समाज

'संक्रमितको बाँकी शव रातभर लगाएर अन्त्यष्टि गर्नेछौँ '

अतिन आचार्य |
बैशाख २०, २०७८ सोमबार १९:२५ बजे

काठमाडौँ : मुलुकभर कोभिड-१९ संक्रमितको मृत्युदरको ग्राफ उकालो लाग्दै गएको छ । दोस्रो लहरको कोभिड-१९ तीव्र रूपमा फैलिएपछि दिन प्रतिदिन मृत्युको धर्का पनि लम्बिदै गइरहेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टाभित्र (आज मात्र) ३७ जनाको मृत्यु भएको छ । काेभिड लहरसँगै गत वर्षको जेठ ३ मा पहिलो मृत्यु (महिला) भएदेखि हालसम्म तीन हजार तीन सय ६२ को मृत्यु भइसकेको छ ।


पछिल्लो दश दिनमा कोभिड कारण २ सय ४० जनाले ज्यान गुमाएका छन् । यसरी मृत्युको ग्राफ उकालो लाग्दै गएपछि कतिपय मुलुकका विभिन्‍न स्थानमा शव अन्त्येष्टि गर्न लाइन लाग्‍नुपर्ने अवस्था आएको छ ।

कतिपय विज्ञहरूले भारतको जस्तै खुल्ला स्थानमा शवको अन्त्यष्टि गर्नुपर्ने अवस्था आउन सक्ने बताउन थालेका छन् । सोमबार पशुपति क्षेत्रको विद्युतीय शवदाह गृहमा लाइन बसेर शवको अन्त्येष्टि गरिएको तस्बिरहरू सामाजिक सञ्‍जालमा भाइरल भएका छन् ।

बागमतीको किनारामा संक्रमितको शव अन्त्येष्टि गर्दा आगोका राता-राता लप्काहरू देखिएको थियो । संक्रमितको शव दिनानु दिन बढ्दै गएपछि यसरी खोला किनारामा शव जल्ने संकेत ति आगोका लप्काले गरिरहेको थियो ।

पशुपतिमा शव अन्त्येष्टि गर्नका लागि साच्चिकै लाइन बसेका थिए त मानिसहरू भन्‍दै इकागजले पशुपति क्षेत्र विकास कोषमा सम्पर्क गरेको थियो । विकास कोषका सेवा सुविधा महाशाखाका प्रमुख राजु रेग्मीका अनुसार दैनिक १२ देखि १५ संक्रमितको शव आउने गरेका छन् ।

'शवको चाप धान्‍न नसकिने गरि बढिरहेको छ । अन्त्येष्टि गर्न लाइन बस्‍नुपर्ने बाध्यता छ । साँझसम्म शवदाह गृहमा २७ वटा शव छ । यहाँ भएका शव न राज्यले देख्छ न सम्बन्धित निकायले नै बुझ्छ,' उनले भने । 

रातभर लगाएर भएपनि बाँकी शवको अन्त्येष्टि गरिसक्ने रेग्मीको दाबी छ । उनले महामारीमा यति धेरै शव आउछ भनेर कल्पनासम्म गरेका थिएनन् । बाँकी शवको अन्त्येष्टि गरिएन भने दुर्गन्ध फैलने त्रासले सताएको उनले बताए।

सरकारी कर्मचारी भएका भए शव जलाउनेहरू अधिकृत हुन्थे । शव जलाउनेको शैक्षिक योग्यता स्‍नातक उत्तिर्ण र प्रविणता प्रमाणपत्र पास गरेकाहरू छन् । कोषका १४ जना कर्मचारीले रातभरी लगाएर भएपनि अन्त्येष्टि गरिसक्ने रेग्मीले सुनाए ।

एक जनालाई बाहिरबाट ल्याएर काममा खटाएको उनी बताउँछन् । कर्मचारी अपुग छन् र जोखिम मोलेर काम गरिरहेकालाई भत्ता उपलब्ध गराउनुपर्ने उनले माग राखे । आजै मात्र बागमतीको किनारमा दाउराले आठ शवको अन्त्येष्टि गरिएको थियो। यसअघि संक्रमितको शवलाई दाउराले जलाउनुपरेको नपरेको उनले सुनाए । भोलिदेखि संक्रमितको शव जलाउन १२ वटा चित्ता निर्माण गरिने उनले बताए ।


Author

अतिन आचार्य

वैदेशिक रोजगार, जन-स्वास्थ्य र सामाजिक मामलामा कलम चलाउँने आचार्य संवाददाता हुन् ।


थप समाचार
x