समाज

विराटनगर महानगर बन्यो पूर्ण खोप सुनिश्चित पालिका

इकागज |
बैशाख ३, २०८० आइतबार २१:१७ बजे

विराटनगर- कोशी प्रदेशको राजधानी विराटनगर महानगरपालिका आइतबारदेखि पूर्ण खोप सुनिश्चितता पालिका घोषित भएको छ । जिल्ला समन्वय समिति मोरङका अध्यक्ष अजम्बर राईले पूर्ण खोप सुनिश्चितता पालिका भएको घोषणा गरेका हुन् ।

प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले महानगरका मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की र प्रमुख प्रशासकीय अधिकृत बिष्णुकुमार कोइरालालाई पूर्ण खोप सुनिश्चित भएको पत्र हस्तान्तरण गरे । मुख्यमन्त्री कार्कीले विराटनगर महानगरपालिकाले समग्र प्रगतिको सूचकमा थप एक कदम अगाडि बढेको बताए ।


विराटनगर प्रदेशको राजधानी र कोशी प्रदेशको एकमात्रै महानगरपालिका भएकाले पूर्ण खोप सुनिश्चित बनेको पालिका हुनु गौरवको विषय भएको उनकाे भनाइ छ । ‘विराटनगर महानगरपालिका एक कदम अगाडि बढेको छ,’ मुख्यमन्त्री कार्कीले भने, ‘प्रदेशको राजधानी पनि यहीँ भएकाले राम्रा कामको केही प्रतिशत जस हामीलाई पनि आउँछ, विराटनगरको विकासका लागि प्रदेश सरकारले सधैं सहयोग गर्ने प्रतिबद्धता रहनेछ ।’ उनले महानगरभित्र जन्मिने नवजात शिशुको विद्युतीय अभिलेख तयार गरेर राख्नका लागि समेत सुझाव दिए ।

महानगरका मेयर नागेश कोइरालाले सबैको साथ र सहयोगले विराटनगरलाई पूर्ण खोप सुनिश्चितता गर्न सफल भएको बताए । उनले विराटनगरमा १७ हजार ५०२ जना बालबालिकाहरूलाई खोप लगाइसकिएको जानकारी दिए । 

पूर्ण खोपबाट वञ्चित हुँदै आएका एक हजार ५९२ जना बालबालिकाहरूले समेत खोप प्राप्त गरेपछि महानगरलाई पूर्ण खोप प्राप्त गर्ने पालिका घोषणा गर्न सम्भव भएको मेयर कोइरालाले दाबी गरे । महानगरपालिकाका स्वास्थ्यकर्मीहरूले छुटेका बालबालिकाहरूलाई घरघरमै पुगेर खोप लगाएका कारण अभियान पूरा भएको पनि उनले जानकारी दिए ।

कार्यक्रममा कोशी प्रदेशकी स्वास्थ्यमन्त्री निर्मला लिम्बू, संघीय सरकारका स्वास्थ्य सचिव डा. रोशन पोखरेल लगायतले महानगरले पूर्ण खोपका लागि प्राप्त गरेको प्रगतिको प्रशंसा गरेका थिए । महानगरपालिकाभित्र जन्मिएको १५ महिनाभित्र ७ पटकसम्म १३ प्रकारको खोप लगाइसकेका महानगरका स्वास्थ्य महाशाखा प्रमुख हैदर अलिले जानकारी दिए । 

कार्यक्रममा महानगरपालिकाका १९ वटै वडाका वडाध्यक्षहरूलाई मेयर कोइरालाले पूर्ण खोप सुनिश्चितता वडा भएको भन्दै प्रमाणपत्र प्रदान गरेका थिए ।


Author

थप समाचार
x