समाज

चौकीदार अभिषेक गिरीले मोरङ कारागारभित्रै गराए प्रदर्शन, सरुवा अन्याेल

इकागज |
माघ ३, २०७९ मंगलबार १९:४ बजे

विराटनगर- राजनीतिक संरक्षणको आडमा मोरङ कारागारमा सरुवा गरेर ल्याइएका चौकीदार अभिषेक गिरीले आफूलाई सरुवा गर्ने कारागार व्यवस्थापन विभागको निर्णयको विरोधमा कारागारभित्रै प्लेकार्ड बोकेर प्रदर्शन गराएका छन् । मोरङ कारागारबाट हेटौंडा कारागार सरुवा गरिएका गिरीले आफू समर्थक कैदीबन्दीको समूहलाई उक्साएर प्रदर्शन गराएका हुन् ।

जेलभित्रै बसेर गुण्डागर्दी र रकम असुलीको आरोप लाग्ने गरेका गिरीलाई कारागार व्यवस्थापन विभागले ०७९ पुस २९ मा जिल्ला कारागार हेटौंडा सरुवा गरेको व्यहोराको पत्र मोरङ कारागारलाई पठाएको थियो । विभागको निर्देशन बमोजिम मोरङ कारागार प्रशासनले मंगलबार गिरीलाई हेटौंडा पठाउने तयारी गरेपछि उनी आफ्नो समूहसहित कारागारभित्रै धर्नामा बसेका हुन् ।


उनले मोरङ कारागारमा राजनीतिक हस्तक्षेप बन्द गर्नुपर्ने र तत्काल आफ्नो सरुवा रोक्नुपर्ने माग गरेका छन् । गिरीको समूहले ‘मोरङ कारागारमा ठूल्दाइ अभिषेक गिरीको विकल्प छैन, ठूल्दाइको सरुवा तत्काल रोक’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेर मंगलबार दिनभर प्रदर्शन गरेका हुन् ।

हेटौंडा पठाउने तयारी चलिरहँदा गिरीले प्रदर्शन गरेपछि मोरङ कारागारमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको थप सुरक्षा टोली परिचालन गरिएको छ । निमित्त जेलर तुलसीराम भगतले चौकीदार गिरीको सरुवाको विषयमा विभागबाट पत्र आएपछि मोरङका प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा निकायमा जानकारी गराइसकेको बताए । सरुवाको सबै प्रशासनिक काम समेत कारागारका तर्फबाट सकिएकाले सुरक्षा व्यवस्थासहित उनलाई हेटौंडा पठाउने बताए । तर, पठाउने काम भने स्थानीय प्रशासनको भएको उनले बताए ।

‘सबै प्रशासनिक काम गरिसकेका छौं । लाने काम सुरक्षा निकायको हो, अहिलेको प्रश्न कसरी लैजाने भन्नेमात्रै हो,’ उनले भने, ‘चौकीदार गिरीले आफ्नो सरुवा कार्यान्वयन नहोस् भनेर मौन रूपमा विरोध जनाउनु भएको हो, कारागारभित्र अशान्त रूपमा कुनै पनि गतिविधि भएको छैन ।’

गिरी विगतमा गुण्डागर्दी र रकम असुलीमा संलग्न रहने छवि बनाएका व्यक्ति हुन् । उनलाई कारागार भित्रबाटै विराटनगरका व्यापारीहरूलाई धम्की दिएर रकम असुली गर्ने गरेको विगतदेखि नै आरोप लाग्दै आएको छ । गिरीले गत स्थानीय र प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको समयमा पनि कारागारबाट बाहिर निस्किएर सर्वसाधारणलाई धाकधम्की दिएको भन्दै स्थानीय प्रशासनसम्मै गुनासो पुगेको थियो ।

नेपाल तरुण दल मोरङका पूर्वसदस्य समेत रहेका गिरीले यसअघि गृहमन्त्री बालकृष्ण खाणको आदेशमा चौकीदारका रूपमा २०७८ कात्तिक १६ गते मोरङ कारागार सरुवा आएको स्रोतले जनाएको छ । उनी आएपछि मोरङ कारागार नै करिब एक महिनासम्म अशान्त बनेको थियो । कैदीबन्दीबीच झडप हुँदा ६ जना घाइते भएका थिए । तत्कालीन चौकीदार किरण गुरुङ र गिरी निकट अर्का नाइके कार्तिक कामतको समूहबीच भएको झडपमा कैदीबन्दीहरू घाइते भएका थिए ।

कात्तिक १६ मा मोरङ कारागारमा गिरीलाई ल्याइएपछि त्यसको विरोधमा अर्को समूहका कैदीबन्दीले आन्दोलन गरेका थिए । आन्दोलन रोक्न गिरीलाई सोही दिन सप्तरी कारागार लगिएको थियो । तर, गिरीले सप्तरी कारागारबाटै कामतलाई प्रयोग गरेर गुरुङको समूहमाथि आक्रमण गराएको त्यतिबेला छुटेका एक कैदीले बताएका थिए ।

काठमाडौंमा एक सरकारी अधिकृतलाई बन्धक बनाएर फिरौती असुल गरेको आरोपमा गिरी र विराटनगरका यादवको हत्यामा संलग्नता स्वीकार गरेका तत्कालीन चौकीदार नविन राई जेल चलान भएका थिए । तत्कालीन जिविस मोरङले खोलेको एउटा टेण्डर भर्ने क्रममा दुई समूहबीच झडप हुँदा विराटनगरकै युवककै करण यादवको ज्यान गएको थियो । उक्त घटनामा एउटा समूहको नेतृत्व गिरीले नै गरेका थिए ।

गिरीकै योजनामा यादवको हत्या भएको भन्दै उनीविरुद्ध जाहेरी परेको थियो । घटनामा गिरीले आफ्नोतर्फबाट राईलाई २० लाख रुपैयाँ दिने आश्वासनमा संलग्नता स्वीकार गर्न लगाएका थिए । सोही अनुसार राईले यादवको हत्यामा संलग्नता स्वीकार गरेपछि जेल परेका थिए । तर, हत्या स्वीकार गरेवापत गिरीले सर्तअनुसार राईलाई रकम नदिएपछि उनीहरूबीचको सम्बन्ध बिग्रिएको स्रोतले जनाएको छ । 

मोरङ कारागारमा गिरीलाई ल्याउन तत्कालीन चौकीदार नविन राईलाई सुनसरीको झुम्का कारागार सरुवा गरिएको थियो भने राईकै सिफारिसमा किरण गुरुङ चौकीदार बनेका थिए । राई र गुरुङ गिरीको विरोधमा रहेका कारण तत्कालीन अवस्थामा उनीहरू दुवैलाई सरुवा गरेर गिरीलाई पुनः मोरङ कारागार ल्याउने वातावरण तत्कालीन गृह प्रशासनले नै गरेको एक पूर्व चौकीदारले बताएका थिए ।

गिरीको २०८० साउन १७ मा कैद भुक्तान हुने जनाइएको छ । तर, चौकीदार भएर काम गरेका कारण उनको भुक्तान गर्नुपर्ने कैदको समय घटेकाले आगामी फागुन ३/४ गतेतिर छुट्ने तयारीमा रहेका छन् ।

कैद भुक्तान गरेर जेलबाट छुट्न लागेको बेलामा आफूलाई राजनीतिक आग्रहका साथ सरुवा गर्न खोजिएको गुनासो उनले कारागार प्रशासनसँग गरेका छन् । उनले आफूले चौकीदारका रूपमा पाउने सेवा सुविधा पनि भुक्तानी प्राप्त नभएको भन्दै कारागार प्रशासनमा निवेदन दिएको निमित्त जेलर भगतले बताए । ‘पाउने सेवा सुविधा लगायतका विषयमा चौकीदारबाट निवेदन आएको छ, चौकीदारका रूपमा खाएको कुरा त वहाँले पाइहाल्नु हुन्छ,’ भगतले भने ।

उनलाई विराटनगर ल्याउन नहुने भन्दै यहाँका उद्योगी व्यवसायीले समेत तत्कालीन गृहमन्त्री खाणलाई आग्रह गरेका थिए । यसअघि पनि मोरङ कारागारमा गिरी नै चौकीदार थिए । विराटनगरका व्यापारीहरूबाट जेलभित्रै रहेर असुली धन्दा चलाएको गुनासो बढेपछि उनलाई डिल्लीबजार कारागार सरुवा गरिएको थियो ।

मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले चौकीदार सरुवा जहिले पनि विषय बन्ने गरेको भन्दै उनलाई मोरङबाट पठाउनका लागि योजना बनाइरहेको पनि प्रजिअ दाहालले बताए । ‘कार्यालयले सबै कुराको योजना बनाइराख्या छ, सबै विषयमा कुराकानी भइरहेको छ’ प्रजिअ दाहालले भने, ‘कैद भुक्तान हुन एक महिना मात्रै बाँकी छ भन्दै उनले केन्द्रीय कारागारमा जानका लागि माग गरेका छन् । स्वास्थ्यकf कारण पनि देखाएको भनिएको छ ।’

गिरीले मंगलबार कारागार पुगेका सुरक्षा निकायका प्रमुखहरूसँग आफू हेटौंडाको साटो केन्द्रीय कारागार काठमाडौं पठाउन माग गरेका थिए । जसका कारण उनको सरुवाको प्रक्रिया नै अन्योलमा परेको छ ।


Author

थप समाचार
x