एउटाको ऋण तिर्न अर्कोबाट ऋण : ३ लाखमा आधा बिगाह जग्गा कब्जा
मिर्गी रोगले ग्रस्त श्रीमान्काे अवस्था झनझन् बिग्रिन थालेपछि उनलाई जिल्ला अस्पतालमा भर्ना गरियो । तर, श्रीमान्काे उपचार गर्न चिरई चमारसँग पैसा थिएन । आफूसँग भएको थोरै पैसा पहिल्यै सक्किसकेको थियो । चमारले छरछिमेक गुहारिन् । तैपनि पैसाको बन्दोबस्ती भएन ।
केही सीप नलागेपछि चमारले १० कठ्ठा जमिन बन्धकी राखेर ऋण काढिन्, एक लाख रुपैयाँ । पैसा जुटेपछि उनलाई लागेको थियो, अब श्रीमान् बाँच्छन् । तर, दुःखद, उनी बाँचेनन्, केही दिनपछि प्राण त्यागे । चमार विक्षिप्त बनिन् । चमारले श्रीमान्, छोराले बाबुमात्र गुमाएनन्; परिवारले घरमुली नै गुमायो । एकमात्र कमाउने साहारा पनि गुम्यो ।
प्रिय मान्छेको मृत्युले बनेका घाउका टाटाहरू समयसँगै निको हुन थाले । चमारले आफ्नो चित्त बुझाउन थालिन् । उता छोरा ठूलो हुँदै गए । उनी कमाउन पनि थाले । उनको कमाइले परिवारको घाउमा मल्हम लगायो । उनीहरूको जीविको सहज हुँदै गयो ।
तर, साहुको ‘पैसा छिटो चुक्ता गर’ भन्ने बेलाबेलाको उर्दीले परिवारको शान्ति खोसिन्थ्यो । उनीहरूसँग सहनुको विकल्प थिएन, त्यसैले चुपचाप सहन्थे । तर, बेलाबखत निर्देशन दिन आउने साहु बिस्तारै दैनिक आउन थाले । निर्देशन बिस्तारै धम्कीमा परिणत भयो । अब आमाछोराले साहुको धम्की थप सहन सकेनन् । उनीहरूले निर्णय गरे– मिटरब्याज नै लिएर भए पनि ऋण चुक्ता गर्नुपर्छ ।
त्यसपछि उनले गाउँकै सुनिल बानियाँ र जगदिश बानियाँ (दाजुभाइ)सँग तीन वर्षअघि तीन लाख ऋण लिइन्, मासिक पाँच प्रतिशत ब्याजमा । लालपूर्जा मालपोत कार्यालयमा दृष्टिबन्धक राखियो ।
पैसा हातमा पर्नेबित्तिकै चिरईले ब्याजसहित साहुको ऋण तिरिदिइन् । परिवारले पाँच वर्षदेखि बोकिरहेको बोझ बिसायो । आमाछोराको मन हुलंगो भयो । उनीहरूलाई लाग्यो– पहिला ब्याज तिरौँला, त्यसपछि साँवा ।
तर, उनले सोचे जस्तो भएन । उनी पुरानो साहुबाट मुक्त भए पनि नयाँ साहुबाट मुक्त हुन सकिनन् । नयाँ साहु झन् कठोर थिए । ब्याजका लागि महिना मरेको अर्को दिन घरको ढोकामै आइपुग्थे । आमाछोराले महिनाभरी मेहनत गरेर कमाएको पैसा ब्याजै तिर्नै पुग्दैन्थ्यो । सुरुका केही महिना जसोतसो तिरे । तर, पछि त्यो पनि तिर्न सकेनन् ।
‘ब्याज तिर्न नसकेपछि साहुले झन् दुःख दिन थाले,’ आँखाभरि आसु पार्दै उनले भनिन्, ‘ब्याज टाइममै आएन भने जग्गा बेचिदिन्छु भनेर धम्की दिन थाले । दुई वर्षपछि बानियाँ दाजुभाइले मेरो जग्गा बेचिदिए । दृष्टिबन्धक भनेर राखिएको जग्गा बानियाँ दाजुभाइले उतिबेलै आफ्नो नाउँमा गरिसकेका रहेछन् ।’
नवलपरासी सुस्ताकी ४० वर्षीया चमार यतिबेला संघीय राजधानी काठमाडौंमा छिन् । उनी सिंहदरबारलाई बानियाँ दाजुभाइको ज्यादतीबारे सुनाउन आएकी हुन् । यो उनको तेस्रो पटक हो । एउटै समस्या सुनाउन तीन–तीन पल्ट राजधानी धाउँदा पनि उनको समस्या भने ज्यूँका त्यूँ छ । ‘काठमाडौं गएर हाम्राविरुद्ध आन्दोलन गर्ने भन्दै उनीहरूले हामीलाई धम्की दिइरहेका छन,’ उनले इकागजलाई सुनाइन् ।
उनी दिनभर सडकमा भौतारिन्छिन् । रातभर रत्नपार्क, शान्तिबाटिकाको चिसो भूइँमा अनिँदो रात बिताउँछिन् । आधा भोक मारेर । केही दिनपछि त्यो अवस्था पनि हुने छैन । रासनपानी सक्किँदै गएको छ । ९ दिनदेखि यो क्रम चलिरहेको छ । उनी र उनीजस्ता पाँच सय बढी मिटरब्याज पीडितको बिचल्ली भइरहँदा उता सिंहदरबारलाई भने कुनै चासो छैन ।
सरकारले आफूहरूसँग सम्झौता मात्रै गरेको तर, कार्यान्वयन नगरेको गुनासो उनको छ । सरकारले हामीलाई सधैँ धोका मात्र दियो,’ निर्णायक आन्दोलनमा उनले सुनाइन्, ‘यसपालि त हामीहरू न्याय नपाएसम्म घर फर्किँदैनौँ । बरु यतै मर्छौं ।’
उनको आवाजमा दृढता सुनिए पनि स्वास्थ्य अवस्था दिनानुदिन कमजोर हुँदै गइरहेको छ । उनी दमको रोगी हुन् । गत वैशाखमा मिटरब्याजीहरूले जग्गा बेचिदिएपछि उनको दम झनै गाजिँदै गएको छ । ज्यान काठमाडौंमा भए पनि उनको मन गाउँमै छ । त्यही साहुले बेचिदिएको जमिनमै छ ।
‘सम्पत्तिको नाउँमा एउटा टुक्रो जमिन थियो । त्यो पनि उनीहरूले खाइदिएपछि म ज्यूँदो लास भएकी छु,’ उनले सुनाइन्, ‘मलाई बाँच्नै मन छैन । अब बाँचेर कामै छैन ।’
उनी बानियाँ दाजुभाइलाई आफूले ब्याजमात्रै लाखभन्दा बढी पैसा तिरेको बताउँछिन् । तर, साहुबाट त्यसको प्रमाण कागज नपाएको उनको भनाइ छ । भन्छिन्, ‘उनीहरूले मलाई पैसा तिरेको कागजै दिएनन् ।’
त्यस्तै, साहुले आफ्नो जमिनको फसल र रुख पनि काटेर बेचेको उनी सुनाउँछिन् । ‘म बिरामी परेको मौकामा उनीहरूले मेरो जमिनको रुख र बाली पनि काटेर लगे, ‘साहुको श्रृंखलाबद्ध अत्याचारको पोल उनले खोलिन्, ‘पाँच वटा सिसौको रुखको मात्रै डेढ लाखभन्दा बढी दाम पर्छ ।’
उनले साहुको अत्याचारबारे गाउँका ठालू र प्रहरी प्रशासनलाई नसुनाएकी होइनन् । तर, उनको मर्का कसैले सुनेन । सबैबाट एउटै जवाफ पाइन्– तिमीसँग प्रमाण छैन, हामी यसमा केही गर्न सक्दनौँ ।
गरिबीकै कारण छोरोले पढ्न पाएनन् । छोरालाई पढाउन नसकेकोमा उनलाई ठूलो पछुतो छ । उनलाई लाग्छ, सन्तानले पढ्न पाएको भए राम्रो जागिर खान्थ्यो, धेरै पैसा कमाउँथ्यो र आफूहरूको जिन्दगी यस्तो हुँदैन्थ्यो ।
उनी अधिकांश समय बिरामी पर्ने भएकाले परिवारमा सबै भार छोरामा छ । छोरा ज्यालादारी गर्छन् । ‘उसले कमाउने सबै पैसा मेरा औषधिमै सकिन्छ,’ उनले सुनाइन्, ‘बाँकीको पैसाले बिहानबेलुकाको पेट भर्न पनि धौधौ हुन्छ ।’
अब चमारसँग सम्पत्तिको नाउँमा एउटा घरमात्र बाँकी छ । त्यो पनि सद्दे छैन, उनको मनजस्तै जीर्ण छ । खरले छाएको घरमा बर्खायाममा बाढी पस्छ, जाडोयाममा ठिरिर्याउने चिसो । जग्गा गुमेको पीरले गर्मीमा मन भत्भती पोल्छ, हिउँदमा कठ्यांग्रिन्छ । दमको सिकार भएकी उनको स्वास झन् वेगले चल्न थाल्छ ।
सरकारले यसअघिका सम्झौता लत्याए पनि अब भने सरकार गम्भीर हुने उनले आशा लिएकी छन् । भन्छिन्, ‘सुनेकी छु, यो गरिबको सरकार हो, यसले गरिबको आवाज सुन्छ । यसपालि न्याय पाउँछु भन्नेमा ढुक्क छु ।’
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया