रात छिप्पिँदै गएपछि ठमेलमा ग्राहक भन्दा ट्राफिक प्रहरीको संख्या किन बढ्दैछ?
काठमाडौँ - सरोज श्रेष्ठ आइतबार साँझ ठमेल पुगे । लगातार तीन दिन सार्वजनिक बिदा भएकाले कपनबाट उनी रात्रीकालीन माहोल हेर्न ठमेल पुगेका थिए ।
ठमेल प्रवेश गरेदेखि मानिस र साना सवारीसाधनको ओहोरदोहोरले उनलाई थप उत्साहित बनायो । तर उनको उत्साह धेरैबर टिकेन ।
ठमेलको मुख्य-मुख्य चोक र बाटोमा ट्राफिक प्रहरीको मापसे चेकिङ थियो । प्रहरीले बाटामा लाइसेन्स र ब्लु बुक चेक गरिरहेका देखिन्थे । सात घुम्ती पुगेपछि उनी चढेको मोटरसाइकललाई ट्राफिक रोके ।
ट्राफिकले उनलाई मापसे परीक्षण गरे । परीक्षणमा उनको मापसे शून्य देखियो । तर, उनी ट्राफिकको केरकारमा उनी परे । उनले भने, ’मापसे नगरे पनि मलाई प्रहरीले अनावश्य झमेलामा पारिरहे । किन ठमेल आएको ? राति-राति किन घुमिरहेको ?’
घुम्न गएको मानिसलाई रोकेर ट्राफिकले दादागिरी देखाएको सरोजको गुनासो थियो । ‘चेकिङ गर्नुपरे पनि राम्रोसँग बोलेर पनि सोधपुछ गर्न सकिन्थ्यो,’ उनी भन्छन्,’ मापसे गरेर सवारी चलाएको भए पनि चेकिङ गर्दा चित्त बुझाउन ठाउँ हुन्थ्यो । समय पनि गयो । प्रहरीको अभद्र व्यवहार पनि सहनु पर्यो ।‘
ट्राफिक प्रहरीको कारण ठमेल घुम्न आउनलाई सोच्नुपर्ने अवस्था आएको सरोजले सुनाए । मनोरञ्जन गर्न आउने तर बाटामा प्रहरीको चेकिङले गर्दा असहज हुन थालेको उनले धारणा व्यक्त गरे ।
पछिल्लो समय पर्यटकीय क्षेत्र ठमेलमा साँझ पर्नसाथ बाटा-बाटामा ट्राफिक प्रहरीको चेकिङ देखिन्छ । मध्यरातसम्म गल्ली-गल्लीमा लाइट लिएर चेकिङमा बसेका हुन्छन् । पछिल्लो केही दिन यता रात छिप्पिँदै गएपछि ठमेलमा ग्राहक भन्दा ट्राफिक प्रहरीको संख्या बढ्न थालेका छन् । बाटामा रंगीचंगी लुगाएका भन्दा हरियो सर्ट र टाउकोमा सेतो टोपी लगाएका ट्राफिक देखिन थालेका छन् ।
अधिकांश मानिस ठमेल जाने भनेकै मनोरञ्जन गर्नका लागि हो । जहाँ बार, पब, लाउञ्ज र क्लब छन् । जसमा बिक्री हुने भनेकै मदिरा हो । बाटाभरी ट्राफिक प्रहरी देख्दा ग्राहक तथा व्यवसायीहरूले असहज हुन थालेको बताउँछन् ।
प्रहरी र व्यवसायी दुवै पक्ष मिलेर समस्याको समाधान खोज्नुपर्ने व्यवासीहरूले बताउन थालेका छन् । ठमेलको मुख्य द्वार र बाहिरी सडकमा चेक गरिनुपर्ने उनीहरूको माग छ । चोकको भित्री-भित्री बाटामा चेक गर्दा समस्या भइरहेको उनीहरूको भनाइ छ ।
ठमेलका भित्री बाटा-बाटामा ट्राफिक चेकिङको कारण ग्राहक र व्यापारीलाई समस्या परेको एक रेष्टुरेण्ट सञ्चालकले गुनासो गरे । मापसेका कारण ग्राहकको संख्या घट्दा व्यापारमा असर पर्ने उनको भनाइ छ ।
‘रेष्टुरेण्टबाट जाने ग्राहकहरू मापसे चेकिङमा परिन्छ होला भन्दै गुनासो गर्छन्,’ उनी भन्छन्,’ ट्राफिक चेकिङ बढ्दै गएकाले ग्राहकको संख्या घट्दै गएको छ । रेष्टुरेण्ट अगाडि चेकिङ छ । होटल अगाडि खाएर निस्कन्छन् । ग्राहकहरू अगाडि मापसेमा परिहाल्छन् । हामीलाई बाटोमा जाँदा पनि विभिन्न बहाना गराएर रोकिन्छ ।‘
ठमेलभित्र चेक नगरेर मुख्य सडकमा मापसे चेकिङ गरेमा आपत्ति नहुने उनको भनाइ छ । ठमेलमा अधिकांश मानिस खाएर र रमाइलो गर्न आउँछन । प्रहरीको चेकिङले ग्राहक घट्ने र व्यापारीलाई प्रत्यक्ष असर गरेको उनको भनाइ छ ।
ठमेल पर्यटन परिषद्का अध्यक्ष भवि शर्माले ठमेलका घरधनीहरूले मेट्रो प्रहरीमा शान्ति सुरक्षामा असर परेको भन्दै डेलिगेसन गएकाले सुरक्षाकर्मीको संख्या बढेको बताए । एकाएक सुरक्षाकर्मी बढेको विषयमा जानकारी नभएको उनको भनाइ छ । ‘ठमेल पर्यटकीय क्षेत्र भएकाले विभिन्न थरीका मानिसको बसोबास छ ,’ उनी भन्छन्,’ व्यवसायी र घरधनी एकै ठाउँमा बसेकाले फरक दृष्टिकोण आउनुमा स्वभाविक हो ।‘
ठमेलमा रमाइलो गर्न आउनेहरूलाई बाटोमा रोक्यो भन्ने गुनासो पनि आइरहेको शर्माको भनाइ छ । ठमेलमा ट्राफिक महाशाखाबाट प्रहरी चेकिङका लागि आएको शर्माले जानकारी दिए । ‘जनप्रतिनिधि तथा घरधनीको संयुक्त डेलिगेसनले ठमेललाई ‘रेडलाइट’ र बस्न नसक्ने भन्दै प्रहरीको विभिन्न महाशाखामा गएर सुरक्षाकर्मीको संख्या बढाइएको छ,’ उनले अगाडि थपे,’ रात्रिकालीन व्यवसायलाई लक्षित गरी ५० जना नेपाल प्रहरी र २४ जना ट्राफिक प्रहरीको संख्या बढाइएको छ । यसले रात्रीकालीन व्यवसायलाई असर गरेको छ ।‘
सबै पक्ष मिलेर समस्याको समाधान गर्नुपर्ने उनको भनाइ छ । ‘व्यवसायलाई असर नगर्ने गरी काम गर्नुपर्छ,’ उनले सुनाए,’ घरधनी, व्यवसायी, सुरक्षाकर्मी र पर्यटन परिषद्सहितले सहजताको समाधान खोज्नुपर्छ ।‘
'ठमेलमा सुरक्षाकर्मीको संख्या बढाएकोमा व्यवसायीले गर्व गर्नुपर्छ'
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता राजेन्द्रप्रसाद भट्ट ठमेलका व्यापारीले ग्राहकलाई मापसे गराएर घर पठाउन नहुने बताउँछन् । ठमेलमा सुरक्षाकर्मीको संख्या बढाएकाले व्यवसायीले गर्व गर्नुपर्ने उनले बताए । ‘आफ्ना ग्राहकलाई सुरक्षितसाथ घरमा पुर्याउने व्यवसायीको पनि जिम्मेवारी हो,’ उनले भने,’ ट्राफिक प्रहरीले कहिले पनि चालकलाई कुटपिट गर्दैन । कसैले अभद्र व्यवहार गर्दैन । गरेको पाइए यहाँ उजुरी गर्नुपर्छ । हाम्रो काम भनेको सवारीचालकको कागजपत्र तथा मापसे चेक गर्ने हो ।‘
स्थानीयबासी र जनप्रतिनिधिसहित उपत्यका प्रहरी कार्यालयमा ठूलो आवाजमा मोटरसाइकल चल्ने र अवाञ्छित गतिविधि गर्ने भन्दै डेलिगेसन आएकाले प्रहरीले त्यसलाई गम्भीरता लिएर सुरक्षाकर्मीको संख्या बढाएको भट्टले बताए । ‘छाडा गतिविधि बढेको र घरका गेटमा जहाँसुकै पिसाब गर्नेहरू बढेको स्थानीय गुनासो गर्न आएका थिए,’ उनको भनाइ छ ।
तीन वडाका अध्यक्षसहितको टोली महाशाखामा गुनासो गर्न आएको भट्टले जानकारी दिए । ‘ सवारी चालकले मापसे गरेको छन्/छैनन् त्यसको चेकिङ गर्ने हो,’ ट्राफिक महाशाखाका प्रवक्ता भट्टले भने ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया