समाज

बाँकेका ५७ हजार सुकुम्बासीले अझै पाएनन् लालपूर्जा

इकागज |
चैत १९, २०७९ आइतबार १६:२६ बजे

काठमाडौँ- बाँकेका भूमिहीन, दलित सुकुम्बासीहरूले अहिलेसम्म लालपूर्जा पाउन नसकेको गुनासो गरेका छन् ।

बाँकेका भूमिहीन,दलित सुकुम्बासी र अव्यवस्थित बसोवास गर्ने करिब ५७ हजार सुकुम्बासीहरूले अहिलेसम्म लालपूर्जा पाउन नसकेको गुनासो गरेका हुन् । वन ऐनका कारण राष्ट्रिय भूमि आयोगले भूमीहीन,दलित सुकुम्बासी र अव्यवस्थित सुकुम्बासीहरूलाई जग्गाको लालपूर्जा वितरण गर्न ढिलाइ भएको जनाएको छ ।


जग्गा र जग्गाको लालपूर्जा पाउनका लागि सडक आन्दोलन गर्दा समेत सरकारले वास्ता नगरेको गुनासो गरे । खजुरा गाउँपालिका वडा नं ६ बस्ने घनसारा थारा मगरले वर्षौंदेखि बसोवास गर्दै आएका तर लालपूर्जा नपाएका कारणले घरायासी काम लगायत बालबालिकाहरूको शिक्षामा समेत प्रत्यक्ष असर परेको बताए ।

उनले वडामा भूमिहीन सुकुम्बासीहरूको बसोवास मात्र रहेको र हलसम्म कसैले पनि लालपूर्जा नपाएको बताए । उनले चुनावको बेला सुकुम्बासीहरूलाई भोट बैंकका रूपमा प्रयोग गर्ने र चुनाव जितेपछि फर्केर नहेर्ने गरेको बताए । उनले २०४५ सालदेखि बसोवास गर्दै आएको सम्पूर्ण बस्तीका कसैले पनि अहिलेसम्म जग्गाको लालपूर्जा नपाएको बताए ।

त्यस्तै सुकुम्बासी बस्तीमा बस्ने सोमान रोकाय २०३८ सालदेखि बसोवास गर्दै आए पनि अहिलेसम्म लालपूर्जा नपाएको बताउँछन् । उनले उक्त बस्तीमा बसोवास गर्दै आएका आर्थिक स्थिति राम्रो भएका मानिसहरूले २०४६ सालमा प्रतिकट्ठा ११ हजार रुपैयाँका दरले तिरेर लालपूर्जा बनाए पनि दैनिक छाक टार्न नसक्नेहरूले अहिलेसम्म लालपूर्जा नपाएको गुनासो गरे ।

उनले लालपूर्जा नभएका कारणले आफ्ना बालबच्चाहरूलाई शिक्षा दिन नसकेको र वैदेशिक रोजगारमा समेत पठाउन नसकिएको बताए ।

राष्ट्रिय भूमि आयोग जिल्ला समिति बाँकेका अध्यक्ष श्रवणकुमार यादवले सुकुम्बासीहरूलाई वन ऐन र सरकारका केही नीतिगत कारणले लालपूर्जा वितरणमा ढिलाइ भएको बताए । उनले बाँकेको ८ पालिकामध्ये ५ गाउँपालिकाले तथ्यांक उपलब्ध गराइसकेको उल्लेख गरे । उनले डुडुवा गाउँपालिका, नरैनापुर गाउँपालिका र नेपालगञ्ज उपमहानपालिकाको तथ्यांक हालसम्म उपलब्ध नभएकाले समस्या आएको बताए ।

बाँकेमा अधिकांश गाउँपालिकाहरू वन क्षेत्रमा पर्ने र गाउँपालिकाले समयमा नै तथ्याङ्क उपलब्ध नगराएको जिकिर गरे । उनले वन कार्यालयले क्षेत्र तोकेर भूमि आयोगलाई काम गर्न दिए सुकुम्बासीहरूलाई तत्काल लालपूर्जा उपलब्ध गराउन सकिने बताए ।


Author

थप समाचार
x