समाज

कर्णालीमा महिला तथा बालबालिकामाथि हुने हिंसामा वृद्धि

इकागज |
फागुन ८, २०७९ सोमबार १२:४६ बजे

सुर्खेत - कर्णालीमा महिला र बालबालिकामाथि हुने हिंसाका घटनाहरू बढेको पाइएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को प्रतिवेदनअनुसार गएको वर्ष भन्दा यस वर्ष महिला र बालबालिकामाथि हुने हिंसाका घटनाहरू बढेका हुन् । प्रतिवेदनअनुसार प्रदेशभर  सन् २०२२ मा एक सय २१ जना महिला तथा बालबालिका पीडित भएका थिए भने सन् २०२१ म एक सय १५ जना पीडित भएको अभिलेख छ ।

सन् २०२२ मा बलात्कारका घटनामा ८८ जना, बलात्कार प्रयासका घटनामा ११, यौन दुर्व्यवहारका घटनामा २२ जनागरी एक सय २१ जना महिला तथा बालिका पीडित भएका छन् । 


इन्सेक कर्णाली प्रदेशका संयोजक नारायण सुवेदीका अनुसार परिवारजनबाट महिलामाथि हुने घरेलु हिंसाका उजुरी हरेक वर्ष बढ्ने गरेको छ । परिवारबाट महिलामाथि हुने घटनालाई गाउँसमाजमै मिलाइने गरेको उनले बताए । सुवेदीले भने, ‘धेरै घटनामा महिलाकै दोष देखाएर आरोपितलाई उन्मुक्ति दिने गरिएको छ । महिलामाथि हुने हिंसालाई परम्परागत रूपमा लिने गरिएको पाइयो ।’

 इन्सेकको प्रतिवेदनअनुसार सन् २०२२ मा कर्णाली प्रदेशभर झण्डै पाँच सय माधवअधिकार उल्लंघनका घटना भएका छन् । यस वर्षभरी मानव अधिकार उल्लंघन तथा ज्यादतीका चार सय ९६ वटा घटना भएका छन् । जसमध्ये मानव अधिकार उल्लंघनका घटनामा चार महिला र २९ जना पुरुषगरी ३३ जना तथा ज्यादतीका तीन सय २८ महिला र एक सय ३५ पुरुष गरी चार सय ६३ जना पीडित भएका छन् ।

त्यसैगरी सन् २०२१ मा प्रदेशमा मानव अधिकार उल्लंघनका घटनामा चार सय ३० जना पीडित भएका थिए । त्यसमध्ये मानव अधिकार उल्लंघनका घटनामा चार महिला ३० पुरुष गरी ३४ जना तथा ज्यादतीका घटनामा तीन सय २० महिला र ७६ जना पुरुष गरी तीन सय ९३ जना पीडित भएका थिए । यो वर्ष कर्णालीमा राज्य पक्षबाट भएका कुटपिट घटनामा १५ जना, गिरफ्तारीका घटनामा एकजना, अमानवीय व्यवहारको घटनामा एकजना, संगठित भेलामा १५ जना पीडित भएका थिए भने एक जनाको थुनामा मृत्यु भएको थियो । प्रदेशभर यो वर्ष १६ जनाको हत्या भएको पाइएको छ । अन्य पक्षबाट १३ जना महिला र तीन जना पुरुषको हत्या भएको अभिलेख इन्सेकले सार्वजनिक गरेको छ । गत वर्ष राज्य पक्षबाट एक जना पुरुष र अन्य पक्षबाट २० जनासहित ३४ जनाको हत्या भएको थियो ।

यसैगरी सन् २०२२ मा बालअधिकारका घटनामा ७७ जना बालिका र तीन जना बालक गरी ८० जना पीडित भएका छन् । भएका बालअधिकारका घटनामा बालविवाह १२, बेचबिखन तथा ओसार–पसारबाट तीन जना, विद्यालयमा शारीरिक दण्ड सजायबाट एक जना, बलात्कार घटनामा ४९ जना, यौन दुर्व्यवहारका घटनामा ८३ जना बालिका र एक जना बालकगरी ८४ जना पीडित भएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

यस्तै कारागारभित्र क्षमताभन्दा कैदी राखिनुले पनि माधव अधिकारको उल्लंघन भएको प्रदेश संयोजक सुवेदीले जनाए ।  सुर्खेत कारागारमा क्षमताभन्दा बढी कैदी बन्दी राखिएका कारण कारागारमा पालो लगाएर सुत्नुपर्ने बाध्यता छ । कर्णाली प्रदेशमा रहेको जिल्ला कारागारको क्षमता ६ सय २५ रहेकोमा २०२२ को अन्त्यमा नौ सय ६६ जना कैदी कारागारमा रहेको इन्सेकको अभिलेखमा उल्लेख गरिएको छ ।


Author

थप समाचार
x