सुक्दै पानीको मुहान, नासिँदै पोखरी, आहाल र कुवा
सिन्धुपाल्चोक - बलेफी गाउँपालिका, डाडागाँउका बासिन्दाहरूमा हिजोआज दुई घण्टा टाढाबाट खानेपानी बोकेर ल्याउनु दैनिकी बनेको छ । बोकेर ल्याएको पानी खान, नुहाई धुवाई गर्न र बस्तुभाउलाई खुवाउन सधैं अपुग हुन्छ । अड्कलीअड्कली पानी चलाउनु पर्ने अवस्था छ । दिउँसो मेलापात गर्नै पर्यो, बालबच्चालाई बेलैमा स्कुल पढाउनै पर्यो । सबै काम भ्याउन उनीहरू उज्यालो नहुँदै चार बजेनै गाग्रा, बाल्टिन बोकेर पँधेरामा पुग्छन् । धारो एउटा छ, पानी थाप्न लाइन लाग्छन् । लाइन कुर्दा ढिलो हुने हुँदा कतिपयत निद्रा माया मारेर मध्यराति एक–डेढ बजेतिरै घरबाट निस्कन्छन् । गाउँमा पानीको अभावले पहिला पहिला गरी आएका धेरै कुरा हिजोआज त कथा जस्ता भएका छन् ।
सबैको एउटै पीडा छ , 'लैनो भैसीको दूध दोएर खाएर बसेको मान्छे । अहिले त पुरै मरुभूमि झै भयो । यही तीन वटा बाख्रालाई पानी खुवाउन पनि आकासको पानी जममा गरेर बस्नुपर्या छ ।'
आठ–दश वर्ष अघिसम्म डाडागाँउमा नियमित पानीको मुहान थियो । भैसी खेल्ने आहाल, मान्छेका लागि धारा, कुवा थिए । हरियाली थियो । जीवन आनन्द थियो । आफ्नो गाँउको सुखीविगतलाई यहाँका बुढापाकाहरूझलझली सम्झन्छन् । ७६ वर्षीया मंगले तामाङ सम्झन्छन् ,'यहाँ तिन वटा आहाल थियो । चैत बैशाखमा पनि धारामा नुहाउने दुनियाँ मान्छे हुन्थे । गतिलो चहुर थियो । ' तामाङ थप्नुहुन्छ , 'अहिले आँल जोगाउने पुस्तेनी ज्ञानमा युवालाई त सोच नै छैन नि, अब त्यसै हराएर जान्छन् जस्तो लाग्छ । '
पानी बोक्दा महिलाको स्वास्थ्यमा जटिल समस्या
पानीको अभावमा डाडागाँउबासीको जीवन दिनदिनै कष्टकर बन्दै गएको छ । पानीको अभावसँगै अरु थुप्रै समस्या थपिएका छन् । पानी लिन घन्टौं समय लगाउनु पर्दा बालबच्चाको पढाइमा अभिभावकले ध्यान दिन सकेका छैनन् । कतिपय बालकालिकाले त घरको कामधन्दा सघाउनु पर्छ, पढ्न समय हुँदैन । हरेक दिन पानीको गह्रौं भारी बोक्दा महिलाको स्वास्थ्यमा समेत जटिल समस्या देखिन थालेका छन् । शरीरमा कमजोरी, पेट दुख्ने, गुप्ताङ्गबाट सेतोपानी बग्ने, आङ खस्ने र गर्भ तुइने जस्ता समस्याहरू आमरुपमा देखा परिरहेका छन् ।
बलेफी डाडागाँउकी मान्जी तामाङ आफु मरेर बाचेको सुनाउँछन् । पानी बोकेकै कारण उहाँका सात सात महिनाको ३ वटा बच्चा खेर गए । उनी भन्छन्, ' पाठेघरमा घाउ भएर औषधी खाँदै ठिक हुन्छ । पानी बोकेर ल्याउदा त आङ झर्ला जस्तो हुन्छ । बस्यो आराम गर्यो केही हुँदैन । '
पहाडी भू-भागमा मूल सुक्ने समस्या गम्भीर
पछिल्ला वर्षहरूमा सिन्धुपाल्चोक जिल्लाका बलेफी, सुनकोसी, ईन्द्रावती, चौतारा, साँगाचोकगढी, मेलम्ची, बाह्रविसे, लिंसखुपाखर जस्ता पहाडी क्षेत्रमा मूल सुक्ने समस्या गम्भीर रूपमा बढेको छ । सुक्खा याममा यी ठाउँहरूमा बर्सेनि मुहान सुक्दा र पानीको मात्रा घट्दा स्थानीयले आर्थिक, सामाजिक, जनस्वास्थ्य लगायतका समस्या बेहोर्नुपरिरहेको छ । अब पनि पानीका परम्परागत स्रोत ताल र आहालहरूको संरक्षण नगर्ने हो भने समस्या झन कहाली लाग्दो बन्दै जाने निश्चित रहेको जलवायु परीवर्तनको असरका क्षेत्रमा काम गर्दै आएका मधुसुदन सापकोटा बताउँछन् । बस्ती नजिकका पानीका स्रोतहरू पोखरी, दह, तालजस्ता आकाशे पानी जम्मा गरेर जमीनमुनि पानी पठाउने परम्परागत संरचनाको विनाश हुँदा निरन्तर पानी आउने मुहान सुक्दै गएका छन् ।
स्थानीय तहको प्राथमिकतामा छैन मूल संरक्षणको कार्यक्रम
पानी मुहानको संरक्षण गर्न तथा परापूर्व कालदेखिका मूल, कुवा, पँधेराको मर्मतसम्भार तथा संरक्षणमा भने स्थानीय तहको प्राथमिकतामा पर्न सकेको छैन ।
पोखरीको संरक्षणबाट पानीको मूललाई जोगाउनकै लागि भनेर स्थानीय तहले कार्यक्रम बनाउन सकेका छैनन् । पुराना पोखरी पुनःस्थापना, आकाशे पानी सङ्कलन, मूल पुनर्भरणका कार्यक्रम शुरुआत कतै कतै गरे पनि महत्त्वपूर्ण पुनर्भरण क्षेत्रको पहिचान गरी प्रभावकारी कार्यान्वयन अघि बढाएको भने पाइँदैन ।
नेतृत्वले स्थानीयले पानीका मुहान संरक्षणको परम्पारगत ज्ञानलाई वेवास्ता गरी अयातित ज्ञानका आधारमा सबैले भन्ने गरेको विकासलाई रोजेका छन् । वातावरीय, सामाजिक तथा आर्थिक प्रभावको अध्ययन बिनै विकासका नाममा पहाडमा डोजर चल्यो, पोखरी र आहाल क्षेत्रमा सिमेन्ट–कंक्रिटका पक्की संरचना निर्माण भए । वन जंगल फाडियो ।
२०४८ सालमा पहिलो पटक जग्गा नापीगर्दायहाँका पोखरीहरू व्यक्तिका नाममा नापिए । अनि पोखरी मासेर खेतीबाली लगाउन सुरु भयो । पहिले पानी जम्ने पोखरीमाथि हिजोआज सडक,विद्यालय, खेल मैदान निमार्ण भएका छन् । सरकारले ठूल्ठूला नदी तथा जलाधार केन्द्रित आयोजनामा लगानी बढायो । तर स्थानीय बासिन्दाको जीवनका वास्तविक आधार स–साना मुहानको संरक्षणका विषयमा कसैको ध्यान गएन।
सिन्धुपाल्चोकका धेरै गाँउका बासिन्दालाई केही समयदङ्ग पार्ने विकासले हिजोआज पीडा पनि दिन थालेको छ । पोखरी र आहालहरू मासिएर खानेपानीका स्रोत सुक्नाले जीवन निर्वाह अप्ठेरो बन्दै गएको छ । समस्या निकै जटिल बन्दै गएपछि अहिले सरकारी पक्षलाई पनि झड्का लाग्न थालेको छ । जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका प्रमुख बालकृष्ण श्रेष्ठ ऐतिहासिक पोखरी,कुँवा, आललाई पुरानै स्वरूपमा फर्काउन हराइसकेका पोखरी ब्युँताएर संरक्षण गर्नु आवस्यक रहेको बताउँछन्।
स्थानीयको आस्था र विश्वास जोडिएका पोखरीहरू छन् संरक्षित
सिन्धुपाल्चोक जिल्लामा रहेका २४ वटा हिमताललाई गणना नगर्ने हो भने ५१ वटा ताल र पोखरीहरू अझै कायम छन् । यी पोखरीहरू अहिलेसम्म संरक्षित रहनुका पछाडिको कारण स्थानीयको आस्था र विश्वास जोडिनु पनि हो । पाँचपोखरी थाङपाल गाउँपालिका स्थित रैथाने गाउँमा शिवको इतिहाससँग जोडिएको प्राचीन पोखरी छ । यो पोखरी कति पुरानो हो भन्ने कुनै तथ्याङ्क छैन । तर यात्राको क्रममा भगवान शिवलाई प्यास लागेपछि यहाँ कुण्ड स्थापना गरी पानीको मुल फुटाएपछि पोखरी बनेको भन्ने किवदन्ती प्रचलित छ । यो पोखरीबाट उत्तर दिशामा दुधको रङ्ग जस्तो पानी निकास हुन्थ्यो, जुन खेतीबालीमा सिंचाईका रुपमा प्रयोग हुन्थ्यो, पश्चीम दिशामा निकास हुने सङ्लो पानी नुहाउन खाना प्रयोग गरिन्थ्यो भने पूर्व दिशामा रगत जस्तै रातो पानी निकास हुन्थ्यो भन्ने बुढापाकाको कथन छ । पोखरीसँगै शिव पार्वतीको मन्दिर पनि छ । लामा र झाँक्रीले रैथाने पोखरीमा आएर हाछिँउ नकाटेसम्म उनीहरू पूर्ण हुँदैनन् भन्ने मान्यता स्थानीय समुदायमा छ । कुनै अनिष्ट भए वा सपना नराम्रो देखेमा यहाँका बासिन्दा पोखरीमा दुध चढाउन आइपुग्छन् ।
८४ वर्षीया खिलबहादुर खड्का पोखरीको पानी तल तल छिरेर मुल निस्कने तर्क राख्छन् । जति पोखरी भरिन्छ तल तल पानी बुल बुल गरेर मुल फुट्ने गरेको खड्का बताउँछन् । पाँचपोखरी थाङपाल क्षेत्रमा पोखरी संरक्षणकै कारण धार्मिक पर्यटक बढेका छन् भने पोखरीभन्दा तल बाक्लो बस्ती भएका रैथाने, थाङपालकोट र गुन्सालगायतका गाँउहरूमा पानीका परम्परागत स्रोत,मूलहरू पुरानै अवस्थामा कायम छन् । स्थानीयको आस्था र विश्वासले अहिलेसम्म रैथाने पोखरीको संरक्षण भइरहेको छ । स्थानीयकै आग्रहमा पाँचपोखरी थाङपाल गाँउपालिकाले पोखरी संरक्षणका लागि तारबार पनि लगाएको छ ।
मासिँदै पोखरी
पचास वर्ष अघिसम्म यो क्षेत्र वरिपरि ५३ वटा यस्तै साना ठूला पोखरी र आहालहरू थिए । यहाँका पोखरी र कुवाको पानीले कैयौं पुस्ता हुर्के, बढेका छन् । पानीका मुहान संरक्षण कार्यमा सक्रिय रैथानेका सुन्दर सापकोटा आफुले बाल्यकालमा देख्दै आएका केही पोखरी क्रमशः हराउँदै गएको बताउँछन् ।
सामुदायिक विकास तथा बातावरण संरक्षण मञ्च,सिन्धुपाल्चोकले गरेको अध्ययनले बर्षात् घट्ने क्रममा रहेको देखाएको छ । सिन्धुपाल्चोक जिल्लाको जलवायु मापन केन्द्रको तथ्यांक विश्लेषण गर्दापनि औषत वर्षा १८.७५ मिलिमीटर प्रतिवर्षका दरले घटिरहेको देखाउँछ । झण्डै दुई लाख ६२ हजार जनसङ्ख्या रहेको सिन्धुपाल्चोकका अधिकांश गाउँ बस्तीमा पानीका मुल हराउँदै गएका छन् । तर मुल सुक्दा खानेपानीको समस्या भोग्न बाध्य जनसंख्या कत्रो छ भन्नेसम्म पनि कतै अध्ययन भएको पाइँदैन ।
मूलको जलाधार क्षेत्र आहाल र परम्परागत पोखरीहरू विकासका नाममा नासिएका र पानीको मुलसँग पोखरी र आहालको सम्बन्धका ज्ञानलाई आधुनिक विकासका नाममा नास गरीएको विषयमा जिल्ला खाने पानी कार्यालयका पदाधिकारीहरू पनि सहमत छन् । पछिल्लो समय खानेपानीका मुहान हराउँदै जादा नया मुहान खोजी गर्न खानेपानी योजनाको काम गर्न भन्दै नागरिकहरू कार्यालयमा आउने गरेको जिल्ला खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका सिन्धुपाल्चोकका सूचना अधिकारी राम पुकार साफी बताउँछन् । यस्ता ठाउँमा करोडौँ बढी लागतमा लिफ्टिङ आयोजनाको काम हुने भए पनि पुराना पोखरी पुनःस्थापना, आकाशे पानी सङ्कलन, मूल पुनर्भरणका कार्यक्रम भने छैन ।
साँगाचोकमा कृतिम पोखरी निर्माण प्रभावकारी
स्थानीयले हिजोआज पानी पर्ने प्रवृत्तिमा निकै फरकपन महशुस गरेका छन । पहिले जस्तो सिमसिमे वर्षा कम हुन थालेको छ । पानी आउँदा थोरै समयमा मुसलधारे पानी आउने, ह्वाल्ल बगेर जाने हुँदा जमिनमुनि पानी पुनर्भरण हुन छोडेको छ । अरुको मुख ताक्दा आफैं दुख पाइने भएपछि विगत तीन वर्षदेखि चौतारा साँगाचोकगढी नगरपालिकास्थित गढी, ठाडाडाँडामा स्थानीयले जमिनमा पानी पुनर्जागरणका लागि पानी जमाउन कृतिम पोखरी निर्माण अभियान सञ्चालन गरेका छन् ।
हालसम्म ससाना ४० वटा आहाल निर्माण भइसकेका छन् । उनीहरूले भल र आकासे पानी जम्मा गर्न जंगल क्षेत्रमा यी पोखरी निर्माण गरेका हुन् । एउटा पोखरीबाट भरिएर वगेको पानी अर्को पोखरीमा जाने गरी निर्माण प्रविधि पनि मिलाइएको छ ।
पानी संरक्षण अभियानका अगुवा तथा चौतारा साँगाचोकगढी नगरपालिका वडा नं ११ का वडाअध्यक्ष रोशन गिरीका अनुसार साँगाचोक क्षेत्र यता सुनकोशि र उता ईन्द्रावती नदिले काटीएको र बिचमा एकदमै शुख्खा ग्रस्त क्षेत्र भएको डाँडा भएको क्षेत्र हो ।
माथिल्लो जलाधार क्षेत्रमा बर्खामा जमेको पानीलाई रिचार्ज गरेर जमिनमुनि पठाएर हेरौँ भनेर श्रमदानमा आधारित अभियान सुरु भएको अध्यक्ष गिरीको भनाइ छ । सुरुमा मान्छे आउन नमानेपछि आफ्नै लगानीमा औजार व्यवस्थापन गरेर पिकनिकको रुपमा बोलाएर सुरु गरेको अभियान अहिले विस्तार हुन पुगेको गिरी बताउँछन् ।
स्थानीयले तीन वर्षदेखि डाँडा, डाँडामा पोखरी बनाएर पानी संकलन गर्न थालेपछि अहिले यस क्षेत्रमा नयाँनयाँ विरुवाका प्रजातीहरू देखिन थालेका छन् । पहिले सुख्खा भएर कठाङ्ग्रीएका विरुवाहरू हलक्क बढेको महसुस स्थानीयको छ । यही वडाकै मृत अवस्थामा पुगेको गोचे पँधेरामा योसाल विगतको भन्दा ठूलो मुल फुटेको छ । स्थानीय विधिबाट बनाएका यस्ता पोखरी एक पटक निर्माण भएपछि ५० वर्षसम्म काम गर्छ ।
खस्कदोँ वातावरण र जलवायु परिवर्तनका असरहरूबाट स्थानीय पीडित हुनु नपरोस भनी पानी जम्मा गर्ने पोखरी निर्माण कार्य प्रभावकारी बन्न थालेपछि परम्परागत ज्ञानप्रति स्थानीयको विश्वास जागेको छ । जलवायु परिवर्तनलाई अनुकुलन गर्दै जीवन निर्वाहलाई सहज बनाउन हामी कहाँ भएका पानीका मुहानका स्रोत पोखरी र आहालहरू संरक्षण गर्नुबाहेक अर्को विकल्प छैन ।
परम्परागत ज्ञानको प्रभावकारी ढङ्गले प्रयोग गर्दै पानीका स्रोत संरक्षणको अभियान अघि बढाउन सके मात्र आत्मनिर्भर ढङ्गले स्रोत संरक्षण कार्यलाई निरन्तरता दिन सम्भव छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया