आजबाट सिंहदरबारमा मेलम्चीको पानी, प्रतिसेकेण्ड ४० लिटर पठाइने
फाइल तस्बिर
काठमाडौँ- सिंहदरबारमा पहिलो पटक मेलम्ची खानेपानी आयोजनाको पानी वितरण सुरु भएको छ ।
बुधबार पानी वितरण कार्यको परीक्षण सफल रुपमा सम्पन्न भएपछि आजदेखि २४ घण्टा मेलम्चीको पानी नियमित रूपमा मुलुकको सबैभन्दा ठूलो प्रशाशनिक क्षेत्र सिंहदरबारमा वितरण कार्य सुरु हुन लागेको हो । जसअनुसार सिंहदरबारभित्रका सरकारी कार्यालय तथा निकायमा चौबिसै घण्टा मेलम्चीको पानी उपलब्ध हुनेछन ।
काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) बानेश्वर वितरण केन्द्रका प्रमुख विजय विश्वकर्माका अनुसार बिहीबार बिहान १० बजेदेखि सिंहदरबारमा नियमित रूपमा मेलम्चीको पानी वितरण सुरु गरिने व्यवस्था मिलाई सकिएको छ । उनका अनुसार त्यसका लागि पाइप बिच्छयाउने, वितरण गर्ने, पानी बितरणको परिक्षण लगायत आवश्यक सबै तयारी पूरा भईसकेको छ ।
सिंहदरबारमा जाने मेलम्चीको पानी वितरणका लागि आयोजनाको अनामनगर पानी भण्डारण केन्द्रबाट २०० एमएमको थोक वितरण पाइप सिंहदरबारमा पठाइएको छ । सोही पाइपमा १५० एमएमको ६७० मिटर पाइप जडान गरी सिंहदरबारको पूर्वी गेटमा रहेको केयूकेएलको ट्याङ्कीमा पानी खसालि सकिएको छ । सोही ट्याङ्कीबाट सिंहदरबारमा २४ घण्टा नै पानी वितरण हुनेछ ।
सिंहदरबारमा ४६ लिटर प्रतिसेकेण्ड पानी पठाउन सिंहदरबारको उत्तरतर्फबाट पाइपहरु जडान गरिसकिएको छ । मेलम्ची खानेपानी आयोजनाले सिंहदरबारमा ‘पिक–आवर’ मा प्रतिसेकेण्ड ४० लिटर पानी आवश्यक पर्ने अनुमान गरेर खानेपानीको संरचनाहरु निमार्ण गरेको छ । जसअनुसार अब प्रतिसेकेण्ड ४० लिटर पानी सहज रूपमा चौबिसै घण्टा सिंहदरबार पठाउन सक्ने संरचना निर्माण गरिएको हाे ।
यसअघि बोरिङबाट सिंहदरबारमा पानी बितरण गरिँदै आएको थियो । मेलम्चीबाट पानी वितरण हुने भए पछि सिंहदरवारको भूमिगत पानीको संरचनास्थल क्रमशः पुरानै स्थीतिमा फर्कने वातवरण विद्धहरुले जनाएका छन ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया