समाज

कांग्रेस नेता भण्डारीबारे अस्पतालको प्रारम्भिक रिपोर्ट - अवस्था खतरामुक्त, भोलि दुई वटा शल्यक्रिया गरिने

इकागज |
फागुन ४, २०७९ बिहीबार २२:२३ बजे

फाइल फोटो

काठमाडौँ - नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीको अवस्था खतरामुक्त भएको चिकित्सकहरूले बताएका छन् ।

गएराति खाना पकाउने ग्याँस सिलिण्डर विस्फोट भइ घाइते भएका भण्डारीको स्वास्थ्य अवस्था खतरामुक्त रहेको चिकित्सकले बताएको उनका सहयोगी माधव न्यौपानेले जानकारी दिए । उनले भने, 'नेपालबाट ल्याउँदा अवस्था स्थिर थियो यहाँ आएपछि चिकित्सकले प्रारम्भिक परीक्षण गरेपछि खतरामुक्त रहेको बताउनुभएको छ ।'  न्यौपाने भण्डारीसँगै मुम्बइ गएका छन् । 


भण्डारीको मुम्बईस्थित नेशनल स्किन बर्न सेन्टरमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । उनको भोलि दुई वटा शल्यक्रिया गर्नुपर्ने चिकित्सकले बताएको न्यौपानेले टेलिफोनमा जानकारी दिए । 

भण्डारीको यसअघि कीर्तिपुरस्थित कीर्तिपुर बर्न अस्पतालमा उपचार गरिएको थियो । अस्पतालले आज विज्ञप्ति जारी गरी उपलब्ध साधन र स्रोतबाट उनको यथोचित उपचार नेपालमा सहज नहुने देखिएकाले देश बाहिरका सुविधा सम्पन्न स्वास्थ्य संस्थामा यथाशीघ्र स्थानान्तरण (सिफारिस) गरेको हो ।

आफ्नो निवासमा ग्यास सिलिण्डर विस्फोट हुँदा सांसद डा भण्डारीसहित उनकी आमा हरिकला भण्डारी घाइते भएका थिए ।  आमा हरिकलाको भने उपचारका क्रममा बिहान निधन भएको छ । नेता डा भण्डारीको दुवै हात र दुवै गोडा गरी २५–३० प्रतिशत जलन भएको अस्पतालले जनाएको छ ।


Author

थप समाचार
x