नेपालगञ्ज कारागार : क्षमता ३ सय ५०, कैदी ८ सय ३९ जना
खजुरा- बाँकेको नौवस्तामा नवनिर्मित क्षेत्रीय कारागार सञ्चालनमा नआउँदा कैदीबन्दी व्यवस्थापनमा कठिनाइ भएको छ । तीन सय ५० जनाको क्षमताको नेपालगन्ज कारागारमा हाल आठ सय ३९ कैदीबन्दी छन् ।
महिला थुनुवालाई बर्दिया जिल्ला कारागारमा स्थानान्तरण गरी दुईवटै ब्लकमा पुरुष कैदीबन्दीलाई राखिएको छ । बाँके कारागारको ब्लक ‘ए’मा छ सय १७ र ब्लक ‘बी’ मा दुई सय ३२ कैदीबन्दी राखिएको जेलर अर्जुनजङ्ग शाहले बताए । उनका अनुसार ब्लक ए दुई सय ५० क्षमताको हो भने ब्लक बी एक सय क्षमताको हो ।
क्षमताभन्दा बढी कैदीबन्दी हुँदा थुनुवाहरु खचाखच स्थितिमा बस्न बाध्य छन् । क्षमताभन्दा बढी कैदीबन्दी भएकाले खानेपानी, शौचालयलगायतको समस्या छ भने वर्षौँदेखि जीर्ण भवनले कैदीबन्दीलाई बस्न समस्या छ ।
तीन हजार कैदीबन्दी राख्ने क्षमतासहित बाँकेको नौबस्तामा नौ बिघाको क्षेत्रफलमा निर्माणाधीन सुविधासम्पन्न क्षेत्रीय कारागार सञ्चालनमा अझै आउन सकेको छैन । “अर्थ मन्त्रालयले बजेट रोकेपछि क्षेत्रीय कारागार कहिले सञ्चालनमा आउँछ भन्ने कुराको कुनै टुङ्गो छैन”, जेलर शाहले भने, “बजेट रोकिदिएकाले कर्मचारी व्यवस्थापन हुन नसक्दा क्षेत्रीय कारागार सञ्चालनमा आउन सकेको छैन ।”
जिल्लाको गनापुरमा भवन निर्माण भएको वर्षौँ बितिसक्दा खुला कारागार सञ्चालनमा आएको छैन । खुला कारागार सञ्चालन कार्यविधि बन्न नसक्दा सञ्चालनमा ढिलाइ भएको हो । कारागार सञ्चालन तथा व्यवस्थापनमा कानुनी अड्चनका कारण करोडाँै लगानी गरेर निर्माण गरिएका भौतिक संरचना त्यत्तिकै थन्किएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया