समाज

हतियार र तमसुकसहित एक मिटर ब्याजी पक्राउ

सुभाष कर्ण |
माघ २१, २०७९ शनिबार १९:४८ बजे

जनकपुरधाम- धनुषा प्रहरीले तमसुक र हतियारसहित एक मिटर ब्याजीलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका १ निवासी दिलिप साह रहेको प्रहरीले जनाएको छ । मिटर ब्याजमा पैसा लगाउँदै गरेकाे साहविरुद्ध जिल्ला प्रशासन कार्यालय धनुषामा उजुरी परेपछि जिल्ला प्रहरी धनुषाबाट खटेको टोलीले उनलाई पक्राउ गरेको हो ।


जनकपुरधाम उपमहानगरपालिका १ स्थित निजको घर तथा पसलमा खानतलासी गर्दा हतियार र विभिन्न कपाली तमसुक बरामद भएको धनुषाका प्रहरी प्रवक्ता प्रदीपबहादुर क्षेत्रीले जनाएका छा् । प्रहरी नायव उपरीक्षक दिपककुमार रायको कमाण्डमा खटिएको टोलीले खानतलासी गर्दा कटुवा पेस्तोल १ थान, ३०३ राईफलमा लाग्ने गोली ४ थान, म्यागनममा लाग्ने गोली १ थान र म्यागनमको खोका १ थान बरामद उनले जानकारी दिए ।

यसका साथै प्रहरीले आरोपित साह तथा उनकी श्रीमती ममता देवी साह समेत नाममा रहेको राजीनामा फारमसहितको जग्गाधनी पुर्जा ३९ थान, दिलिप साहको नाममा जग्गा रोक्का रहेको फारम ५ थान, रकम उल्लेख नभई दस्तखत भएको सिटिजन बैंकको चेक १ थान, कपाली तमसुक १५ थान, खाली कागजमा सहीछाप भएको ६ वटा पाना, लेनदेन मुद्दाको विपक्षी पवन नारायण झाको नाममा रहेको सक्कलै म्याद बान १ थान, लेनदेन मुद्दाको दिलिप साहको नाममा रहेको तारेख पर्चा १४ थान समेत बरामद भएको हो ।

पक्राउ परेका साहविरुद्ध थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x