समाज

प्रहरीको कुटाइबाट घाइते चमार भन्छन्– सपनामा पनि कुटेको देख्छु

कमल विष्ट |
बैशाख १०, २०८० आइतबार १३:३१ बजे

रत्नपार्क । शनिबार साँझ । घण्टाघरको घडीमा सात बज्नै लागेको छ । रात बिस्तारै छिप्पिँदै छ । विभिन्न उद्देश्यले बाहिर निस्किएकाहरू छिटो घर पुग्ने ध्याउन्नमा छन् । गाडीमा आफ्नो सिट सुरक्षित गर्न यात्रुहरूको तँछाडमँछाड चलिरहेको छ । सिट पाउनेहरूमा खुसी छाउँछ भने नपाउनेहरू खिन्न हुँदै अर्को गाडीको प्रतीक्षामा बस्छन्। 

सडकमा उपत्यकाबासीबीच छिटो घर पुग्ने रस्साकस्सी चलिरहँदा रत्नपार्क, शान्तिवाटिकामा भने एउटा समूह छ; जसले आफ्नो घर त्यागेर आएको छ; जसको घर फर्किने कुनै टुंगो छैन । आफ्नो उठीबास लगाउने मिटरब्याजी साहुविरुद्ध आन्दोलन गर्न विभिन्न जिल्लाबाट काठमाडौं आएका पीडित किसान–मजदुर तीन सातायता कष्टकर जीवन बिताइरहेका छन् ।


त्रिपालले बारिएका टहरामा बसिरहेका पीडितसँग न गाँस छ न बास । दिनभर मिटरब्याजी साहु र दमनकारी राज्यविरुद्ध सडकमा नारा लगाएर भोकाएको ज्यानले राति पेटभरी खान पाउँदैन । थकित र सुकेको घाँटीले तृप्त हुनेगरी पानी पाउँदैन । 

त्यसो त यो उनीहरूको स्थायी समस्या नै हो । गाउँमा पनि उनीहरूलाई भोक र गरिबीले कहिल्यै साथ छाड्दैन । तर, न्यायको याचना गर्न गाउँबाट काठमाडौं आउँदा उनीहरूलाई लागेको थियो– काठमाडौंमा संघीय सरकार छ, उसले हाम्रो पीरमर्का जरुर सुन्नेछ । गत सोमबारदेखि भने उनीहरूको त्यो आशा गर्ल्यामगुर्लुम ढलेको छ । सोमबार प्रहरीले पीडितमाथि बर्बर हमला गरेपछि त्यो आशा अहिले भत्किएको हो । 

उनीहरूलाई यतिबेला मिटरब्याजी सुदखोरभन्दा प्रहरीको बढी डर छ । वैशाख ४ को प्रहरी दमन सम्झिएर उनीहरू अहिले पनि आतंकित छन् । दिमागमा झल्झली त्यहीँ दृश्य आउँछ । प्रहरी देख्या कि डर लाग्न थालिहाल्छ । कतिसम्म भने राति शौचालय जाँदा पनि शसंकित हुन्छन् उनीहरू । ७६ वर्षीय रामकवल चमार त सपनामा पनि प्रहरीले आफूमाथि लाठी बर्साएको देख्छन् । 

त्यो प्रहरी आक्रमणमा परेर ५० बढी पीडित घाइते भएका थिए । तीमध्ये एक हुन्, नवलपरासी प्रतापपुरका रामकवल । त्यसदिन उनी टहराभित्रै थिए । दम बढेकाले आन्दोलनमा नजाने निधो गरेका थिए । तर, प्रहरीले टहराबाट लछार्दै बाहिर ल्यायो र हात भाँचिने गरी कुट्यो । 

‘मलाई छाडिदिनुस् छाडिदिनुस् भनेर धेरैपल्ट भनेँ, तर उनीहरूले सुनेनन् । छाप्रोबाट लछार्दै बाहिर निकाले अनि कुटे,’ उनले भाँच्चिएको हात देखाउँदै भने, ‘मैले केही गल्ती गरेको थिइनँ । पुलिसले यसै पिट्यो ।’

उनले अगाडि भने, ‘पाँच दिनदेखि राति राम्रोसँग निदाउन सकेको छैन । सपनामा पनि प्रहरीले कुटेको देख्छु ।’

दिउँसो मिटरब्याजविरुद्धको संघर्ष समितिले सिंहदरबार मार्च गर्यो । रामकवल उक्त र्यालीमा सरिक भएनन् । हातले नमिलेपछि उनी दिनभर अन्य घाइतेसँग वाटिकामै बसे । दिउँसो एक्लै हुँदा पनि प्रहरीकै त्रासमा थिए उनीहरू । 

वाटिकामा रात क्रमशः छिप्पिँदै छ । मधुरो प्रकाशमा पीडितहरू दिउँसोको आन्दोलनको समीक्षा र आगामी योजना बनाइरहेका छन् । रामकवल र अन्य घाइतेहरू बैठकमा पूरै समय बसेनन् । आराम गर्न टहराभित्र पसिहाले । 

धेरै समय नलिइ हामीले रामकवलसँग उनको समस्याबारे सोध्यौँ । 

०००

छोरा​लाई वैदेशिक रोजगारीका लागि मलेसिया पठाउन २०६८ सालमा रामकवलले गाउँकै जगदिश बानियाँसँग ८० हजार रुपैयाँ ऋण लिए, मासिक ५ प्रतिशत ब्याज तिर्ने सर्तमा । उनको ५ कठ्ठा जमिन मालपोत कार्यालयमा दृष्टिबन्धक राखियो । 

विदेशबाट छोराले पैसा पठाउन थाले । यता रामकवलले बानियाँलाई ब्याज तिर्दै गए । चार वर्ष विदेश बसेर छोरा नेपाल फर्किए । फर्किएलगत्तै रामकवल र उनका छोराले बानियाँको बाँकी ब्याज र साँवा तिरेर लालपूर्जा फुकुवा गर्ने निधो गरे । बानियाँको घर पुगेर पैसा बुझाए । तर, सबै तिर्दा पनि बानियाँले जग्गा फुकुवा गर्न मानेनन् । 

‘हामीले ब्याज र साँवा दुवै चुक्ता गर्यौँ । हामीले ९ लाख तिरेको हिसाबमा देखियो । तर, उनले अझै १ लाख ७३ हजार बाँकी छ, त्यो पनि तिर भने,’ उनले खोक्दै भने।
लालपूर्जा फुकुवा गर्न बानियाँसँग थुप्रैपल्ट बिन्ती गरे । तर, बानियाँले ‘ढुंगे मुटु’ पग्लिएन । परिवारले गाउँका भद्रभलाद्मीसँग गुहार माग्यो । स्थानीय सरकार र प्रहरी प्रशासनसँग पनि सहयोग मागियो । तर, उनीहरूको व्यथा कसैले सुनेन ।

कतैँबाट केही नभएपछि उनी गत असारमा अन्य पीडितसँग न्याय माग्न काठमाडौं आए । उनी संघीय राजधानी आएको यो चौथो पल्ट हो । तैपनि उनले न्याय पाउन सकेका छैनन् । सरकारले हरेकपल्ट वार्ता गर्छ, तर सम्झौता कार्यान्वयन गर्दैन । यसपालि उनले उधारो वाचा लिएर घर नफर्किने दृढ संकल्प लिएका छन् । 

उनले भने, ‘अब म कति नै बाँच्छु होला र ? यसै मर्ने उसै मर्ने । बरु लडेर मर्छु !’


Author

कमल विष्ट

विष्ट रिपोर्टर हुन् ।


थप समाचार
x