संक्रमण बढेपछि आइसोलेशन निर्माणमा स्थानीय सरकार
फाइल फोटो
झापा : नयाँ भेरियन्टसहितको कोभिड-१९ सङ्क्रमणबाट बच्नका लागि झापाका हरेक स्थानीय तहमा यतिबेला अक्सिजनसहितको आइसोलेशन निर्माण भइरहेको छ । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरसको दोस्रो लहरको सङ्क्रमण तीव्रगतिमा फैलिएको अवस्थालाई मध्यनजर गर्दै हरेक स्थानीय तहले आइसोलेशन कक्ष सञ्चालनको कार्यलाई तीव्रताका साथ अघि बढाएका छन् ।
कोभिडका कारण अतिप्रभावित स्थानीयवासीलाई प्राथमिक चरणको रोकथाम तथा नियन्त्रणका लागि स्थानीय पालिकाले आइसोलेशन सञ्चालन गर्ने कार्यलाई प्राथमिकताका साथ अघि बढाएका छन् । सक्रिय सङ्क्रमितका लागि ठूला अस्पतालमा बिरामीको चाप अत्यधिक बढेसँगै उपचार सेवाको अभावमा अस्पताल घुमाउँदाघुमाउँदै धेरै बिरामीले ज्यान गुमाउनुपरेको दयनीय अवस्थालाई मध्यनजर गर्दै हरेक पालिकाले आफ्ना नागरिकको जीउधनको सुरक्षाका लागि स्थानीयस्तरमै आइसोलेशन कक्ष सञ्चालन गर्न लागेको बताइएको छ ।
यसै क्रममा कनकाई नगरपालिकाले पहिलो चरणमा अक्सिजनसहितको २० शय्याको आइसोलेशन सञ्चालनमा ल्याउने भएको छ । आवश्यक सामग्रीका साथमा चाँडै आइसोलेशन कक्ष सञ्चालनका लागि तयारी गरिएको नगर प्रमुख राजेन्द्रकुमार पोखरेलले जानकारी दिए ।
कनकाई नगरको सुरुङ्गास्थित प्राथमिक स्वास्थ्य केन्द्रको दोस्रो तलामा व्यवस्थापन गरिएको आइसोलेशन कक्षका सबै शय्यामा अक्सिजनको व्यवस्था गरिनुका साथै सङ्क्रमितलाई स्वास्थ्यकर्मीबाट आवश्यक परामर्श सेवा सञ्चालन गरिने भएको छ ।
कोरोना सम्बन्धि आवश्यक परामर्शका लागि २४ सै घण्टा सेवा उपलब्ध गराउन नगरपालिकाले प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत डा अभिषेक नायकलाई जिम्मेवारी प्रदान गरिसकेको नगरप्रमुख पोखरेलले बताए ।
जिम्मेवारी पाएसँगै डा. नायकले हाल कोरोनाबाट सङ्क्रमित भई होम आइसोलेशनमा रहेका कनकाई नगरवासीसँग फोन सम्पर्क गरी स्वास्थ्यसँग सम्बन्धित विषयमा परामर्श लिने साथै प्राथमिक औषधोपचारका विषयमा सल्लाह दिने गरेको बताए । रासस
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया