समाज

पोखरामा कृषि मेला हुँदै

इकागज |
फागुन १४, २०७९ आइतबार १२:४९ बजे

काठमाडौँ- पोखरा महानगरपालिका १३ मा कृषि सामग्री प्रदर्शनी मेला हुने भएको छ । ‘हाम्रो अभियान, स्थानीय उत्पादन प्रवर्द्धन’ सहितको नारासहित फागुन १७ गते कृषि सामग्री मेला प्रदर्शनी हुने भएको हो ।

कृषि संजाल र पोखरा महानगरपालिका कृषि शाखाको संयुक्त आयोजनामा वडा कार्यालय परिसरमा कृषि मेला हुने वडाअध्यक्ष किरण बरालले बताए । उनका अनुसार वडा परिसरमा बिहान १० देखि ३ बजेसम्म हुनेछ ।


‘कृषि मेलामा जैविक विविधता प्रदर्शनी हुने, रैथाने बाली परिकार र बाली उपचार शिविर सञ्चालन हुनेछ,’ उनले भने,’ कृषकलाई बालीमा स्थानीय उत्पादन कम्पोष्ट मल प्रयोग गर्न प्रोत्साहन गरिन्छ । बालीको उत्पादन बढाउन बजारमा पाइने रासायनिक मल घटाउन बढी जानकारी गराइन्छ ।‘

मेलामा १० वटा कृषि स्टल हुनेछ  । मेलाको सम्पूर्ण खर्च वडा कार्यालयले गर्ने उनले जानकारी दिए । अध्यक्ष बरालले भने,’ मेलामा ३ लाख खर्च गर्ने योजना रहेको छ ।‘

मेलाले किसानलाई उन्नत खालको प्रविधि प्रयोग गर्न जोड दिने उनको भनाइ छ । वडामा कृषि रोजगारको संख्या बढाउन सहयोग गर्ने उनले बताए ।

वडामा उत्पादित कृषि सामग्रीलाई बजारीकरण गर्न मेलाले थप सहयोग गर्ने उनले प्रस्ट पारे । स्थानीयलाई वडामा कस्ता-कस्ता सामग्री उत्पादन गर्न सकिन्छ त्यसबारेमा जानकारी दिने उनले बताए ।

 

 

 

 


Author

थप समाचार
x