समाज

आज गाई, गोरु र हली तिहार

इकागज |
कात्तिक ३०, २०७७ आइतवार ७:१८ बजे

काठमाडौँ : यमपञ्‍चक अर्थात् तिहारको चौथो दिन आज गाई, गोरु र गोरु जोत्‍ने हलीको समेत पूजा गरी हली तिहार पर्व मनाइँदैछ । गाईलाई पूजा गर्नाले गाईबाट आमाबाट पाएजस्तै माया पाइने धार्मिक विश्‍वासमा गाईपूजा गर्ने परम्परा रहेको हो । गाईको दूध, गहुँत र गोबर पवित्र हुने भएकाले पनि गाईको पूजा गर्ने गरिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिए । 

आधुनिक विज्ञानले समेत स्थानीय गोरस विभिन्‍न रोगहरुमा अचुक औषधिका रूपमा प्रयोग गर्दा मानव स्वास्थ्यलाई फाइदा पुग्‍ने भनी अनुसन्धानबाट प्रमाणित गरेपछि गाईको महत्व अझ बढेको अनुसन्धानमा संलग्‍न गोब्रती योगी सोमराजले बताए । 


आजैका दिन कृषि कर्म गर्न हलो जोतेर वर्षभर साथ दिने गोरुलाई समेत पूजा गरी मीठो मीठो खान दिने गरिन्छ । गोरुको साथमा जोत्ने हलीलाई समेत पूजा गरी खाना खुवाइन्छ । यसैले आजको दिनलाई गाई तिहार र हलीतिहार समेत भन्‍ने गरिन्छ । आज गाई, गोरु र हलीलाई समेत मीठा कुरा खान दिइन्छ ।

आजैका दिन बेलुकी घर घरमा ‘देऊ शुभ’ भनी देउसी खेल्ने गरिन्छ । देऊ शुभ भन्‍ने क्रममा अपभ्रंश भई देउसी भएको समितिका अध्यक्ष गौतमले जानकारी दिए । 

हिजो तिहारको तेस्रो दिन शनिबार साँझ ऐश्वर्य, धन धान्य र सम्पन्‍नताकी देवी लक्ष्मीको पूजा आराधना गरी श्रध्‍दा भक्तिपूर्वक लक्ष्मीपूजा पर्व मनाइयो । सफासुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्‍ने मान्यताका आधारमा बिहानै घर सफा सुग्घर र लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरेपछि धार्मिक विधिपूर्वक लक्ष्मी पूजा गरिएको हो । लक्ष्मीपूजाको दिन विशेषगरी घरका झ्याल, ढोका, चोटा, कोठा, संघार, कौसी, अटाली र भर्याङलगायतका स्थानमा सरसफाइ गरी दीपावलीसमेत गरेपछि लक्ष्मी घरमा प्रवेश गर्ने विश्वास छ ।

लक्ष्मीपूजाको रातलाई सुखरात्री पनि भनिन्छ । लक्ष्मी पूजाका लागि साँझ आँगनदेखि मूलढोका हुँदै लक्ष्मी स्थापना गरिने पूजा कोठा वा ढुकुटीसम्म गाईको गोबर र रातोमाटाले लिपपोत गरेर चामलको पीठो एवं अबीरले लक्ष्मीको पाइला बनाई लक्ष्मी आउने बाटो देखाइन्छ । पाइलैपिच्छे केराको सुत्लो अथवा माटाको पालामा दीप प्रज्वलन गरी झिलीमिली बनाई पूजा गरिने परम्परा छ ।

दीपावली गरिसकेपछि पूजा कोठामा दियो, कलश र गणेशसहित थालीमा अष्टदल लेखेर लक्ष्मीको प्रतिमा स्थापना गरेर गरगहना, पैसालाई पनि पूजा गरी फलफूल, सेलरोटी र फूलमाला चढाइन्छ । लक्ष्मीपूजापछि कन्या केटी र छोरीचेलीलाई लक्ष्मीको प्रतीक मानी पूजा गरी दक्षिणासमेत दिने गरिन्छ । घरमा लक्ष्मीपूजा गरेपछि धनदौलत वा अन्य सामान घरबाहिर पठाए लक्ष्मी बाहिर जान्छिन् भन्‍ने धार्मिक विश्वाससमेत रहेको छ ।

घरका अतिरिक्त व्यापारिक प्रतिष्ठानमा विधिपूर्वक लक्ष्मीपूजा गरिएको छ । यसअघि गरिएको दीपावलीले काठमाडौँ उपत्यकालगायत प्रमुख शहर उज्यालोले झिलिमिलि बनेको थियो । उपत्यकामा दशैँको भन्दा बढी नै चहलपहल देखिए पनि कोरोना महामारीका कारण विगत वर्षमा जस्तो भने मानिस बजारमा निस्किएका छैनन् ।
       
लक्ष्मीपूजाको साँझ युवतीहरु समूह बनाई घरघरमा भैलो खेल्छन् । भगवान् विष्णुबाट यमपञ्‍चकको पाँच दिन स्वर्ग, मत्र्य र पाताल तीनै लोकको शासन गर्ने वरदान पाएका बलिराजाले भलो होस् भनी घरघरमा गाउन लगाएको सम्झनामा भैलो खेल्ने गरिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष गौतमले जानकारी दिए । (रासस)


Author

थप समाचार
x