समाज

थुनुवा फरार प्रकरण : तीन प्रहरी निलम्बित, इन्चार्ज तानिए

सुभाष कर्ण |
माघ १७, २०७९ मंगलबार १७:५८ बजे

जनकपुरधाम- धनुषाको ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट थुनुवाहरू फरार भएको घटनामा ३ जना प्रहरीलाई निलम्बन गरिएको छ भने ईप्रका इन्चार्ज प्रहरी निरीक्षकलाई जिल्लामा तानिएको छ ।

आइतबार बिहान ३ बजे ईप्रका महेन्द्रनगरको हिरासत कक्षबाट ६ जना थुनुवा भागेका थिए । सो घटनाको अनुसन्धानका क्रममा हिरासत कक्ष अधिकृतसहित ३ जना प्रहरीलाई निलम्बन गरिएको जनाइएको छ ।


निलम्बनमा पर्नेहरूमा ईप्रका महेन्द्रनगरको हिरासत कक्ष अधिकृत असई अशोक मण्डल प्रहरी हवल्दार सरोज रेग्मी र प्रहरी जवान रोहन मगरलाई निलम्बन गरिएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता सुमन तिम्सिनाले जानकारी दिएका छन् । घटनाको प्रदेश प्रहरी कार्यालयका एसएसपी मनोजकुमार यादवको संयोजकत्वमा गठित छानबिन समितिले अनुसन्धान गरिरहेका छन् ।

यता जिल्ला प्रहरी कार्यालय धनुषाले समेत प्रहरी नायव उपरीक्षक प्रदीपबहादुर क्षेत्रीको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरेको छ । ती टोलीले ईलाका प्रहरी कार्यालय महेन्द्रनगरका इन्चार्ज प्रहरी निरीक्षक बेचन यादवको लापरबाही देखिएको भन्दै जिल्लामा तानिएको छ ।

यादवलाई जिल्लामा तानिएपनि सो ठाउँमा नयाँ इन्चार्ज पठाइएको छैन । प्रहरी उपरीक्षक क्षेत्रीले भने, 'प्रहरी निरीक्षक बेचन यादवलाई जिल्लामा तानेका छौं, घटनाको अनुसन्धान हुँदैछ दोषी देखिए उनलाई निलम्बन गर्ने वा कानुन बमोजिम कारबाही प्रक्रिया अघि बढाइने छ ।'

उक्त ईप्रका इन्चार्जविहीन रहेको प्रसंगमा उनले भने, ‘यादवलाई हामीले जिल्ला मात्रै तानेका छौं जिम्मेवारी मुक्त गरेका छैनौं, अर्काे इन्सपेक्टर आए लगत्तै उनलाई जिम्मेवारी दिनेछौं ।'

प्रहरी निरीक्षक बेचन यादव लामो समयदेखि सोही ईप्रकामा कार्यरत छन् । उनको यो पहिलो घटना होइन यसअघि पनि महिला प्रहरीसँग अभद्र व्यवहार गरेको आरोप लागेका थिए । त्यस बेला पनि उनलाई जिल्लामा तानिएको थियो । पछि सोही ठाउँमा उनलाई फिर्ता पठाइयो । राजनीतिक शक्तिको आडमा उनी सो ईप्रकामा लामो समयदेखि बस्दै आएको श्रोतको दाबी छ ।

हिरासत कक्षको पर्खाल फोडेर हातहतियार मुद्दाका रोशन महतो, शंकर सिंह, लागूऔषध मुद्दा लागेका विनोदकुमार शर्मा र अमित मण्डल र राष्ट्र सेवक बाधा मुद्दाका रोशन यादव र हरिदीप सिंह अझै फरार भएका थिए । फरार भएका मध्ये सोमबार दिउँसो रोशन महतोलाई प्रहरीले पक्राउ गरेको थियो भने पाँच जना अहिले पनि फरार नै रहेका छन् ।


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x