मौसम पूर्वानुमान
आजदेखि पानी पर्ने सम्भावना, पश्चिमी निम्न चापीय प्रणाली नेपाल प्रवेश गर्दै
फाइल तस्बिर
काठमाडौँ - हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज साँझबाट सुदूरपश्चिम हुँदै पश्चिमी निम्न चापीय प्रणाली नेपाल प्रवेश गर्ने देखिन्छ। हाल देशभर मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसोसम्म पनि मौसम सफा रहनेछ ।
राति सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिक बदली रही देशका बाँकी भू-भागको मौसम सामान्यतया सफा रहनेछ। सुदूरपश्चिम र कर्णाली प्रदेशका साथै लुम्बिनी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।
यता मौसमविद् विनोद पोखरेलले भने सोमबार रातिदेखि पानी पर्ने सम्भावना रहेको बताए । पश्चिम नेपालबाट वर्षा सुरु भएर बिहीबारसम्म काठमाडौँ लगायतका क्षेत्रमा मध्यम वर्षाको सम्भावना रहेको उनको भनाइ छ । हिमाली भेगमा भने मंगलबारपछि एक हप्तासम्म हिमपातको सम्भावना रहेको मौसमविद् पोखरेलले जानकारी दिए ।
यसैगरी यसपालिको हिउँदमा बितेको ३० वर्ष यताकै सबैभन्दा कम वर्षा भएको जनाएको छ । विभागको तथ्यांकअनुसार सन् १९९१ पछि यो वर्षको हिउँदमा सबैभन्दा कम पानी परेको हो । सन् १९९१ देखि २०२० सम्मको डिसेम्बर १ देखि जनवरी १८ सम्ममा औसतमा १२ दशलमव ६ मिलिमिटर पानी परेको थियो ।
तर यसपालिको डिसेम्बर १ देखि जनवरी १८ सम्ममा शून्य दशमलव एक मिलिमिटर मात्रै पानी परेको मौसम विज्ञान विभागको तथ्यांकमा उल्लेख गरिएको छ ।
अघिल्लो हिउँद अर्थात् सन् २०२१ को डिसेम्बर १ देखि २०२२ को जनवरी १८ सम्ममा २७ दशमलव एक मिलिमिटर पानी परेको थियो ।
नेपालमा मङ्सिर १५ देखि फागुन १५ गतेसम्मको समयलाई हिउँदयाम मान्ने गरिएको र यसवर्ष समुद्रको तापक्रम औसतभन्दा कम भएकाले पश्चिमी वायु कमजोर भई पानी कम परेको जलवायु विज्ञ धर्मराज उप्रेतीले जानकारी दिए ।
उनका अनुसार हिउँदमा पानी कम पर्दा सुख्खा बढेको तथा यसको असर हिउँदे बालीमा प्रत्यक्ष देखिनुका साथै बहुआयामिक असर पर्नेछ ।
हिउँदमा पानी कम पर्दा पानीका मुहानहरू सुक्ने वा मुहानबाट कम पानी आउने, वायु प्रदूषण बढ्ने, डढेलोको जोखिम बढ्नेलगायतका समस्या आउनसक्ने जलवायु क्षेत्रका जानकारहरूले बताएका छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया