्ने चालकको सवारी चालक अनुमतिपत्र निलम्बन गर्ने व्यवस्था यही पुस १ गतेदेखि लागू भएको हो । 


सार्वजनिक यातायात केन्द्रीय महासङ्घका अध्यक्ष डोलनाथ खनालले लाइसेन्स निलम्बनको व्यवस्था अति नै अन्यायपूर्ण र अव्यवहारिक भएको बताए । उनले सार्वजनिक यातायातमा चालक अभाव भइरहेको तथा बस खाली बस्नुपरेको भन्दै ५ पटकभन्दा बढी गल्ती गर्दा हुने कारबाही र ६ महिनाको निलम्बन कुनै पनि हालतमा सही नभएको टिप्पणी गरे । 

उनले सवारी साधन नै होल्ड भएको अवस्थामा भएका चालकलाई समेत कारबाही गरेर निलम्बन गर्ने व्यवस्था कार्यान्वयन नगर्न ट्राफिक प्रहरी कार्यालयसँग अनुरोध गरे । 

महानगर यातायात प्रा.लि. वनस्थली र काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथको संयुक्त आयोजनामा भएको चालक र सहचालकलाई ट्राफिक नियमसम्बन्धी प्रशिक्षण कार्यक्रममा बोल्दै महानगर यातायात प्रा. लि.का वरिष्ठ सल्लाहकार धर्मराज रिमालले गम्भीर कसुरमा उचित कारबाही गर्न सकिने तर गल्ती गनेर लाइसेन्स निलम्बन गर्ने कार्य कुनै पनि हालतमा उपयुक्त नभएको बताए । 

कार्यक्रममा उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले ट्राफिक नियमको पूर्ण पालनाले मात्रै दुर्घटना कम गर्न सकिने भएकाले सडक र यातायातको प्रयोगमा चालक जिम्मेवार बन्नुपर्ने बताए ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी उपरीक्षक अवधेश बिष्ट क्षेत्रीले ट्राफिक प्रहरीको कार्य र जिम्मेवारी जानकारी नभएर सबैभन्दा बढी गाली ट्राफिक प्रहरीलाई गर्ने गरिएको भन्दै उनले मैत्रीपूर्ण व्यवहार नगर्ने र गल्ती गर्ने प्रहरीबारे उजुरी गर्न अनुरोध गरे ।

महानगर यातायात प्रा.लि.ले विज्ञप्ति नै जारी गरेर लाइसेन्स खारेजसम्बन्धी व्यवस्थाको कार्यान्वयन तत्काल स्थगित गर्न माग गरेको छ ।

महानगर यातायात प्रा.लिका अध्यक्ष मधुसुदन अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा ट्राफिक नियम र कसुर सम्बन्धी व्यवस्थाबारे उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाह पथको टोली, अधिवक्ता मनिषकुमार श्रेष्ठ, सिप्रदी ट्रेडिङका तालिम शाखा प्रमुख दिपेश पौडेल, एमएस एण्ड हस्पिटालिटीका प्रमुख सिंहबहादुर मोक्तान लगायतले प्रशिक्षण दिएका थिए । प्रशिक्षणका क्रममा महानगर यातायात प्रा. लि. ले चालक र सहचालकलाई कार्यमूल्यांकन गरी नगदसहित प्रशंसापत्र र सहभागीलाई प्रमाणपत्र प्रदान गरेको थियो ।


Author

थप समाचार
x