समाज

होल्डिङ/आइसोलेसन सेन्टर बनाउन जग्गा उपलब्ध नहुँदा सेना अन्यौलमा

'स्वास्थ्य मन्त्रालयबाट आइसोलेसन सेन्टरको डिजाइन पास भएन'

अतिन आचार्य |
बैशाख २४, २०७८ शुक्रबार ६:३२ बजे

काठमाडौँ : सरकारले जग्गा उपलब्ध गराउन नसक्दा नेपाली सेनाले एक हजार बेडसहितको आइसोलेसन बनाउने काम अन्यौलमा परेको छ । भारतबाट आएका नेपाली नागरिक राख्‍न नेपाली सेनालाई आइसोलेसन बनाउन जिम्मा दिने १३ गते मन्त्रिपरिषदको बैठकले निर्णय गरेको थियो ।

भारतमा संक्रमितको संख्या बढिरहेको समयमा उताबाट भित्रिएका नागरिकलाई राख्‍न तथा उपचार गर्न केही दिनअघि प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रको नाममा गरेको सम्बोधनमा नेपाली सेनालाई मुलुकभरको नेपाल-भारत सिमाना आइसोलेसन बनाउन निर्देशन दिएका थिए ।


सीमाको कुन-कुन क्षेत्रमा आइसोलेसन निर्माण गर्ने त्यसका लागि सरकारले जग्गा उपलब्ध नगराएको नेपाली सेनाका प्रवक्ता एवं सहायक रथी सन्तोषबल्लभ पौड्यालले बताए । भारतबाट आएकालाई होल्डिङ सेन्टर बनाउँदा थोरै समय राखिने भएकाले त्यसको कुनै उपयोग नहुने उनको भनाइ छ ।

परीक्षण गरिन्छ कोराना देखिएमा आइसोलेसनमा राखिने धेरै समय राख्‍नुपर्ने भएकाले ठूलो र व्यवस्थित भवन बनाउन सल्लाह भइरहेको उनले बताए । 'आइसोलेसन र अस्थायी अस्पताल कस्तो बनाउने भनेर स्वास्थ्य मन्त्रालयसँग छलफल भइरहेको तर निचोडमा पुगिसकेका छैनौ ,' पौड्यालले भने ।

डिजाइन तयार भएपछि अर्थ मन्त्रालयसँग कति बजेट लाग्ने हो त्यहीँ अनुसार बजेट माग गरिने उनले बताए । डिजाइन तयार भइसकेपछि बजेट समयमा निकास भएमा मात्र समयमा सरकारको निर्देशन अनुसार आइसोलेसन सेन्टर बनाइने उनले जानकारी दिए ।

'स्वास्थ्य मन्त्रालय, अर्थ मन्त्रायसँग समन्वय भइसकेपछि गृह मन्त्रालयसँग जग्गा माग गरिन्छ,' प्रवक्ता पौड्याल भन्छन,' सबै पूर्वाधार निर्माण भए पनि जनशक्तिको व्यवस्थापन गर्न सकिदैन ।'

'जनशक्ति अभाव हुने'

धेरै संख्याको बेड क्षमता हुने भएकाले निर्माण गर्न समस्या हुने उनले इकागजलाई बताए। भौतिक रूपमा ठूलो भवन निर्माण गर्नुपर्ने भएकाले समयमा बनाउन नसकिने पौड्यालको भनाइ छ । कस्तो प्रकारको भवन बनाउने त्यस विषयमा स्वास्थ्य मन्त्रालयसँग निरन्तर छलफलमा रहेको उनले जानकारी दिए ।

होल्डिङ सेन्टर, आइसोलेसन वा अस्थायी अस्पताल बनाउने त्यस विषयमा छलफल भइरहेको पौड्यालले बताए । ठूलो भवन बनाउँदा त्यसलाई बहुपयोगी भवन बनाउन सकिनेतिर ध्यान दिएको उनले प्रस्ट पारे । अक्सिजन थेरापीसहितको भवन वा अन्य सामान्य अस्पताल बनाउने त्यस विषयमा मन्त्रालयले निर्णय नगर्दा अल्झिनु परिरहेको उनले बताए ।

कहाँ-कहाँ बन्दैछ होल्डिङ सेन्टर:

गड्डचौकी, गौरीफन्टा, जमुनाह, कृष्णनगर, बेलहिया, विरगञ्‍ज, रानी (विराटनगर) र काँकडभिट्टा

'मन्त्रालयमा डिजाइन ल्याएर छोडिएको छ'

सीमा क्षेत्रमा होल्डिङ/आइसोलेसन सेन्टर बनाउने काम नेपाली सेनाको जिम्मा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह-प्रवक्ता डा. समीर कुमार अधिकारी बताए । 'होल्डिङ सेन्टर बनाउने भनेर सेनाले डिजाइन ल्याएर छोडिदिएका छन,' उनले भने,'  मन्त्रालयको तर्फबाट गर्नुपर्ने काम गरिन्छ ।'

होल्डिङ सेन्टर बनाउनका लागि स्वास्थ्य मन्त्रालयले समन्वय सेनालाई सहयोग गर्ने डा. अधिकारीले बताए । उनले सेनाले गर्नुपर्ने सबै कम गरेमा मन्त्रालयले सहयोग गर्ने प्रतिबद्धता जाहेर गरे ।

'जग्गा खोजीमा जिल्ला प्रशासनले सहयोग गर्छ'

होल्डिङ सेन्टर बनाउन सेनालाई आठ ठाउँमा जिम्मा दिइसकेकाले सम्बन्धित जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरी काम अघि बढाउनलाई निर्देशन दिएको गृह मन्त्रालयका उपसचिव खुमकान्त आचार्यले जानकारी दिए ।

'होल्डिङ सेन्टर बनाउने जिल्ला प्रशासन कार्यालयका प्रमुखसँग समन्वय गरी जग्गा खोजी भइरहेको छ,' आचार्यले भने,'  जिल्लाका स्थानीय तहसँग सहकार्य गरी सेना र मन्त्रालय मातहतका कर्मचारीले जग्गा खोजी भइरहेको छ ।'

आचार्यले झापा लगायत अन्य जिल्लामा जग्गा खोजी कार्य सुरु भइसकेको बताए । यसअघि निर्माण गरिएका होल्डिङ सेन्टरमा भारतबाट आएकालाई राखिएको र परीक्षण गरी संक्रमित व्यक्तिकै स्थानीय तहसँग समन्वय गरी पठाउने काम भइरहेको उनले बताए ।


Author

अतिन आचार्य

वैदेशिक रोजगार, जन-स्वास्थ्य र सामाजिक मामलामा कलम चलाउँने आचार्य संवाददाता हुन् ।


थप समाचार
x