Ekagaj Logo
३० कात्तिक २०८१, शुक्रबार
(Friday, 15 November, 2024)

समाज

द्वन्द्वपीडित परिवारका सदस्यको माग

'हाम्रा श्रीमान् किन मारिए, जान्न पाउनुपर्छ'

इकागज |
बैशाख ५, २०८० मंगलबार १६:५२ बजे

काठमाडौँ- द्वन्द्व पीडित संघर्ष समितिले संसदमा पेस भएको संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक संशोधन गर्न माग गर्दै विरोध प्रदर्शन गरेको छ । संघर्ष समितिले मंगलबार काठमाडौँको नयाँ बानेश्वरमा विरोध प्रदर्शन गरेको हो । समितिले आफूहरूले शान्तिपूर्ण रूपमा २७ दिनसम्म आन्दोलन गर्दा पनि कुनै सम्बोधन नभएको भन्दै बाध्य भएर विरोध गर्नुपरेको बताए ।

आन्दोलनका क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै द्वन्द्व पीडित परिवार सदस्य शोभा बिसीले टिआरसीसँग सम्बन्धित विधेयक पीडकलाई उन्मुक्ति दिने किसिमको रहेकाले संशोधनको माग गर्न आन्दोलन गरेको बताइन् । उनले शान्तिपूर्ण रूपमा आन्दोलन गर्दा समेत राज्यले बल प्रयोग गरेको जिकिर गरिन् । आन्दोलनमा उत्रिएका द्वन्द्व पीडितमध्ये ८ जनालाई प्रहरीले बल प्रयोग गरेर नियन्त्रणमा लिएको उनले बताइन् ।


उनले द्वन्द्वकालमा आफ्ना श्रीमान् किन मारेको ? भन्दै सरकारसँग प्रश्न गरिन् । उनले श्रीमान् मारिएको कारण आफूहरूले जान्न पाउनुपर्ने भन्दै पीडकलाई उन्मुक्ति दिने किसिमको विधेयक ल्याए आफूहरूको विरोध जारी रहने चेतावनी दिइन् । उनले विधेयक संशोधन गर्न समिति बनाएर छलफल गरोस् भन्ने पीडितहरूको माग रहेको बताइन् ।

प्रदर्शनमा उत्रिएकाहरूले पीडकलाई उन्मुक्ति दिन ल्याइएको विधेयक संशोधन गर्, सरकार मेरो पति खोई ? लुटिएको सम्पत्ति फिर्ता गर्, पीडितलाई परिपूरणको ग्यारेन्टी गर्, द्वन्द्वका पीडितलाई कतिन्जेल ढाँट्छौं ? घाइते, अपाङ्ग र अशक्त पारिएकाहरूको उपचारको ग्यारेन्टी गर् लगायतका प्लेकार्ड बोकेर विरोध प्रदर्शन गरेका थिए । केही समय यता द्वन्द्व पीडित सुरक्षाकर्मी परिवार संस्था लगायत द्वन्द्व पीडित परिवारका सदस्यहरूले टिआरसीसँग सम्बन्धित विधेयकको विरोध गर्दै आएका छन् । 
 


Author

थप समाचार
x