नेपालमा विमान दुर्घटनाको ७६ वर्षे इतिहास : ९२२ जनाले ज्यान गुमाए
काठमाडौँ- नेपालमा पछिल्लो ७६ वर्षमा ५२ वटाभन्दा बढी विमान तथा हेलिकप्टर दुर्घटनामा परेका छन् । नेपालमा भएका विमान तथा हेलिकप्टर दुर्घटनामा ९२२ जनाभन्दा बढीको मृत्यु भएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको तथ्याङ्क छ ।
नेपालमा पहिलो पटक सन् १९४६ मे ७ का दिन विमान दुर्घटना भएको थियो । रोयल फोर्स एयरको विमान दुर्घटना हुँदा मानविय क्षति भने भएको थिएन ।
नेपालमा विमान दुर्घटना हुँदा पहिलो पटक मानविय क्षति सन् १९५५ मा भएको थियो । कालिंगा एयरको विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको थियो ।
यस्तै काठमाडौंमा इण्डियन एयरलाइन्सको विमान सन् १९५६ मा दुर्घटना हुँदा १४ जनाले ज्यान गुमाएका थिए । इण्डियन एयरलाइन्सको विमान सन् १९५७ मा पनि नेपालमा दुर्घटनामा परेको थियो । टीकारभैरवमा इण्डियन एयरलाइन्सको विमान दुर्घटना हुँदा २० जनाको ज्यान गएको थियो । यसको एक वर्ष नबित्दै सन् १९५८ मा इण्डियन एयरलाइन्सको अर्को विमान नेपालमा दुर्घटना हुँदा २० जनाको मृत्यु भएको थियो ।
नेपाल एयरलाइनसको विमान सन् १९६० मा दुर्घटनामा परेको थियो । भैरहवामा दुर्घटना हुँदा चार जना यात्रुको मृत्यु भएको थियो । नेपाल एयरलाइन्सको अर्को विमान सन् १९६२ मा ढोरपाटनमा दुर्घटना हुँदा १० जनाले ज्यान गुमाएका थिए । सोही वर्ष नेपाल एयरलाइन्सको अर्को विमान ढोरपाटनमै दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको थियो ।
नेपाल एयरलाइन्सको अर्को विमान सन् १९६९ मा दुर्घटनामा परेको थियो । सो विमान दुर्घटना हुँदा ३५ जनाको मृत्यु भएको थियो । यसको एक वर्षपछि सन् १९७० मा दिल्लीमा नेपाल एयरलाइन्सको विमान दुर्घटना हुँदा एक जनाको ज्यान गएको थियो ।
सन् १९७० मा नै रोयल लाइटको विमान जोमसोममा दुर्घटना भएको थियो । दुर्घटनामा एक जनाको मृत्यु भएको थियो । यसको दुई वर्षपछि रोयल लाइट धुलिखेलमा दुर्घटना भएको थियो । दुर्घटना हुँदा ३१ जनाले ज्यान गुमाएका थिए ।
नेपाल एयरलाइनसको विमान सन् १९७५ मा काठमाडौँमा दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको थियो भने सन् १९७६ मेघौलीमा दुर्घटना हुँदा ६ जनाले ज्यान गुमाएका थिए । सन् १९७९ मा लाङ्टाङमा विमान दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको थियो ।
नेपाल एयरलाइन्सको विमान सन् १९८१ मा विराटनगरमा दुर्घटनामा परेको थियो । सो दुर्घटनामा १० जनाको मृत्यु भएको थियो । नेपाल एयरलाइन्सको विमान सन् १९८४ मा भोजपुरमा दुर्घटना हुँदा १५ जनाले ज्यान गुमाएका थिए । सन् १९८५ मा नेपालमा अर्को विमान दुर्घटना भएको थियो, जसमा परी २५ जनाले ज्यान गुमाएका थिए ।
थाई एयरको विमान सन् १९९२ मा नेपालमा दुर्घटनामा परेको थियो । रसुवामा भएको उक्त दुर्घटनामा ११३ जनाको मृत्यु भएको थियो । पाकिस्तान एयरलाइन्सको विमान सन् १९९२ मा ललितपुरको भट्टेडाँडामा दुर्घटनामा परेको थियो । सो दुर्घटनामा १६७ जनाको मृत्यु भएको थियो ।
एभरेष्ट एयरको विमान सन् १९९२ मा दुर्घटना हुँदा १८ जनाले ज्यान गुमाएका थिए । नेपाल एयरलाइन्सको विमान सन् १९९५ मा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको थियो ।
कर्णाली एयरको विमान सन् १९९७ मा दुर्घटनामा परेको थियो । दुर्घटना हुँदा एक जनाको मृत्यु भएको थियो । लिबानी विमान सन् १९९८ मा नेपालमा दुर्घटनामा परेको थियो । सो दुर्घटनामा १८ जनाको मृत्यु भएको थियो ।
एसियन एयरको विमान सन् १९९८ मा दुर्घटनामा परेको थियो । सोलुखुम्बुमा भएको उक्त दुर्घटनामा तीन जनाले ज्यान गुमाएका थिए । सोही वर्ष नेपाल एयरलाइन्सको विमान सोलुमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको थियो ।
नेकोन एयरको विमाना सन् १९९९ मा जुम्लामा दुर्घटनामा परेको थियो । दुर्घटनामा पाँच जनाले ज्यान गुमाएका थिए । सोही वर्ष मकवानपुरमा स्काइलाइनको विमान दुर्घटना हुँदा १० जनाको मृत्यु भएको थियो ।
नेपाल एयरलाइन्सको विमान सन् २००० मा डडेल्धुरामा दुर्घटना भएको थियो । सो दुर्घटनामा २५ जनाले ज्यान गुमाएका थिए । फिस्टेल एयरको हेलिकप्टर सन् २००१ मा रारा तालमा खस्दा चार जनाको मृत्यु भएको थियो ।
यस्तै, स्काइलाइनको विमान सन् २००२ मा सुर्खेतमा दुर्घटना भएको थियो । दुर्घटनामा चार जनाको मृत्यु भएको थियो । सांग्रीला एयरको विमान सन् २००२ मा दुर्घटना भएको थियो । कास्कीमा भएको उक्त दुर्घटनामा १८ जनाको ज्यान गएको थियो ।
यती एयरलाइन्सको विमान सन् २००४ मा लम्जुङमा दुर्घटना भएको थियो । सो घटनामा ३ जनाले ज्यान गुमाएका थिए । एयर डाइनेस्टिको विमान सन् २००५ मा दुर्घटनामा परेको थियो । दुर्घटनामा तीन जनाको मृत्यु भएको थियो ।
यती एयरलाइन्सको विमान सन् २००६ मा दुर्घटना भएको थियो । जुम्लामा भएको उक्त दुर्घटनामा ९ जनाले ज्यान गुमाएका थिए । सोही वर्ष यती एयरलाइन्को अर्को विमान लुक्लामा दुर्घटनामा परेको थियो । सो दुर्घटनामा १९ जनाको ज्यान गएको थियो ।
अग्नी एयरको विमान सन् २०१० मा दुर्घटना भएको थियो । मकवानपुरमा भएको दुर्घटनामा १४ जनाको मृत्यु भएको थियो ।
तारा एयरको विमान सन् २०११ मा ओखलढुंगामा दुर्घटनामा परेको थियो । उक्त दुर्घटनामा परी २२ जनाले ज्यान गुमाएका थिए । सोही वर्ष बुद्ध एयरको विमान ललितपुरमा दुर्घटना भएको थियो । दुर्घटनामा १९ जनाको मृत्यु भएको थियो ।
अग्नी एयरको विमान सन् २०१२ मा जोमसोममा दुर्घटनामा परेको थियो । दुर्घटनामा १५ जनाको ज्यान गएको थियो । सोही वर्ष सीता एयरको विमान काठमाडौंमा दुर्घटना हुँदा १९ जनाले ज्यान गुमाएका थिए ।
नेपाल एयरलाइन्सको विमान सन् २०१४ मा अर्घाखाँचीमा दुर्घटनामा परेको थियो । दुर्घटनामा १८ जनाको मृत्यु भएको थियो । सन् २०१५ अमेरिकी सेनाको हेलिकप्टर दुर्घटनामा परेको थियो । भूकम्पपछिको राहत तथा उद्धार कार्यमा खटिँदा हेलिकप्टर दुर्घटना भएको थियो । सो दुर्घटनामा १३ जनाको मृत्यु भएको थियो ।
सन् २०१५ मा नेपालमा अर्को हेलिकप्टर दुर्घटना भएको थियो । उक्त दुर्घटनामा चार जनाले ज्यान गुमाएका थिए । तारा एयरको विमान सन् २०१६ मा दुर्घटना हुँदा २३ जनाको मृत्यु भएको थियो ।
युएस–बाङ्ग्ला एयरलाइन्सको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सन् २०१८ मा दुर्घटना हुँदा ५१ जनाको ज्यान गएको थियो । सोही वर्ष अल्टिच्युड एयरको हेलिकप्टर नुवाकोटमा दुर्घटना भएको थियो । हेलिकप्टर दुर्घटनामा ६ जनाको मृत्यु भएको थियो । सन् २०१८ मा नै मकालु एयरको विमान सिमिकोटमा दुर्घटना भएको थियो । दुर्घटनामा परी दुई जनाले ज्यान गुमाएका थिए ।
एयर डाइनेस्टीको हेलिकप्टर सन् २०१९ मा ताप्लेजुङको सिस्नेभीरमा दुर्घटनामा परेको थियो । दुर्घटनामा ७ जनाको मृत्यु भएको थियो । सोही वर्ष समिट एयरको विमान लुक्ला विमानस्थलमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको थियो ।
पोखरामा आइतबार भएको यति एयरलाइन्सको विमान दुर्घटना नेपालको आन्तरिक उडानमा हालसम्मकै ठूलो भएको पाइएको छ । ७२ यात्रु सवार विमान दुर्घटना आन्तरिक उडानमा सबैभन्दा ठूलो रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए ।
२०७९ जेठ १६ गते पोखराबाट जोमसोम जाँदै गरेको तारा एयरको ट्विनअटर ‘नाइन एनएइटी’ विमान मुस्ताङको थसाङ-२ मा दुर्घटना भयो । विमानमा चालक दलका तीन सदस्यसहित २२ जना यात्रु रहेका थिए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया