समाज

'सजिलो काम गर्न जन्मेको होइन, म अप्ठ्यारो र असम्भव लाग्ने काम गर्न जन्मेको हुँ'

इकागज |
फागुन ७, २०७९ आइतबार २१:२ बजे

फाइल तस्बिर

काठमाडौँ- प्रदेश १ मा १ सय ३७ वटा स्थानीय तह छन् । एक महानगरपालिका, दुई उपमहानगरपालिकासहित १ सय ३७ वटा स्थानीय तह छन् । अहिले दुई उपमहानगर मध्ये एक उपमहानगर सबैभन्दा चर्चित बनेको छ ।

सबैभन्दा बढी चर्चित स्थानीय तह मध्ये धरान उपमहानगरपालिकालाई लिइन्छ । धरान यस अर्थमा पनि जहिले चर्चाको केन्द्रमा छ । किनभने धरानलाई पछिल्लो समय श्रमको केन्द्र विन्दु रहेको उपमहानगर भनेर चिनाउन मेयर हर्क साम्पाङ राई सफल भएका छन् ।  


यतिखेर धरान मेयर हर्क साम्पाङ राईको कारणले पनि चर्चामा छ । सामाजिक सञ्जालमा कहिले विवादित स्टाटस लेखेर होस या श्रमका कुरा गरेर पनि चर्चामा आइरहन्छन् ।

मेयर राई कहिले ढुंगा फोडेर चर्चामा आउँछन् । कहिले त सडक बढारेर पनि उनी सामाजिक सञ्जालमा छाइरहन्छन् । समय-समयमा गीत गाएर चर्चामा दर्शक र आफ्ना समर्थकलाई तानिरहन्छन् ।

उनले निर्वाचित भएपछि श्रमदान गरेर भए पनि धरानका केही वडामा खानेपानी पुर्‍याए । निर्वाचन प्रचारप्रसारको क्रममा उनको पहिलो एजेण्डा थियो, 'धरानवासीलाई जसरी पनि पानी खुवाउने । केही नभए चतराको कोशीबाट भए पनि पानी ल्याउने ।'

कार्यभार सम्हालेको केही समयमा मेयर खानेपानीको मुहानमा पुगेका थिए । केही दिनपछि खानेपानीको पाइप बोकेर मुहानमा मेयर आफैँ पुगे भनेर समाचारका हेडलाइन बने र सामाजिक सञ्जाल पनि रंगियो ।

नगरवासीलाई निरन्तर खानेपानी खुवाउन पाइप बोक्दै डाँडाकाँडातर्फ लागिरहे । केही समयपछि श्रमदान गरेर नगरवासीका घरमा खानेपानी पनि पुर्‍याए । सधैंभरी श्रमदानका कुरा गरिरहने मेयर सुख्खायाम लागेसँगै पानीको मुहान खोज्न लागेका छन् ।

मेयर साम्पाङ धरान नगरलाई छोड्दै पानीको मुहान खोज्दै उचाइतिर पुगेका छन् । उनी पानीको मुहान र उचाइ खोज्दै कोकाहाको शिरमा पुगे । उनले फेसबुकमा लेखेका छन्, 'इलेभेसन जाँच गर्दैछु । नत्र भिरै भिर १५-१६ किलोमिटर पाइप जोड्ने हो ।'

पानीको खोजीमा रहेका मेयर अप्ठ्यारा र चुनौतीका कुरा पनि सुन्छन् । काम गर्न सजिलो हुन्न । सजिलो काममा सधैं चुनौती हुन्छन् । चुनौतीलाई स्वीकार्नुपर्ने धारणा राख्छन् ।

स्थानीयले मेयर साम्पाङलाई बताउँछन्, 'अप्ठयारो, असम्भव छ ।'  उनी स्थानीयलाई लक्षित गर्दै सजिलो काम गर्न नजन्मेको दाबी गर्छन् ।

उनले भनेका छन्, 'म सजिलो काम गर्न जन्मेको मानिस होइन । अप्ठ्यारो र असम्भव जस्तो लाग्ने काम गर्न जन्मेको हो । त्यसैमा म चाहि खुसी भए ।'

 

 


Author

थप समाचार
x