आँखाकाे ज्याेति फर्केपछि...
मकवानपुर । आँखामा लगाइएको पट्टी खोल्नासाथ उनी भक्कानिए । कारण उनले उज्यालो देखेका थिए । दुई वर्षदेखि दिन र रात छुट्याउन नसक्ने भएका उनी यसकारण भक्कानिए कि अब आँखा देख्न सक्ने भन्ने विश्वास ।
मकवानपुरको बकैया गाउँपालिका–५ का ४५ वर्षीय माने माझीले मोतियाविन्दुको कारण आँखाको ज्योति गुमाएका थिए । अहिले शल्यक्रिया गरेपछि उनको आँखाको ज्योति फेरि फर्केपछि खुशीले उनी भक्कानिएका हुन् ।
‘यो जन्ममा मेरो संसार अन्धकार नै होला भन्ने सोच्या’थें, अहिले म त फेरि जन्मे जस्तो भएको छ,’ उनी भन्छन्, ‘आँखाको शल्यक्रियापछि ‘पट्टी खोल्दा झिलिक्क उज्यालो देखें, म त कता कता खुसीले भक्कानिएछु ।’ उनको एउटा आँखा दुई वर्षअघि शल्यक्रिया गरिएको थियो, फेरि अर्कोको ज्योति गुम्यो, उपचार गर्ने आर्थिक अवस्था कमजोर भएकाले पनि अब यसै जीवन बित्छ भन्ने लागेको उनले सुनाए ।
५७ वर्षीया सुन्तली खड्काले पनि १६ महिनापछि आँखा खुलेपछि संसार हेर्न पाइन् । ‘अरूले उपचार लाग्छ, भन्थे कहाँ जाने कस्ले गर्ने उपचार भन्ने थियो आखिर पालो आउँदो रहेछ,’ उनले भनिन् ‘अब भीरपाखाबाट आँखै नदेखेर लडिएला भन्ने पिर हट्यो ।’
आँखाको गुमेको ज्योति फर्काएर खुसी भर्दै आएको छ हेटौंडास्थित हेटौंडा सामूहिक आँखा अस्पतालले । अस्पतालले विभिन्न विकट भौगोलिक स्थानमा आँखा शिविर गरेर रोग पहिचानपछी निशुल्क शल्यक्रिया सेवा प्रदान गर्दै आएको छ ।
विभिन्न समयदेखि आँखामा मोतियाबिन्दु भएर कष्टकर दैनिकी बिताइरहेका ७० जनाको हेटौडा सामुदायिक आँखा अस्पतालमा आँखाको शल्यक्रिया गरिएको हो । हेटौंडा सामुदायिक आँखा अस्पतालमा हरेक वर्ष दुई हजारदेखि २५ सय जनाको आँखाको मोतियाबिन्दुको शल्यक्रिया गर्ने गरिएको छ । यहाँ अन्य समस्याको समेत गरि झण्डै ५ हजारले शल्यक्रिया सेवा लिने गरेका छन् । बागमती प्रदेश, मधेस प्रदेशको विभिन्न जिल्लाबाट आँखा उपचारका लागि सेवाग्राहीहरू आउने गरेको अस्पतालका प्रमुख डाक्टर सुनिल थकालीले बताए ।
मकवानपुरको बकैया गाउँपालिका, हेटौंडा उपमहानगरपालिकाको हर्नामाडी र बाराको प्रस्टता भन्ने थ्यानमा गरिएको शिविरबाट मोतिबिन्दु पहिचान भएका ७० जनाको शल्यक्रिया गरिएको हो । अस्पतालले हरेक वर्ष तीनदेखि पाँच स्थानमा आँखा शिविर गरेर आँखाको समस्या पहिचान गर्ने र उपचारमा सघाउने गर्दै आएको अस्पतालका प्रशासकीय प्रमुख सुुधिर श्रेष्ठले बताए । उनका अनुसार मोतियाबिन्दुको मात्रै वर्षमा दुई हजारदेखि २५ सय जनाको यहाँ शल्यक्रिया हुने गरेको छ । अन्य समेत गरि पाँच हजार जनाको शल्यक्रिया गर्ने गरेको उनले बताए ।
आँखाको समस्या भएर उपचारमा आउने मध्ये ३० प्रतिशतमा मोतियाबिन्दु हुने गरेको अस्पतालका प्रमुख डाक्टर सुनिल थकालीले बताए । जसमा महिला ६५ प्रतिशतको हाराहारीमा भेटिने गरेका छन् । यहाँ मकवानपुर, बारा, महोत्तरी जिल्लाबासी र भारतीय नागरिकसमेत उपचारमा आउँछन् ।
सामान्यतया आँखामा मोतोबिन्दु भएपछि आठदेखि १० हजार खर्च लाग्छ । शिविरबाट पहिचान भएका बिरामीको आँखा निशुल्क शल्यक्रिया गर्दै आएको छ । यो अस्पतालमा दैनिक औसतमा तीन सय जनाले सेवा लिने गरेका छन् ।
यसपटकको सल्यक्रियाको सबै खर्च हेटौंडाका माधव र राधिका राजभण्डारीले आफ्नो छोरा आशिषको स्मरणमा व्यहोर्ने भएका छन् । पहिलोपटक स्थानीय दाताको सहयोगमा शिविर र शल्यक्रिया गर्न पाएको प्रशासकीय प्रमुख श्रेष्ठले बताए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया