हेटौंडामा फेरि चक्कु प्रहार
सांकेतिक तस्बिर
मकवानपुर- मकवानपुरको हेटौंडामा फेरि चक्कु प्रहार भएको छ । एक किशोरलाई चक्कु प्रहार गरेको आरोपमा दुई जनालाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले पक्राउ गरेको छ ।
हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१७ राजदेवीमा मादक पदार्थ सेवन गरी चक्कु प्रहार गर्ने दुई युवालाई प्रहरीले पक्राउ गरेको हो ।
हेटौंडामा पछिल्ला महिनामा सामान्य भनाभनका घटनामा पनि शरीरमा गहिरो चोट लाग्ने गरी चक्कु प्रहार गर्ने गरिएको पाइएको छ । आज दिउँसो मादक पदार्थ सेवन गरेका युवाहरूले साइकलमा कवाडीको काम गर्ने भारत मोतिहारी घर भई हेटौंडा–४ कमलडाडा बस्ने अन्दाजी १८ वर्षीय जोधाकुमार सहनिलाई चक्कु प्रहार गरेका थिए ।
लुट्ने प्रयास स्वरूप सहनिलाई मादक पदार्थ सेवन गरेका हटिया बस्ने अन्दाजी ३२ को सन्तोष राई र हेटौंडा ९ लामसुरे बस्ने अन्दाजी १९ वर्षीय शुशिल मोक्तानले चक्कु प्रहार गरेको मकवानपुर प्रहरी प्रवक्ता डिएसपी टेकबहादुर कार्कीले बताएका छन् ।
चक्कु प्रहार गरी फरार रहेका दुवै जनालाई वडा प्रहरी प्रमुख प्रहरी निरीक्षक केशरकुमार न्यौपाने नेतृत्वकाे टोलीले हेटौंडा १७ सिसौघारीबाट चक्कुसहित पक्राउ गरेको जनाइएको छ ।
चक्कु प्रहारबाट घाइते सहनिको हेटौंडा अस्पतालमा उपचार भइरहेको र अवस्था खतरामुक्त रहेको जनाइएको छ । पक्राउ परेका दुवै जनालाई जिप्रका मकवानपुरमा राखिएको र आवश्यक अनुसन्धान कार्य भइरहेको जनाइएको छ ।
यसअघि हेटौंडाको मानसचोक र बसपार्क क्षेत्रमा चक्कु प्रहार गरिएको थियो । यस्तै दुई महिनाअघि एक युवतीलाई युवकले चक्कु प्रहार गरी गम्भीर घाइते बनाएका थिए । युवतीलाई चक्कु हान्नेलाई अदालतले सफाइ दिइसकेको छ भने अन्य दुई घटनाको अनुसन्धान जारी छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया