समाज

मालिनीले सलहेशको प्रतिक्षा गर्दै वैशाख १ गते एक दिन मात्रै फुल्छ सलहेश फूल

इकागज |
बैशाख १, २०८० शुक्रबार ९:३२ बजे

सिरहा- प्रत्येक नयाँ वर्षको पहिलो दिन अर्थात् १ वैशाखका दिन मात्र फूल्ने फूलको दर्शन गर्न शुक्रबार बिहानैदेखि लहान नगरपालिकास्थित ऐतिहासिकस्थल सलहेश फूलबारीमा भक्तजनहरू पुगेका छन् ।

लहान नगरपालीकाकाको १२ र २२ नम्वर वडाको पूर्व–पश्चिम राजमार्गसँगै रहेको सलहेश फूलवारीमा एक दिन मात्र फूल्ने फूल दर्शन गर्न भक्तजनहरू जम्मा भएका हुन् । राजा सलहेशको ऐतिहासिक गाथा बोकेको सलहेश फूलबारी मन्दिरमा नेपाल तथा भारतबाट दर्शनार्थीहरू बिहानैदेखि आउने गरेका छन् ।


राजा सलहेश र उनकी प्रेमिका मालिनीको प्रेम प्रतिकका रुपमा लहानदेखि चार किलोमिटर पश्चिममा रहेको करिब ५ हेक्टर जमिनमा फैलिएको फुलबारीको मध्यभागमा हारमको एउटै रुखमा दुई वटा हाङ्गामा पुस्तौँ पुस्तादेखि प्रत्येक वर्षको १ वैशाखमा एक जोडी माला देखिने गरेको जनविश्वास छ ।

 ती माला र मेला हेर्न सिरहा, सप्तरी, उदयपुर, सिन्धुली, धनुषा, महोत्तरी, सर्लाही तथा भारतका निकटवर्ती गाउँहरूबाट सर्वसाधारणहरूको घुँइचो लागेका छन् ।

सलहेश फुलबारी संरक्षणको पर्खाइमा
पर्यटकीय महत्व बोकेका सलहेश फुलबारीमा स्थानीय तहले संरक्षण नगर्दा वर्षभरी नै पर्यटक भित्र्याउन सकेका छैनन् । पुस्तौँदेखि पर्यटकीय महत्व बोकेका जिल्लाको विभिन्न दर्शनीय स्थलहर मध्ये सिरहाको सलहेश फुलबारी एक हो, तर यहाँका स्थानीय तहले बेवास्था गरी संरक्षणतिर ध्यान नदिँदा यहाँको अवस्था दिनदिनै खस्किँदै गइरहेको स्थानीयले आरोप लगाएका छन् । 

पालिकाको क्षेत्रभित्र पर्ने पर्यटकिय स्थललाइ संवर्द्धन र संरक्षण गर्ने दायित्व नगरको रहे पनि जनप्रतिनिधिहरू मौन भएर बसेको स्थानीयहरूको आरोप छ । सलहेश फुलबारीको संरक्षणमा न त विगतका जनप्रतिनिधिले चासो देखाए, न त वर्तमान जनप्रतिनिधिहरूले पनि कुनै चासो नदेखाएको पुजारी वीरदेव धामीले दुखेसो पोखे । 

उनले भने, ‘विगतका जनप्रतिनिधिले सलहेश फुलबारीको समृद्धिका लागि केही गरेन, नयाँ जनप्रतिनिधि आयो अब केही हुन्छ कि आशा पलाएको थियो तर भएन ।’ पर्यटकीय महत्व बोकेका सलहेश फुलबारी वरिपरिका स्थानीयहरू यस क्षेत्रको सम्वद्र्धन र संरक्षणको पखाईमा रहेका छन् । हरेक वर्षको चैत मसान्त र वैशाख संक्रान्तिका बेला दुई दिन मात्र फुलेर मालाको आकार ग्रहण गर्ने सलहेशको सुगन्धका लागि निकै मानिस भेला हुन्छन् र ठूलो मेला पौराणिककालदेखि लाग्दै आइरहेको छ ।

यो फूल नयाँ वर्षका अवसरमा मात्र फूल्ने भएकाले नयाँ वर्ष मनाउन आउने पर्यटकहरूको ठूलो भिड लाग्ने गरेको छ । सलहेश फूलवारी मेलाको उचित संरक्षण व्यवस्थापन पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न कुनै पहल नभएकोमा स्थानीयहरू गुनासो गर्न थालेका छन् । सलहेश तराईका पासवान जातीको इष्टदेव रहेको र तेह्रौ शताब्दीका लोकनायक भएकोले सलहेशको पूजाअर्चना गर्नाले मनोकाक्षां, सन्तान प्राप्ति, चर्म रोग, कुष्ट रोग लगायतका रोग ब्याधि हरण हुने जन विश्वास रहेको छ । फूलबारी भित्र दुर्लभ जातीका जडीबुटीहरू खोज्न भारतको बिहार, पश्चिम बंगला, नेपालको सिरहा, सप्तरी, उदयपुर, धनुषा लगायतका जिल्लाबाट भक्तजनहरू आउने गर्दछन् ।

हरेक वर्ष बैशाख १ गते मात्र पूजा हुने सलहेश फूलबारीमा भव्य मेला लाग्ने गर्दछ । सलहेश र मालिनीबीच प्रगाढ प्रेम सम्बन्ध रहेको र प्रेम सफल नहुँदा मालिनीले सलहेशको प्रतिक्षा गर्दै हरेक वैशाख १ गते फूलको माला लिएर देखा पर्ने जनविश्वास रहिआएको छ ।

नयाँ वर्षको पहिलो दिन मात्र फूल फूल्ने यो चमत्कारलाई सलहेश महोत्सवका रुपमा मनाउने भनिए पनि त्यो भनाइमै सिमित रहेको छ । फूलबारीको मध्यभागमा रहेको मालिनी मन्दिर दक्षिण टाँस्सिएको हारमको रुखको मध्यभागमा फूल्ने माला आकारको फूललाई सलहेशको गाथासँग जोडिन्छ ।

मन्दिरका पुजारी वीरदेव धामीका अनुसार हरेक नयाँ वर्षको दिन फूल्ने यो फूललाई राजा जयवर्द्धन सलहेश र दौना मालिनीको प्रेम प्रतिकका रुपमा लिइन्छ । अचम्म के छ भने साँझपख यो फूल ओइलाएर जान्छ । युवायुवतीहरू उक्त फूललाई साक्षी राखी प्रणयसूत्रमा बाँधिने गर्दछन् ।

फुलवारीमा प्रवेश गरेपछि शान्ति र प्रेमको भाव आफै उत्पन्न हुने गरेकाले त्यस भेगका मानिसहरूलाई मात्रै होइन, भाकल गर्ने जो सुकैको मनोकामना पुरा हुने गरेकोले भारतीय पर्यटक भक्तजनहरू आउने गरेका छन् । मेलामा आउने भक्तजनहरूमध्ये तीस प्रतिशत भारतीय दर्शक रहने गरेको पुजारी धामीको भनाइ छ । सलहेश फूलवारीमा हारम पाकैर, लावा, सोहरा र विभिन्न जडीबुटी रहेको यस फूलवारीको शितल जल ग्रहण गरेपछि जस्तो सुकै रिस क्रोध शान्त हुने गरेको जानकारहरू बताउँछन् ।

विगतको तुल्नामा मेलामा व्यापार पनि बढेको र व्यावसायी गर्न पहिले भन्दा अहिले सहज भएको जनकपुरका माला,सिन्दुरको व्यपारी भोला दास बताउँछन् । उनका अनुसार मेलामा व्यवसायी सँगै शान्ति सुरक्षा पनि सुधार भएको छ ।

यस भेगमा अहिले पनि कुनै धार्मिक अनुष्ठान गर्दा कलश भर्नको लागि सलहेश फुलबारीको पानी प्रयोग गर्नुको साथै हैजा महामारी आउँदा पनि सलहेश फूलवारीको पानी औषधी मानेर खाएपछि निको हुने गरेको जनविश्वास छ । निःसन्तान महिलाहरूले सलहेश फूलबारीमा दर्शन गरेर सन्तान माग गर्दा सन्तान पाउने गरेकोले प्राप्त सन्तानको मुण्डन गराउन आउने गरेका छन् ।


Author

थप समाचार
x