समाज

पर्सा आरक्षबाट भागेको हात्तीले लियो मकवानपुरमा दुई जनाको ज्यान

इकागज |
फागुन १२, २०७९ शुक्रबार ९:५३ बजे

फाइल तस्बिर

मकवानपुर - पर्सा वन्यजन्तु आरक्षबाट भागेको हात्तीले मकवानपुरमा दुई जनाको ज्यान लिएको छ । एक जना घाइते छन् । हात्तीले दुई जनाको ज्यान लिएपछि स्थानीयमा त्रास मच्चिएको छ । 

मकवानपुरको बकैया गाउँपालिकामा जंगली हात्तीको आक्रमणबाट बकैया-५ पावसमा ५० वर्षीय सन्तलाल माझीको बिहीबार राति हात्तीको आक्रमणबाट मृत्यु भएको हो । साँझ गोठमा गएको समयमा हात्तीको आक्रमणमा परी गम्भीर घाइते भएका माझीलाई उपचारको लागि हेटौंडा अस्पताल ल्याउँदा डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।


सोही हात्तीकै आक्रमणबाट सोमबार जिल्लाको मनहरी गाउँपालिका-४ मा स्थानीय ६४ वर्षीया राधा अधिकारीको मृत्यु भएको थियो ।  बुधबार हेटौंडा १८ हर्नामाडि मानेडाँडाका ३० वर्षीय देव वाईबा घाइते भएका छन् । वाईबाको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ । उनको दुवै खुट्टा र ढाडमा चोट लागेको छ ।

पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रको जंगली हात्ती मनहरी, हेटौंडा हुँदै अहिले बकैया-७ को कत्लेखोलामा पुगेको स्थानीयले जानकारी दिएका छन् । निकुञ्जले हात्ती नियन्त्रणमा लिन सकेको छैन्  । 

पछिल्लो समय मकवानपुर जिल्लामा जंगली जनावरको भयले सर्वसाधारणलाई हैरानीमा पारेको छ । बाघ र हात्तीको आक्रमणमा ज्यान जानेसम्मका घटना हुन थलेपनि यसको नियन्त्रणमा सम्बन्धित निकायले चासो दिएको छैन ।

हेटौंडा १८ हर्नामाडी मै दुई साताअघि बाघको आक्रमणबाट एक महिला घाइते भएकी थिइन्। हात्ती र बाघको आक्रमण हुनथालेपछि सव डिभिजन वन कार्यालय, हात्तीसुडे मकवानपुरले सर्वसाधारणलाई सचेत रहन आग्रह गरेको छ ।


Author

थप समाचार
x