समाज

भीमेश्वरको मुर्तिमा पसिना

इकागज |
बैशाख २५, २०७८ शनिबार १५:५८ बजे

तस्बिर : चिरन्जीवी मास्केको फेसबुकबाट

काठमाडौँ : दोलखास्थित भीमेश्वर मन्दिरको मूर्तिमा पसिना आएको छ । भीमेश्वरमा पसिना आएपछि मुलुकमा कुनै न कुनै अनिष्ट हुने जनविश्वास छ । २५ गते शनिवार झण्डै डेढ घण्टा पसिना आएको थियो । 

मूर्तिको दाँया पट्टीबाट पसिना आउँदा राष्ट्रप्रमुख, बाँया पट्टीबाट पसिना आउदा जनता र सबैतिर बाट पसिना आउदा मुलुकमा नै समस्या पर्ने भनाई छ । 
भीमेश्वर मन्दिरमा मध्यान्न पुजा भइरहेको थियो । साढे १२ बजे भीमेश्वरको मूर्तिमा पसिना आएको हो । पसिना पौने दुई सम्म आइरहेको भीमेश्वर गुठी तथा मन्दिर व्यवस्थापनले जनाएको छ । 


मुर्तिको दाँया र माथिल्लो भागमा एक थोपा पसिना आएको मन्दिरका पुजारी काशिनारायण श्रेष्ठले जनकारी दिएको व्यवस्थापनाले जनाएको छ । उक्त पसिना बढ्दै गएर मुर्तिको सबैतिर फैलिएको पनि बताइएको छ । कोभिडका कारण सर्वसाधारणको लागि मन्दिर बन्द गरिएको भएपनि दैनिक पुजा भने भै रहेको छ । दैनिक पाँच पूजा त्यहाँ हुन्छ । 

मन्दिरमा पसिना आएपछि कपासले पसिना पुछ्ने र चम्मरले हम्कनुको साथै ठूलो ठूलो आवाजमा घण्टा तथा नगरा बजाउने गरिन्छ । पहिलो पटक पसिना पुछेको कपास राष्ट्रप्रमुखकोमा पठाउने र राष्ट्र प्रमुखबाट क्षमा पुजा गर्ने प्रचलन छ । 

यो पटक भने कोभिडका कारण प्रमुख जिल्ला अधिकारी मार्फत कपास राष्ट्रपति कहाँ पठाउने र उपयुक्त समयमा क्षमा पुजा गरीने तयारी छ । पछिल्लोपटक २०७० मंसिरमा र फागुन १३ गते, २०७४ असोज १०  र २०७६ फागुन ८ गते पनि भीमेश्वरको मूर्तिमा पसिना आएको थियो । 

यस अघि २०७७ साल मंसिर ९ गते पनि भीमेश्वरको सिलामा पसिना आएको थियो । त्यसैगरी भीमेश्वरको सिलालाई १९९० सालमा पसिना आउँदा महाभूकम्प गएको, १९९७ सालमा पसिना आउँदा राणा सरकारले चार जनालाई फाँसी दिएको, २००७ सालमा पसिना आउँदा राणा शासनको अन्त्य भएको, २०११ सालमा पसिना आउँदा तत्कालीन राजा त्रिभुवनको मृत्यु भएको थियो । 

२०१८ सालमा पसिना आउँदा मुलुकमा ठूलो बाढीपहिरो आएको स्थानीय स्मरण गर्दछन् । त्यसैगरी २०२८ सालमा पसिना आउँदा राजा महेन्द्रको मृत्यु भएको, २०३५ सालमा पसिना आउँदा जनमत संग्रह भएको । २०४५ साल चैत्रमा पसिना आउँदा भूकम्प गएको, २०५७ साल माघ १ र १५ गते पसिना आउँदा २०५८ सालमा दरबार हत्या काण्ड भएको स्थानीय बताउँछन् । 
 


Author

थप समाचार
x