समाज

'कोग्ले' लेखक प्रेम बोहरामाथि डोल्पामा आक्रमण

उपचारका लागि काठमाडौँमा

इकागज |
बैशाख २४, २०७८ शुक्रवार १२:४३ बजे

काठमाडौँ : हालै प्रकाशित 'कोग्ले' पूस्तकका लेखक प्रेम बोहरामाथि डोल्पामा आक्रमण भएको छ । डोल्पाका विभिन्न ठाउँमा युवा सचेतना, भ्रष्टाचारविरुद्धको अभियान चलाइरहेका बोहरामाथि मंगलबार आक्रमण भएको हो । 

वडाध्यक्ष कर्णबहादुर रोकायाका आफन्तले बोहरामाथि आक्रमण गरेका हुन् । आक्रमणबाट बोहराको टाउकोमा चोट लागेको छ । उनी उपचारका लागि काठमाडौँ आएका छन् । काठमाडौँको ह्याम्स अस्पतालमा उनको टाउकोको सिटी स्क्यान गरिएको छ ।


डाक्टरले भित्र गहिरो चोट नलागेको बताएका छन् । घाउमा टाका लगाइएको छ । आफ्नो ज्यान लिने उद्धेश्यले वडाध्यक्ष रोकायाका आफन्तले आक्रमण गरेका बोहराले बताएका छन् । 

'डोल्पा फर्किएपछि भ्रष्टाचारविरुद्ध अभियान चलाइरहेको थिए । स्थानीय रोलाघाट लघु जलविद्युत आयोजना मर्मत गर्ने काम स्थानीयको श्रमदानबाट गर्नुपर्छ भन्दै आवाज उठाउँदा ज्यान लिने उद्धेश्यले ममाथि आक्रमण गरिएको हो । आक्रमण पश्चात उजुरी दर्ता गर्न जाँदा प्रहरीले उजुरी लिन मानेको छैन्' उनले इकागजसँगको कुराकानीमा भने ।

स्थानीयले जलविद्युतको काम स्थानीय श्रमदानबाट गरेर आपसी सहमतिमा पारिश्रमिक लिने गरी उपभोक्ता समिति गठन गरेका थिए । तर वडाध्यक्ष रोकायाले गाउँलेको सहभागितामा भएको निर्णय लत्याएर  ४० लाखमा अर्को व्यक्तिलाई एकलौटी ठेक्का दिएपछि विवाद सुरु भएको हो । आयोजनाको मर्मतका लागि ६५ लाख बजेट आएको थियो । 

विवादका क्रममा वडाध्यक्षका आफन्त र उनले परिचालन गरेका युवाहरुले आफूमाथि कुटपिट गरेका बोहराले बताए । झण्डै एक हप्तासम्म पनि प्रहरीमा उजुरी लिन नमानेको बोहराको आरोप छ । वडाध्यक्षले मान्छे लगाएर आक्रमण गर्न लगाएको लिखित उजुरी दिएपनि प्रहरीले दर्ता नगरेको उनको भनाइ छ ।

जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी निरीक्षक हरिराम डाँगीले बोहराका आफन्त उजुरी दर्ता गर्न आएको र घटनाका विषयमा सोधपुछ गर्ने काम भइरहेको जानकारी दिए । उनका अनुसार राजनीतिक घटनाक्रम भए उजुरी दर्ता नहुने र प्रहरीले आन्तरिक छानबिन गरेपछि उजुरी दर्ता गरेर कारबाही प्रक्रिया अगाडि बढाउने योजना रहेको प्रहरी निरीक्षक डाँगीले बताए । 


 


Author

थप समाचार
x