Ekagaj Logo
३० कात्तिक २०८१, शुक्रबार
(Friday, 15 November, 2024)

समाज

चर्पी विनाको सार्वजनिक शौचालय बनाउँदै चौतारा

इकागज |
बैशाख ७, २०८० बिहीबार १५:५४ बजे

सिन्धुपाल्चोक। सिन्धुपाल्चोककाे सदरमुकामसमेत रहेको चौताराबजारमा सार्वजनिक शौचालयको आवश्यकतालाई महसुुस गर्दै चौतारा साँगाचोकगढी नगरपालिकाकाले बजारको मध्यभाग मिलनचोकमा सार्वजनिक शौचालय निर्माण थालेको छ ।

जिल्ला समन्वय समितिको स्वामित्वमा रहेको जग्गामा निर्माण थालिएको सार्वजनिक शौचालयमा पिसाब गर्न संरचना निर्माण गरे पनि दिसाका लागि आवश्यक संरचना भने निर्माण गरिएको छैन । स्थानीय टोल विकास समितिले निर्माणको जिम्मेवारी लिएको सार्वजनिक शौचालयमा दिसापिसाब गर्न मिल्ने गरि डिजाइन गरिएको अनौपचारिक कुराकानीमा नगरपालिका प्राविधिकले बताए पनि समितिले आफ्नै ढंगबाट दिसा गर्ने संरचना  हटाएर सार्वजनिक शौचालय निर्माण गरेको छ । समितिले  दिसाका कारण दुर्गन्ध बढ्ने भन्दै युरिनल मात्र राखेर चर्पीको संरचना हटाएको जनाएको छ ।


निर्माणाधीन सार्वजनिक शाैचालयमा महिला र पुरुषका लागि पिसाब गर्न बनाइएकाे छुट्टाछुट्टै संरचना ।

सार्वजनिक शौचालयमा दिसापिसाव दुवैको सुविधा हुनुपर्ने चौताराका रविन्द्र श्रेष्ठ बताउँछन् । 'गन्ध आउँछ भनेर सुविधाविहीन शौचालय बनाउने हो भने शौचालय हैन मन्दिर बनाएर धुपअगरबत्तिको सुगन्धमा बसे भइ गो नि।' श्रेष्ठले भने ।

सार्वजनिक शौचालयको नाउँमा दिसा गर्ने संरचना निर्माण नगरिए पछि चौताराका अधिकांश युवाहरु रुष्ट छन् । उनीहरुले बजेट सक्न मात्रैका लागि मात्र यो काम थालनी गरेको आरोप लगाएका छन् । सफा गर्नका लागि पानी अभावको कारण देखाउँदै यस्तो अपुरो संरचना निर्माण गर्न नहुने युवा सविन श्रेष्ठ बताउँछन् ।

पिसाबले भन्दा पनि मान्छेलाई दिसाले बढी समस्या पार्ने हुँदा दिसापिसाब दुवै गर्न मिल्ने संरचना तयार गर्न उनले नगरपालिकासँग अनुरोध गरे । त्यसैले सबै कुराको व्यवस्थापन गरि दुबै सुविधा हुने शौचालय निर्माण गर्नु पर्ने उनकाे भनाइ छ।

नगरपालिकाका प्राविधिक रामहरी नेपाल भने पानी अभावका कारण डिजाइनमा ट्वाइलेटको व्यवस्था नगरिएको बताउँछन् । निर्माण कार्य सम्पन्न भइनसकेकाले अझै ट्वाइलेतसहितको शौचालय निर्माण हुन सक्ने उनले बताए ।

समन्वयको स्वामित्वमा रहेको झण्डै एक रोपनी जग्गामा रु १९ लाख ५० हजारमा शौचालय मात्र हैन, पार्किङ र तरकारी संकलन केन्द्र पनि निर्माण गरिएको छ । पार्किङमा भने सर्वसाधरणको भन्दा पनि स्थानीयहरुको कार चौबीसै घण्टा पार्किङ हुँदै आएको छ ।

 


Author

थप समाचार
x