समाज

उपत्यकामा ट्राफिक जाँचमा कडाइ

हर्षोल्लासपूर्वक होली मनाइँदै

इकागज |
फागुन २२, २०७९ सोमबार १०:४३ बजे

काठमाडौँ - नेपालीहरूको हर्षोल्लासको पर्व होली मनाउन सुरु भएको छ । आज बिहानैबाट काठमाडौं उपत्यकासहित देशभर होली मनाउन सुरु गरिएको हो । फागु पूर्णिमाका दिन मनाइने होली यस वर्ष पनि हर्षोल्लासका साथ मनाउन थालिएको हो । 

काठमाडौं वसन्तपुरमा होली मनाउनका लागि मानिसहरू उपस्थित हुन थालेका छन् । वसन्तपुरसहित टुँडिखेललगायतका स्थानमा होली मनाउन मानिसहरू उपस्थित हुन थालेका छन् । साथै वसन्तपुर दरबार क्षेत्रमा चीर ठड्याएर हप्ता दिनअघि सुरु गरिएको चीर पूजा गर्ने मानिसहररूको यतिबेला भीड छ । 


आज फागु पूर्णिमाको अवसरमा देशका पहाडी भूभागमा होली खेलेर मनाइँदैछ । आज पहाडी जिल्लामा र भोलि तराईका जिल्लामा होली खेलेर यो पर्व मनाउने परम्परा छ । 

असत्यमाथि सत्यको विजयको प्रतिक, पारिवारिक एवं सामाजिक एकताको पर्वका रूपमा पनि यो पर्व मनाउने प्रचलन छ । एक, अर्काबीचमा रङ दलेर होली पर्व मनाउने गरिन्छ । यतिबेला काठमाडौंका विभिन्न होली हर्षोल्लासमय समय छ । 

यसैबीच होली मनाउन सुरु भएसँगै काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीले चेकजाँचमा कडाइ गरेको छ । काठमाडौं उपत्यकामा आज बिहानैदेखि होली मनाउन सुरु भएकोमा होलीलाई व्यवस्थित बनाउन प्रहरीले चेकजाँचमा कडाइ गरेको हो । 

होली पर्वको अवसरमा मानिसहरू उश्रृंखल गतिविधि गर्ने, लोला हान्ने, मादक पदार्थ पिएर सवारीसाधन चलाउने गतिविधिहरू हुने भएकाले प्रहरीले चेकजाँचमा कडाइ गरेको हो । 

काठमाडौं उपत्यकाका थापाथली, त्रिपुरेश्वर, न्युरोड, कान्तीपथ, दरबार मार्ग, भद्रकाली र बग्गीखानालगायतका स्थानमा प्रहरीले चेकजाँच गरिरहेको छ । नेपाल प्रहरीले होलीलाई सुव्यवस्थित बनाउन सबैले शतर्कताका साथ होली खेल्न आग्रह गरेको छ । साथै प्रहरीले सम्भावित दुर्घटना हुन नदिन घरको छत लगायत जोखिमपूर्ण स्थानमा बसेर होली नखेल्न आग्रह गरेको छ । 


Author

थप समाचार
x