समाज

चितवनमा एकै दिन चार काेभिड संक्रमितकाे मृत्यु

इकागज |
बैशाख २०, २०७८ सोमबार १९:५६ बजे

चितवन : जिल्लाका दुई अस्पतालमा उपचारारत चार जना कोभिड–१९ सङ्क्रमितको मृत्यु भएको छ । चितवन मेडिकल कलेज (सीएमसी) मा तीन जना र कलेज अफ मेडिकल साइन्सेस (सीएमएस) मा एक जनाको मृत्यु भएको हो ।

मृत्यु भएकाहरु एक जना तनहुँ, एक जना बारा, एक जना रुपन्देही र अर्काे एकजना कपिलवस्तुका रहेका छन् । स्वास्थ्य कार्यालय चितवनले दिएको जानकारीअनुसार जिल्लाका तीन अस्पततालमा गरी १३ जना सङ्क्रमित भेन्टिलेटरमा उपचाररत छन् । सीएमसीमा नौ जना र सीएमएसमा चार जना भेन्टिलेटरमा उपचार गराइरहेका हुन् । यस्तै ६४ जना बिरामी सघन उपचार कक्षमा छन् ।


तीमध्ये सीएमसीमा ३६ जना, सीएमएसमा १८ जना र भरतपुर अस्पतालमा १० जना उपचारारत छन् । यसैगरी ४६ जना सङ्क्रमित एचडीयूमा उपचार गराइरहेका छन् । तीमध्ये भरतपुर अस्पतालमा २४ जना, सीएमसीमा आठ जना र सीएमएसमा १४ जना रहेका छन् । जिल्लाका अस्पतालमा उपचार गराइरहेका २२० जना सङ्क्रमितमध्ये भरतपुर अस्पतालमा १०६, सीएमसीमा ७८ र सीएमएसमा ३६ जना रहेका छन् । जिल्लामा भरतपुर अस्पतालमा ११० शय्या, सीएमसीमा १३९ शय्या र सीएमएसमा १०० शय्या कोभिड सङ्क्रमितका लागि छुट्टाइएको छ । रासस


Author

थप समाचार
x