समाज

बैतडीमा तेब्बर कैदीबन्दीले कोभिड संक्रमणको जोखिम

इकागज |
बैशाख २५, २०७८ शनिवार ८:५५ बजे

फाइल फोटो

बैतडी : नयाँ भेरियन्टसहितको कोभिड सङ्क्रमणको दोस्रो लहर फैलिएका बेला जिल्ला कारागार बैतडीमा क्षमता भन्दा तेब्बर बढी कैदीबन्दी हुँदा समस्या भएको छ ।  जम्मा २५ जनाको क्षमता रहेको जिल्ला कारागारमा हाल ७१ कैदीबन्दी छन् । 

क्षमताभन्दा बढी कैदीबन्दी हुँदा कोभिड सङ्क्रमणको जोखिम बढेको कारागारका अनिल तिवारीले जानकारी दिए । कैदीबन्दी बढी हुँदा कोभिड सङ्क्रमणका साथै बसोबास र सुरक्षाको दृष्टिकोणले पनि चुनौती छ ।


उनले भने, “बस्ने ठाउँको अभावमा त्रिपाल राखेर कैदीबन्दीलाई राखिएको छ ।” कारागारमा अहिले ३८ कैदी र ३३ थुनुवा छन् । भित्र बस्ने ठाउँ नभएपछि कारागारको आँगनमा त्रिपाल राखेर कैदीबन्दीहरुको बसोबासको व्यवस्था मिलाइएको छ । 

उनले भने, “सङ्क्रमणको जोखिम बढ्दै गएको छ तर हालसम्म एकजनामा पनि सङ्क्रमण देखिएको छैन् ।” कैदी तथा थुनुवालाई भेटघाट गर्न दिँदा सङ्क्रमणको जोखिम हुने भएकोले भेटघाट बन्द गरिएको छ । २०४० सालमा निर्माण गरिएको कारागार भवन पुनःनिर्माण नहुँदा जीर्ण बन्दै गएको छ । रासस


Author

थप समाचार
x