समाज

संक्रमितकाे शव बढेपछि छिटो मर्मत गर्नुपर्ने अवस्थामा विद्युतीय शवदाह यन्त्र

इकागज |
बैशाख २४, २०७८ शुक्रबार १६:६ बजे

फाइल फाेटाे

काठमाडाैँ : पशुपति क्षेत्रस्थित विद्युतीय शवदाह गृह निरन्तर चलाउनुपर्दा छिटो तातेर मर्मतसम्भार गरिरहनुपर्ने भएको छ । कोरोना सङ्क्रमण भई मृत्यु भएकालाई नेपाली सेनाको सुरक्षामा विद्युतीय शवदाह गृहमै जलाइने गरिएको छ । विद्युतीय शवदाह गृहमा हाल कोरोनाबाट मृत्यु भएका बाहेकको शवदाह गरिँदैन ।

दैनिक कोरोनाबाट मृत्यु भएका ३० भन्दा बढी शव आउन थालेपछि यन्त्र चलिरहँदा तातेका कारण मर्मत गरिरहनु परेको पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा प्रदीप ढकालले  जानकारी  दिए । कोरोनाबाट प्रभावित भई दैनिक मर्नेको सङ्ख्या बढेपछि पशुपति क्षेत्रमा पनि शवदाह गराउन ल्याउने क्रम बढेको हो । केही दिनअघि विद्युतीय शवदाहको एक नं यन्त्र मर्मत गरिएको थियो ।


धेरै तातेका कारण आज विद्युतीय शवदाहको दुई नं यन्त्र पनि मर्मत गर्न लागिएको उनले बताए । तीन दिनमा मर्मत सकिने जनाइएको छ । सामान्य अवस्थामा विद्युतीय शवदाह गृह तीन महिनामा मर्मत गरे हुने गरेकामा कोरोनाबाट मृत्यु भएका शव धेरै आएर छिटो मर्मत गर्नुपरेको हो । काठमाडौँ महानगरपालिकाको सहयोगमा दुई यन्त्र राख्न बस्तीले रोक्यो । महानगरपालिकाले दुई विद्युतीय शवदाह यन्त्र राख्न रु १५ करोड आर्थिक सहयोग गर्ने सम्झौता गत वर्ष भएको थियो ।

हाल शवदाह गृह रहेको पारिपट्टि तिलगङ्गा क्षेत्रमा निर्माण गर्न लागिएको अर्को विद्युतीय शवदाह गृह बस्ती हटाउन नसकिएका कारण काम अघि बढ्न नसकेको सदस्यसचिव ढकालले बताउनुभयो । अधिग्रहणमा परेको सो बस्ती हटाउन मुआब्जा वितरण भइसकेको छ । यहाँबाट बस्ती हटाएकालाई गोठाटारमा रहेको कोषको जग्गामा जग्गा एकीकरण (ल्यान्ड पुलिङ) गरी बस्ती बसाउने कार्यक्रम छ ।

भवनसहित विद्युतीय शवदाह गृहसहित दुई नयाँ यन्त्र राख्न बोलपत्र आब्हान भइसकेर पनि स्थान खाली नभएकै कारण रोकिएको छ । थप दुई यन्त्रसहित नयाँ विद्युतीय शवदाह गृह समयमै बनाउन सकिएको भए महामारीको यो घडीमा शवदाह गर्न समस्या नपर्ने कोषका कोषाध्यक्ष डा मिलनकुमार थापाले बताए । रासस


Author

थप समाचार
x