समाज

मिर्चैया नगरपालिकाले दशकौँदेखि बसिरहेका स्थानीयको घर भत्काएपछि वडाबासी आन्दोलित

इकागज |
चैत २९, २०७९ बुधबार १३:५३ बजे

काठमाडौँ- सिराहाको मिर्चैया नगरपालिकाले पाँच दशकौँदेखि बसोबास गरिरहेका स्थानीयको घर भत्काएपछि वडाबासी आन्दोलित भएका छन् । नगरपालिकाले स्थानीयको वर्षौदेखि बसोबासगरी आएको र उनीहरूलाई पीडित बनाएपछि स्थानीय केही दिनदेखि यता निरन्तर आन्दोलनमा छन् ।  

नगरपालिकाले स्थानीय व्यापारी तथा वडाबासीको वर्षौदेखि बसोबसा गर्दै आएको भवन तथा घर भत्काएपछि आन्दोलित भएका हुन् । ५ र ६ वडाका स्थानीयहरू पीडित बनेका छन् । सबैभन्दा बढी पीडित ५ नम्बर वडाका छन् ।


बजारमा करिब सात दशकदेखि घर बनाएर बसोवास तथा व्यापार-व्यवसाय गर्दै आएका सुकुम्बासी र व्यापारीहरूले दैनिक आन्दोलन गरिरहेका छन् ।

नगरपालिकाले बसोबास गरेको ठाउँमा ज्यादती गरेपछि उनीहरूले विरोध जनाइरहेका छन् । सामुदायिक विद्यालयमा व्यवस्थापन समिति गठन गर्न पनि दिएका छैनन् ।

नगरपालिकाले नगरवासीका अभिभावकीय भूमिका निर्वाह गर्नुपर्नेमा उल्टो जनतामाथि शासन गर्न खोजेको उनीहरूको आरोप छ । व्यवसाय पुर्नस्थापना र रोजगारीको पुनः व्यवस्था गर्नुपर्ने पीडितको माग छ ।

चाँडोभन्दा चाँडो व्यवसायको सुनिश्चितता गर्नुपर्ने उनीहरूको माग छ । वर्षोदेखि बसोबास गर्दै आएकालाई लालपुर्जा जारी गर्नुपर्ने प्लेकार्डसहित पीडित आन्दोलनमा उत्रेका हुन् ।

मिर्चैया नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत विजयकुमार महत्तोले नगरपालिकाको जग्गा मिचेकालाई मात्र हटाइएको बताए ।

सडक मिचेर बनाएको र नगरपालिकाको स्वामित्त्वमा रहेको जग्गामा बनाइएको घर मात्र हटाइएको उनको भनाइ छ । निजी सम्पत्तिमा बनाइएको कुनै संरचना नहटाएको महत्तोले दाबी गरे ।

उनका अनुसार सरकारी जग्गामा बनाइएका संरचना मङ्सिरमा भत्काइएको थियो । सबैसँग छलफल गरी समझदारीमा भत्काइएको थियो । पाँच महिनापछि विरोध हुनुमा विरोधीहरू सल्बलाएको हुन सक्ने प्रमुख प्रशासकीय अधिकृत महत्तोले बताए ।

अहिले राजनीतिक रंग मिसिएको र विकास विरोधीहरूले आन्दोलन गरेको उनले बताए । नगरपालिकाले ३ बिगाहा १२ कठ्ठा १७ धुरमा बनाएको संरचना भत्काएको हो । १० देखि १२ वटा घर भत्काएको छ ।

‘नगरपालिकाले खाली गरेको जग्गामा व्यापारिक प्रयोजनका लागि भवन बनाउने छ,’ उनले भने,’ घर भत्केका स्थानीयलाई पहिलो प्राथमिकतामा राखिनेछ ।‘

छलफलका लागि बोलाइए पनि उनीहरू नआएको उनको भनाइ छ ।

 

 

 

 


Author

थप समाचार
x