समाज

कोभिड महामारीमा काठमाडौँ उपत्यकाका स्थानीय तह आफैँ आइसोलेसनमा

अतिन आचार्य |
बैशाख २१, २०७८ मगलवार १८:९ बजे

काठमाडौँ : कोभिड-१९को केन्द्रविन्दु काठमाडौँ उपत्यका बनिसकेको छ । प्रत्येक स्थानीय तहका घर-घरमा संक्रमित भेटिएका छन् । कोभिड संक्रमित आइसोलेसनमा हुनुपर्ने ठूला-ठूला स्थानीय तह आफैँआइसोलेसनमा  छन् ।

उपत्यकाका विभिन्‍न अस्पतालमा उपचार गराउने भन्दा होम आइसोलेसनमा बस्‍नेको संख्या बढी छ । तीनै जिल्लाका कोभिड अस्पतालको बेड संक्रमितले भरिभराउँ छन् ।संक्रमितले बेड नपाउने अवस्था आएपछि संघीय सरकारले निजी अस्पतालसँग संक्रमितको उपचार गर्न धमामध सम्झौता गर्न थालेको छ ।


उपत्यका भित्र रहेका ठूला स्थानीय तह भित्र सबैभन्दा बढी संक्रमित रहँदा पनि कोभिड रोकथाम तथा संक्रमितको उपचार गर्न स्थानीय तह सुस्ताएर संक्रमितको संख्या गन्दै बसिरहेको छ । काठमाडौँ महानगरपालिकामा संघीय राजधानी भएकाले यहाँ बसोबास गर्ने मानिसको संख्या बढी हुनु स्वभाविक हो । महामारीमा स्थानीय तह सुस्ताएका छन् ।

मुलुकभर पहिलो चरणको कोभिड लहर फैलिदा उपत्यकाका ठूला स्थानीय तहका नगर प्रमुखलाई संक्रमण भएपछि मँहगा निजी अस्पताल र स्टार होटलको आइसोलेसनमा बसेका थिए । त्यसबेला उनीहरूको 'बिल' ले सयौं जनालाई उपचार गर्न सकिन्थ्यो भनेर सर्वत्र विरोध पनि भएको थियो ।

ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन स्टार अस्पताल र काठमाडौँ महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्य सोल्टी होटलको कोठालाई आइसोलेसन बनाइ बसेका थिए । आफू संक्रमित हुँदा होटलको आइसोलेसनमा बस्‍ने  नगरप्रमुखहरूले अहिलेसम्म स्थानीयको उपचार गर्न अस्पतालसँग सम्झौतासम्म गर्न चासो दिएका छैनन् । न उनीहरूले आइसोलेसन बनाएका छन्, न त क्‍वारेन्टिन नै । 

स्थानीय तहले २५ बेड भएका अस्पतालसँग सम्झौता गर्न पाउने व्यवस्थासहित स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्देशिका बनाइसकेको छ । तर, उपत्यकाका कुनै पनि स्थानीय तहले अस्पतालसँग सम्झौता गरेका छैनन् ।

स्थानीय तह, प्रदेश सरकारसँग र प्रदेश सरकार संघीय सरकारसँग भर पर्दा संक्रमितले अस्पतालमा बेड नपाइ ज्यान गुमाउने अवस्था आइसक्दा पनि उपत्यकाका स्थानीय सरकार जाग्‍न सकेको छैनन् । आखिर देशको सबैभन्दा पुरानो र संघीय राजधानी भएको महानगरपालिकाले सुविधा सम्पन्‍न आइसोलेसन बनाउन नसकेकै हो त ? काठमाडौँ महानगरपालिका विभिन्‍न अस्पतालमा उपचार गराउनेहरू १ सय ५८ छन् । यो समाचार तयार पार्दासम्म होम आइसोलेसनमा बस्‍नेको संख्या करिब २५ सय छ ।

इकागजले उपत्यकाको नगरपालिकाहरूलाई प्रतिनधि गर्ने संस्था नगरपालिका फोरम र काठमाडौँ महानगरपालिकालाई संक्रमितले सुविधा सम्पन्‍न आइसोलेसन र अस्पताल कहिले पाउँछन भनी प्रश्‍न गरेको छ ।

'आइसोलेसन बनाउन स्थान खोजिरहेका छौ'

आइसोलेसन बनाउन विभिन्‍न स्थानको खोजी भइरहेको काठमाडौँ महानगरपालिकाका स्वास्थ्य महाशाखाका प्रमुख हरि कुँवरले बताए । 'कहाँ, कुन स्थानमा र कति बेड संख्याको आइसोलेसन बनाउने भनेर छलफल भइरहेको छ,' उनले भने। कुँवरले जिल्लाका विभिन्‍न अस्पतालसँग संक्रमितको उपचारका लागि सम्झौता गर्ने तयारी गरिरहेको बताए । वीर, त्रिवि शिक्षण र प्रहरी अस्पतालमा संक्रमितलाई उपचार कसरी गर्न सकिन्छ भनेर छलफल गरिरहेको उनले बताए ।

'सामाखुसीस्थित राधे-राधेको सत्संग भवनलाई सय बेडको आइसोलेसन निर्माण गर्ने तयारी भइरहेको छ,' कुँवरले भने,' आवश्यकता अनुसार उपत्यकाका खाली ठूला भवनलाई प्रयोगमा ल्याउने छौं ।'

स्वास्थ्य मन्त्रालयले १५ देखि २५ बेड भएका निजी अस्पतालसँग सम्झौता गर्न भने पनि महानगरले त्यो अनुसार काम गर्न नसक्ने उनको भनाइ छ । महानगर जस्तो ठूलो बसाेबास भएका ठाउँलाई २५ बेड भएका अस्पतालले केही नहुने उनको तर्क छ ।

संघीय सरकारले बेवास्ता गरेपछि हामी आफै जाग्यौं 

सरकारले कोभिड रोकथाम तथा नियन्त्रणका लागि सिसिएमसी बनाएको थियो। सिसिएमसीको हरेक बैठकमा उपत्यकाका सबै स्थानीय तहका प्रमुखहरू सहभागी हुन्थे । पछिल्लो समय स्थानीय तहका प्रमुखहरूले दिएको सुझाव सिसिएमसीमा कार्यान्वयन हुन छाडेपछि उनीहरू सहभागी हुन भएका छैनन् ।

सिसिएमसीले प्रभावकारी निर्णय गर्न नसक्दा उपत्यकामा संक्रमण तीव्र रुपमा फैलिएको उपत्यका नगरपालिका फोरमका सचिव मध्यपुर थिमि नगरपालिका प्रमुख मदनसुन्दर श्रेष्ठले बताए । 'बाहिरबाट आउने मानिसलाई प्रवेशमा रोक लगाउन र समयमा उपचार केन्द्र निर्माण गर्न हामीले गरेको आग्रह संघीय सरकारले बेवास्ता गरेको थियो,' उनले भने ।

तीनै जिल्लाका प्रत्येक नगरपालिकाले आइसोलेसन कक्ष निर्माण गरिसकेको श्रेष्ठले जानकारी दिए । उनका अनुसार मध्यपुर थिमि नगरपालिकाले आइसीयूसहितको ७० बेड बनाइसकेको छ ।

स्वास्थ्य मन्त्रालयले काम गर्न नसकेपछि स्थानीय तहलाई अन्तिममा उपचार गर भनेर जिम्मा लगाएको श्रेष्ठको आरोप छ । सरकारको मुख ताक्नुभन्दा अघि नै उपत्यका नगरपालिका फोरमले  ७० देखि सय बेडसम्मको आइसोलेसन बनाइसकेको उनले जानकारी दिए ।

श्रेष्ठका अनुसार काठमाडौं महानगरपालिकाले कान्ति बाल अस्पताल र गंगालाल हृदय रोग केन्द्रमा अक्सिजन प्लान्ट बनाइसकेको छ। ललितपुर महानगरले पाटन अस्पतालमा अक्सिजन प्लान्ट निर्माण गर्न सहयोग गरिसकेको छ । कागेश्‍वरीले ५० बेड, चाँगुनारायण, भक्तपुर र बुढानिलकण्ठ नगरपालिकाले ५० भन्दा बढी बेडको आइसोलेसन बनाइसकेको उनले जानकारी दिए ।


Author

अतिन आचार्य

वैदेशिक रोजगार, जन-स्वास्थ्य र सामाजिक मामलामा कलम चलाउँने आचार्य संवाददाता हुन् ।


थप समाचार
x