कांग्रेस प्रवक्ता महत गोरु जुधाइ हेर्न हेलिकोप्टर चढेर तारुका पुगेपछि...
गाउँपालिका अध्यक्ष अधिकारी भन्छन्- हेलिकोप्टर चढ्नु सामान्य कुरा हो
काठमाडौं - माघे संक्रान्तिको अवसरमा नुवाकोटको विभिन्न स्थानहरूमा गोरु जुधाइ मेला हुँदै आएको छ । नुवाकोटको तारुकालगायत विभिन्न स्थानमा यसपालि पनि आइतबार गोरु जुधाइएको थियो । आइतबार नुवाकोटको तारुका (तारकेश्वर गाउँपालिका), बेत्रावती (विदुर नगरपालिका), पञ्चकन्या, लिखु, तादी गाउँपालिकालगायतका स्थानमा गोरु जुधाइएको थियो ।
सोही कार्यक्रममा प्रमुख अथिति थिए नेपाली कांग्रेसका प्रवक्ता तथा सांसद प्रकाशशरण महत । उनी हेलिकोप्टर चढेर नुवाकोटको तारुका पुगेका थिए । तारकेश्वर गाउँपालिकास्थित तारुकामा आइतबार गोरु जुधाएको हेर्न कांग्रेस प्रवक्ता महत काठमाडौँबाट हेलिकोप्टर चढेर पुगेका थिए । महतसहित गाउँपालिका अध्यक्ष शिव अधिकारी काठमाडौंबाट हेलिकप्टरमा तारूका पुगेका थिए । काठमाडौंबाट नुवाकोटको तारकेश्वर गाउँपालिका जान गाडीमा करिब साढे दुई घण्टा समय लाग्छ ।
हेलिकोप्टर चढेर कांग्रेस नेता महत गोरु जुधाइ हेर्न पुगेपछि उनको आलोचना समेत भइरहेको छ । सामाजिक सन्जालमा एकथरीले गाउँपालिकाले छुट्याएको बजेट खर्च गर्दै महत हेलिकोप्टर चढेर तारुका पुगेको भन्दै आलोचना गरिरहेका छन् । तारकेश्वर गाउँपालिकाले गोरु जुधाइ कार्यक्रमका लागि आठ लाख बजेट छुट्याएको थियो ।
गाउँपालिका उपाध्यक्ष हरिप्रसाद रिमालसहित नेकपा माओवादी केन्द्रबाट निर्वाचित वडाध्यक्षले गोरु जुधाइ मेला बहिस्कार गरेका थिए । गाउँपालिका रिमाल र वडा नम्बर २ का अध्यक्ष शिव पनेरु मेलामा सहभागी भएनन् । गोरु जुधाइ मेला कांग्रेसले एकलौटी समिति बनाएको भन्दै मेला बहिस्कार गरेका थिए ।
उपाध्यक्ष रिमालले केही विषयमा आफूहरूको असहमति रहेको स्वीकारे । तर, मेलामा भने व्यतिगत समस्याले नगएको उनले दाबी गरे । 'मेला आयोजक समिति बनाउँदा एकलौटी बनाइयो भन्ने छ । सबैलाई समेटिएन,' उनले भने, 'हाम्रा केही असहमति रहे । केही मिलेको छैन । म गइनँ । त्यो मेरो आफ्नै समस्याले हो ।'
हेलिकोप्टर सयरको खर्चबारे भने आफूलाई कुनै जानकारी नभएको उनले बताए । गाउँपालिकाले भने गोरु जुधाइ कार्यक्रमका लागि आठ लाख छुट्याएको उनको भनाइ छ ।
यता गाउँपालिका अध्यक्ष शिव अधिकारीले भने हेलिकोप्टर सयरमा गाउँपालिकाको बजेट खर्च नभएको प्रष्टोक्ति दिए । उनले मानिसहरूले नबुझेर टिका-टिप्पणी गरिरहेको बताए । गोरु जुधाइ मेलामा प्रमुख अतिथि हेलिकोप्टर चढेर आएको यो पहिलो पटक पनि नभएको उनको भनाइ छ । 'म पर्यटन व्यवसायी पनि हो । १० वर्षदेखि चढिरहेको छु ।गाउँपालिकाले एक/डेढ लाख दिएर हेलिकोप्टर चढ्नुपर्ने मान्छे म होइन,' उनले भने, 'म सजिलै सजिलै चढ्छु । धेरैजसो हेलिकोप्टर कम्पनीहरू मेरै साथीहरूका छन् । यो गाउँपालिकाको खर्चमा चढिएको होइन ।'
मेला व्यवस्थापनका लागि गाउँपालिकाले आठ लाख रकम दिएको उनले बताए । तर त्यो रकम गोरु पालक किसान र व्यवस्थापनमा मात्रै खर्च भएको उनको दाबी छ ।
केही व्यक्तिले आयोजक कमिटी निर्माणमा अनावश्यक असन्तुष्टि जनाएको उनको भनाइ छ । आफूले किसानहरूलाई मात्रै समेटेर समिति बनाउँदा केहीले असहमति जनाएको उनको भनाइ छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया