मोहनप्रसाद र प्रेमप्रसादलाई शहीद घोषणा गर्न माग
विराटनगर- बैंकको व्यवहार तथा ऋणका कारण आत्महत्या गर्न बाध्य बनेको भन्दै विराटनगरका व्यापारी मोहनप्रसाद न्यौपाने र संघीय संसद् भवन अगाडि आत्मदाह गरेका इलामका प्रेमप्रसाद आचार्यलाई शहीद घोषणा गर्न उद्योगी व्यवसायीहरूले माग गरेका छन् ।
शुक्रबार विराटनगरमा आयोजित न्यौपाने र आचार्यको श्रद्धाञ्जली सभामा उद्योगी व्यवसायी सम्बद्ध संघसंगठनका नेतृत्वले बैंकहरूले दिएको मानसिक तनावले उनीहरू आत्महत्या गर्न बाध्य भएको भन्दै दुवै घटनालाई आफूहरूले ‘हत्या’ का रूपमा लिने बताए ।
मोरङ व्यापार संघको आयोजनामा उद्योगी व्यवसायी सम्बद्ध संघ संगठन र दर्जनौं वस्तुगत संघका प्रतिनिधि सहभागी भएर न्यौपाने र आचार्यलाई श्रद्धाञ्जली दिँदै शहीद घोषणा गर्न र परिवारलाई राहत उपलब्ध गराउन सरकारसँग माग गरेका हुन् ।
उद्योगी व्यवसायीहरूले बैंकको व्यवहारका कारण न्यौपाने र आचार्यले आफ्नो जीवनकै अप्रिय निर्णय पुगेको दाबी गरेका छन् । मोरङ व्यापार संघका अध्यक्ष नविन रिजालले नेपालमा बैंकहरूको राष्ट्रियकरणबाहेक अब कुनै मुद्दा बाँकी नरहेको बताए । अब त्यसैका लागि सम्पूर्ण निजी क्षेत्र आन्दोलनमा उत्रिनुको विकल्प नभएको उनले बताए ।
‘बैंकले जबरजस्ती अनेकौं कागजातमा छाप लगाएर मानसिक रूपमा प्रताडित बनाएका कारण वहाँहरूले यस्तो निर्णय लिनु भएको छ । अबको आन्दोलनले कसैको हत्या हुने अवस्था आउने छैन । वहाँहरूलाई निजी क्षेत्रकै शहीद घोषणा हुनुपर्छ । पीडित परिवारले क्षतिपूर्ति पाउनुपर्छ,’ रिजालले भने, ‘५० जना बैंकर्सका लागि राष्ट्र बैंकले काम गरेको छ । १८ लाखको संख्यामा रहेको बाँकी निजी क्षेत्रको अन्तिम विकल्प आन्दोलन नै हो ।’
रिजालले जुनसुकै सरकार आए पनि निजी क्षेत्रको समस्याको सुनुवाइ नभएको गुनासो गरे । ब्याजदर घट्छ भनिरहेको बेलामा पुनः बेस रेट बढाएर निजी क्षेत्रमाथि ठूलो आर्थिक चलखेल भएको पनि रिजालले आरोप लगाए ।
ऋणीहरूमा माथि बैंकहरूले उपद्रो मच्चाएको सीएनआई प्रदेश १ का अध्यक्ष भीम घिमिरेले दाबी गरे । त्यसैका कारण उद्योगी व्यवसायीहरू आत्महत्याको बाटो रोज्न बाध्य भएको भन्दै बैंकहरूविरुद्ध दुरुत्साहनको कारबाही हुनुपर्ने बताए ।
उद्योग संगठन मोरङका अध्यक्ष सुयश प्याकुरेलले हरेक उद्योगी व्यवसायीहरू आर्थिक रूपमा डिप्रेसन हुने अवस्थामा पुगेको बताए । तर, त्यसको समाधान आत्महत्या नभएको भन्दै बैंकका कारण प्रत्यक्ष रूपमा अप्ठेरोमा परेका उद्योगी व्यवसायीहरू सम्पर्कमा आउन आग्रह गर्दै सामूहिक रूपमा अघि बढ्नुको विकल्प नभएको बताए ।
‘यी घटनाहरूले हामीमाथि पनि प्रश्न उठिसकेको छ । अब सामूहिक रूपमा अघि बढौँ,’ उनले भने, ‘राज्यले निजी क्षेत्रको समस्यालाई सामान्य रूपमा लिन खोजेका कारण यस्ता घटना भोग्नु परेको हो ।’
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया