संघीय राजधानीको मुख्य सहरमै छैन खानेपानी
फाइल तस्बिर
काठमाडौँ- मेलम्चीको पानी तेस्रोपटक राजधानी आएको दुई महिना पूरा भए पनि काठमाडौँ महानगरपालिकाकै मुख्य सहरी क्षेत्रमा खानेपानी नपाइएको स्थानीयवासीको गुनासो छ ।
महानगरपालिकाका असन, इन्द्रचोक, बाङ्गेमुढा, वसन्तपुर, ताहाचल, कालिमाटी, टेकु, कुलेश्वरलगायत मुख्य सहरी क्षेत्रमै खानेपानी नपाएर समस्या भएको स्थानीयवासीको गुनासो छ । काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले तीन दिनमा एकपटक खानेपानी दिने भनी सार्वजनिक सूचना जारी गरे पनि त्यसअनुसार धारामा पानी नआउँदा समस्या भएको महानगरपालिका–२५ का अध्यक्ष राजेश डङ्गोल बताउँछन् ।
मुख्य सहरी क्षेत्रमा अहिले हप्तामा एकपटक पानी आउने गरेको छ । एकपटक आउने गरेको पानी पनि लिमिटेडले दिएको तालिकामा नभई राति दुई बजे आउने गरेकाले थाप्न नसकिएको बाङ्गेमूढाका स्थानीयवासीसमेत रहेकी महानगरपालिका २५ नं वडा सदस्य रुपा प्रजापति श्रेष्ठको गुनासो छ । राति, राति आउने पानी पनि सुरुको आधा घण्टा फोहर आउँछ । बीचबीचमा पनि फोहर पानी आउने गरेकाले समस्या भएको उनले बताइन् ।
लिमिटेडले भने यो क्षेत्रमा बिहान चार बजेदेखि सात बजेसम्म खानेपानी आउने तालिका सार्वजनिक गरेको छ । असनबाट बाङ्गेमुढाको भने लिमिटेडले पानी दिने तालिका नै नबनाएको स्थानीयवासी स्वस्तिहीरा ताम्राकारको दुखेसो छ ।
गत मङ्सिर दोस्रो साता तेस्रोपटक मेलम्चीको खानेपानी राजधानीमा ल्याइएको थियो । सुक्खा मौसम भएकाले पानीको माग धेरै छ । मेलम्चीको दैनिक १७ करोड ५० लाख लिटर पानी थपिँदा पनि काठमाडौँ उपत्यकाको माग धानिएको छैन । पानी वितरणसँगै नयाँ पाइपको परीक्षण पनि चलिरहेकाले पनि समस्या भएको लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयका प्रवक्ता एवं सूचना अधिकारी चन्द्रकुमार पाँ श्रेष्ठले बताए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया