बालसुधार गृह नहुँदा कारागारमा बस्छन् बालबालिका
सुर्खेत- कर्णाली प्रदेशमा बालगृह नहुँदा बालबालिका कारागारमा बस्न बाध्य भएका छन् ।
कर्णालीभरका विभिन्न कारागारमा १० जना बालबालिका कसूर प्रमाणित भइ सजाय भोगिरहेका आमाबुबासँग जेल बस्न बाध्य भएका छन् । कर्णाली प्रदेशको राजधानीसमेत रहेको सुर्खेत कारागारमा आमासँगै पाँच जना बालबालिका आश्रित रहेका छन् । त्यस्तै, कालीकोटमा एक, दैलखमा दुई र सल्यानमा दुई जना बालबालिका कारागारमा आश्रित छन् ।
विभिन्न मुद्दामा कसूर प्रमाणित भई सजाय भोगिरहेका आमाबाबुसँगै बालबालिकालाई राख्ने बालगृह नहुँदा कर्णाली प्रदेशका बालबालिकालाई नेपालगन्ज, भक्तपुर, पोखरा र धरान पनि पठाउने गरिएको छ । बाल सुधारगृह नहुँदा परिवारलाई मात्रै नभई प्रहरीलाई समेत समस्या हुने गरेको प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवम् प्रहरी वरिष्ठ उपरीक्षक माधवप्रसाद श्रेष्ठ बताउँछन्
‘नाबालकलाई बालगृहमा राख्नु पर्ने हुन्छ,’ श्रेष्ठले भने, ‘तर हामी कहाँ बालगृह नहुँदा प्रदेश बाहिर लिनु पर्ने बाध्य भएका छौँ ।’
कर्णालीमा संघ, प्रदेश र स्थानीय तहले बाल सुधारगृह स्थापना गर्न प्राथमिकतामा राखेको छैन । बाल सुधारगृह स्थापनाका लागि कुनै पहल नभएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ ।
प्रदेश स्तरीय बाल सुधारगृह स्थापना गर्नुपर्ने भए पनि प्रदेश सरकारले वार्षिक कार्यक्रममा नल्याएको मन्त्रालयका उपसचिव निधिराज न्यौपानेले जानकारी दिए । आमाबाबु वा संरक्षकविहीन, बेवारिसे, असहाय, अनाथ, आपराधिक क्रियाकलापमा संलग्न बालबालिकाहरूलाई आश्रय र खानपिन, सुरक्षा, पालनपोषण तथा शिक्षा प्रदान गर्न बालबालिका सम्बन्धी ऐनमा विशेष संरक्षणको आवश्यकता भएका बालबालिकाको लागि प्रदेश सरकार वा स्थानीय तहले आवश्यकता अनुसार बालगृहको स्थापना, सञ्चालन र व्यवस्थापन गर्न पाउने व्यवस्था रहेको भएतापनि तीनै तहका सरकारहरू चासो भने देखाएका छैनन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया