समाज

डिजे पार्टी गरिरहेको दुलाहासहितका युवाद्वारा प्रहरीमाथि हातपात, तीन जना पक्राउ

इकागज |
बैशाख २४, २०७८ शुक्रबार १९:३६ बजे

जनकपुरधाम : सिरहाको कल्याणपुर नगरपालिकामा वैवाहिक कार्यक्रममा चर्को आवाजमा अश्लlल गीत बजाइ रहेको डिजे बाजा बन्द गराउन गएका प्रहरीमाथि हातपात गरिएको छ । ध्वनि प्रदुषणका कारण स्थानीय प्रशासनद्वारा डिजे बाजा प्रतिबन्ध लगाइए पनि कल्याणपुर नगरपालिका वडा नम्बर ११ मा अबेर राति समयमा एक वैवाहिक कार्यक्रममा चर्को आवाजमा अश्लिल गीतहरु बजाइ रहेका डिजे बाजा बन्द गराउन गएका प्रहरीमाथि हातपात गरिएको ईलाका प्रहरी कार्यालय कल्याणपुरले जनाएको छ ।

कोभिड भाइरस संक्रमणका कारण समेत वैवाहिक लगायतका कुनै पनि समाजिक कार्यक्रममा १५ जना भन्दा बढी सहभागी हुन नपाउने स्थानीय प्रशासनद्वारा आदेश जारी गरिए पनि त्यसको उल्लंघन गर्दै अबेर राति निकै भीडभाड गरी चर्को आवाजमा अश्लील गीत बजाइरहेको डिजे बाजा बन्द गराउन गएका दुई प्रहरीमाथि हातपात गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक शालिग्राम शर्माले बताएका छन ।


उनले भने 'बुधबार राति करीब ११ बजेतिर विवाहको मटकोर कार्यक्रममा निकै भीडभाड गरी अश्लील गीतहरु डिजे बाजामा बजाइरहेका थियो । अश्लील गीत नबजाउन र भीडभाड नगर्न सम्झाउन गएका इप्रका कल्याणपुरका इन्चार्ज प्रसनि सुरेन्द्र यादव र प्रहरी जवान भोगेन्द्र यादवमाथि वैवाहिक कार्यक्रममा सहभागी युवाहरुले हातपात गरे ।'

घटना बारे इप्रका कल्याणपुरका इन्चार्ज यादवले भने, 'एक वैवाहिक कार्यक्रममा चर्को आवाजमा अश्लील गीतहरु बजाउंदै निकै भीडभाड गरी नाचिरहेको देखेर गस्तीमा मसहित खटिएका प्रहरी टोलीले कोरोना संक्रमणको ख्याल गर्दै भीडभाड नगर्न र चर्को आवाजमा अश्लील गीतहरु नबजाउन सम्झाउन खोज्दा स्थानीय युवाहरुले हातपात नै गर्न थाले ।'

घटना पश्चात थप प्रहरी परिचालन गरी डिजे बाजा र बेहुलासहित हातपात गर्ने तीनजालाई नियन्त्रणमा लिइएको प्रवक्ता शर्माले बताए । उनले भने 'प्रहरीले बाजा र बेहुला सहित तीन जनालाई नियन्त्रणमा सोही राति नियन्त्रणमा लिइएका छौं ।'

थप्दै भने 'विवाहका लागि बेहुलालाई तारिखमा आज छोडिएको छ बाँकी दुई जना विरुद्ध अभद्र व्यवहारको मुद्दा चलाइएको छ ।' पक्राउ परेका व्यक्तिहरुलाई छुटाउन  स्थानीय नेताहरुले दबाब दिइरहे पनि प्रहरीमाथि नै हातपात भएको कारण तिनीहरुलाई छोड्न सक्ने अवस्था नरहेको प्रवक्ता शर्माकाे भनाइ छ । 


Author

थप समाचार
x