समाज

झा दम्पती हत्या प्रकरण : दुई वर्षपछि थप एक पक्राउ

सुभाष कर्ण |
माघ ७, २०७९ शनिबार १७:३५ बजे

जनकपुरधाम- गत दुई वर्षअघि महोत्तरीका झा दम्पतीको हत्या आरोपमा थप एक जना पक्राउ परेका छन् ।

२०७७ साल फागुन १० गते राति महोत्तरीको पिपरा गाउँपालिका वडा नं. ५ सहोडवाका ६५ वर्षीय मुसाफिर झा र उनकी श्रीमती ६० वर्षीया गीतादेवी देवीको हत्या भएको थियो । छुट्टाछुट्टै ओछ्यानबाट ओछ्यानसहित बेपत्ता पारिएका झा दम्पती एक महिनापछि चैत १२ गते पिपरा २ अतरार जाने बाटोमा सडेगलेको अवस्थामा शव फेला परेको थियो ।


झा दम्पतीका छोरा मनिष झाले दिएको उजुरीका आधारमा हत्यामा संलग्न रहेको आरोपमा यसअघि ७ जना पक्राउ परेका थिए भने पछिल्लो पटक पिपरा गाउँपालिका ५ बस्ने ७२ वर्षीय तेज नारायण झा नेपाल-भारत सीमाबाट पक्राउ परेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

झा घटनापश्चात फरार भएर भारतको गोवाटी शहरमा पुजारीको काम गर्दै आएका झा बेला-बेलामा काँकडभिट्टा नाका हुँदै आउजाउ गरिरहेको सूचनाका आधारमा केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंज काठमाडौँको सहयोगमा उनलाई पक्राउ गरिएको हो ।

सीआईबीको सहयोगमा जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट खटेको टोलीले झापाको मेचीनगर नगरपालिका ६ स्थित नेपाल-भारत सिमानाबाट पक्राउ गरिएको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक सन्तोषकुमार पोखरेलले जानकारी दिएका छन् । पक्राउ परेका झाले हत्यामा मतियारको भूमिका निर्वाह गरेको प्रहरी अनुसन्धानबाट खुलेको उनले बताए ।

जग्गा विवादमा आरोपितहरूले झा दम्पतीको हत्या भएको अनुसन्धानमा खुलेको प्रहरीको भनाइ छ ।

झा दम्पतीकाे हत्या आरोपमा रामबाबु यादव, सुरेन्द्र यादव, राजेन्द्र भन्ने रजिन्द्र यादव र हरेन्द्र ठाकुर, तेज नारायण झा, तारा देवी झा, विकास भन्ने बब्लुकुमार झालाई पक्राउ गरेको थियो । ती पक्राउ मध्ये जिल्ला अदालतको आदेशले ३ जना कारागारमा रहेका छन् भने चार जना धरौटी दिएर रिहा भइसकेका छन् ।


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x