झापामा ‘टेम्पो एम्बुलेन्स’ सेवा प्रारम्भ
झापा : झापाको विर्तामोड नगरपालिकाले निःशुल्क टेम्पो एम्बुलेन्स सेवा प्रारम्भ गरेको छ । कोरोना सङ्क्रमित र अन्य बिरामीहरुलाई टेम्पो एम्बुलेन्सले नगरका ठूला निजी अस्पतालहरुमा लैजान सहयोग गर्छन् ।
यसका लागि चार वटा टेम्पो जिल्ला टाफिक प्रहरी कार्यालय विर्तामोडमा तयारी अवस्थामा राखिएको छ । नगरपालिका क्षेत्रको कुनै पनि स्थानबाट बिरामीलाई नजिकको अस्पताल पुरयाउनु परेमा टेम्पो एम्बुलेन्सले तुरुन्त सेवा दिने नगरपालिकाका वरिष्ठ प्रशासकीय अधिकृत देवराज कार्कीले बताए । नगरपालिका क्षेत्रमा बीएन्डसी, विर्ता सिटी, मनमोहन सामुदायिक, कनकाई, कञ्चनजंघा र अञ्जलि हस्पिटल सञ्चालित छन् ।
घरघरै अक्सिजन पुरयाउँदै मेचीनगर
यसैबीच, मेचीनगर नगरपालिकाले होम आइसोलेसनमा कोरोना सङ्क्रमितलाई औषधि र अक्सिजन सिलिन्डर आवश्यकता अनुसार घरमै पुरयाउने व्यवस्था मिलाएको छ ।
वडा नं. ११ धाइजनमा ३० शय्याको आइसोलेसन वार्ड सञ्चालनमा ल्याइएको र होम आइसोलेसनमा रहेका सङ्क्रमितलाई चिकित्सक टोलीले घरै पुगेर स्वास्थ्य सेवा प्रदान गरिरहेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज ओझाले बताए ।
“होम आइसोलेसनमा कुनै असुविधा भोग्नु पर्नेछैन”, ओझाले भने, “जुनसुकै समयमा हामी औषधि र सिलिन्डर बोकेर होम आइसोलेसनमा पुग्नेछौं ।” नगरपालिकाले सय वटा हाते अक्सिजन प्याक डिस्पोजेबल र ३० वटा अक्सिजन सिलिन्डरको व्यवस्था गरेको छ ।
नगरभित्रका एम्बुलेन्सका चालकहरुलाई पिपिइ, ग्लोब स्यानिटाइजर र मास्क उपलब्ध गराएर कोरोना सङ्क्रमितका लागि निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराइएको उनले बताए । रासस
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया