Ekagaj Logo
०२ कात्तिक २०८१, शुक्रबार
(Friday, 18 October, 2024)

समाज

ती राजा, यो दरबार : कहिले मिल्छ न्याय ?

शुरज थपलिया |
बैशाख १५, २०८० शुक्रबार १३:२ बजे

नेपालको मध्यपश्चिम प्रदेश भूभागको कुल क्षेत्रफल १०१८ वर्ग किमिमा अर्ध चन्द्राकारमा फैलिएको जिल्लाको नाम हो नुवाकोट । यो जिल्ला नेपालको केन्द्रीय हिमालयस्थित मध्य पहाडी र तराई क्षेत्रको बीचमा अवस्थित छ, जसलाई गोपालवंशदेखि नै नवकोट, नवकोट्य, नवक्वाथ, नौकोट जस्ता विविध नामले चिनिन्छ ।

नुवाकोट एक ऐतिहासिक पृष्ठभूमिले सज्जित जिल्ला हो जुन काठमाडौँ सहरको उत्तर–पश्चिम दिशामा अवस्थित छ । नुवाकोट नेपालको कुनै पनि अञ्चल तथा अन्तर्राष्ट्रिय सिमानालाई नछुने जिल्लामध्येको एक हो जसमा उच्च पहाडी क्षेत्र, हिमालको दक्षिणी ढाल र पहाडी क्षेत्रको बीचमा यत्रतत्र छरिएर रहेको समथर टार–बेंसीहरूलगायतका विविध भौगोलिक विशेषता पाउन सकिन्छ ।


यस क्षेत्र पछिल्लो समयमा ट्रेक, र्‍याफ्टिङ, अपरिहार्य पर्वतीय र जंगली क्षेत्रहरू, भैरवी मन्दिर, तलेजु मन्दिर, नुवाकोट दरबार संग्रहालय, महामण्डल, रेन्बो ट्राउट माछा, दुप्चेश्वर महादेव मन्दिर, विशाल परिदृश्यहरू, पासाङ ल्हामु राजमार्ग, त्रिशुली र देवीघाट जलविद्यृत् आयोजना जस्ता विविध चिजले प्रख्यात छ तर वर्तमान समयमा भने बुरुन्डी र सोमालिया (विश्वको सबै भन्दा गरिब र अविकसित देशहरू) जस्तै हुन आँटेको छ । देशको राजधानी सहरसँगै भए पनि यो जिल्लामा धेरै आधारभूत असुविधा छन् ।

राजधानी सहरबाट धेरै टाढा रहेका शहर (जस्तै : पोखरा) त धेरै विकसित भए तर नुवाकोट भने राष्ट्रनिर्माता राजा पृथ्वीनारायण शाहदेवको देहान्तपश्चात् विकास सुस्त भयो । आज पनि हजारौं मानिस आफ्नो जन्मथलो छोडेर विदेशिनु परेको छ ।

राष्ट्रनिर्माता राजा पृथ्वीनारायण शाहदेवले दोस्रो पटकको आक्रमणमा नुवाकोटमाथि विजय प्राप्त गरेपछि १८१९ सालमा ललितपुरबाट कालिगढ झिकाई नौतले दरबार बनाएका थिए जुन १९९० सालको महाभूकम्पले दुई तल्ला भत्काएपछि सात तल्ले भएको थियो । उक्त समयमा मल्ल राजाहरूले आफ्ना लागि पाँच तल्ला र सर्वसाधारण जनताका लागि तीन तल्लासम्मको घर बनाउने नियम थियो । 

राजा पृथ्वीनारायण शाहदेवले उपत्यकाको मल्ल राजाहरूको घमण्ड तोड्नकै निम्ति मन्दिर शैलीको नौतल्ले दरबार बनाउन लगाएका हुन् । त्यो बेलामा भूकम्पपश्चात् बनाइएको दरबार आज २०७२ सालको भूकम्प गएको आठ वर्ष हुँदा अझै बन्‍न सकेको छैन ।

वि.सं. १९९० सालमा भरिया लगाई समान बोकेर बनाइएको दरबार आजको मितिमा सवारी साधन दरबारको दैलोमै पुग्दा पनि निर्माण सम्पन्‍न हुन भने सकेको छैन् । त्यहाँ राष्ट्रनिर्माता राजा पृथ्वीनारायण शाहदेवले प्रयोग गर्ने सर–सामानहरू कतै बेचिए कि, चोरी भए कि, पूर्ण रुपमा क्षति भए कि के भयो अत्तोपत्तो नै छैन । अब अभैm कति दशक लाग्छ होला त यस दरबार निर्माण हुन् ?

राष्ट्रनिर्माता राजा पृथ्वीनारायण शाहद्वारा तत्कालीन अवस्थामा नेपाल उपत्यका र गण्डकी तथा कर्णालीपारिका बाइसे–चौबीसे भनिने स–साना राज्यहरूलाई मिलाई एकीकृत र समुन्‍नत नेपाल राज्य खडा गर्ने उत्कट अभिलासा व्यक्त गर्नुभएको थियो तर राष्ट्र निर्माण गर्नेलाई एउटा गतिलो स्तम्भ पनि बनाउन सकिएको छैन । धेरै टाढा जानै पर्दैन यही नेपालको सिमाना नजिक रहेको भारतको सिक्किममा गएर महात्मा गान्धीको स्तम्भ र सालिक हेर्दा हुन्छ ।

पुराना राजदरबार कुनै पनि देशको स्थायित्व र ऐतिहासिक अधिकारको प्रतीक हुन् । नुवाकोटको सात तल्ले दरबार, देवीघाटमा रहेको स्तम्भ जस्ता ऐतिहासिक ढाँचाहरूले देशको अधिकार, महत्व र स्थायित्वको निर्धारण गर्छन् । यी स्थलहरूले पर्यटन तथा सांस्कृतिक विकासका लागि पनि महत्वपूर्ण भूमिका निभाउँछन् ।

सांस्कृतिक महत्व बोकेको दरबार भएकाले नै वि.सं. २०६७ जेठ १५ मा गणतन्त्र घोषण भए लगत्तै दरबारलाई राष्ट्रियकरण गरी पुरातत्व विभागमा सङ्ग्रहालयका रुपमा परिणत गरी राखिएको थियो । अब के पुरातत्व विभागले राष्ट्रियकरण गरिएका संरचनाहरू र स्थलहरूको लेखाजोखा मात्र राख्ने हो त ? कि यसको विकास र सुरक्षाको पनि जिम्मा लिनुपर्‍यो नत्र यसरी विकासको नाममा निर्माणको कार्य रोकेर बस्नु भएन ।

हुन त देशले ठुलै फड्को मारेको छ विकासमा तर जनताले सोचेको, खोजेको र रोजेको राज्य अझै पाहुना सकेको छैन । नागरिक धनी भए देश बलियो हुन्छ । राजाको गोदाम भनेको जनता नै हो । यस्तो सोच राख्‍ने राजाको ५२ वर्षमा निधन हुन्छ र आजको मितिसम्म पनि आखिर के कारणले राजाको मृत्यु भयो यकिन नै छैन ।

खोइ के भयोभयो आजसम्म भुत्तो-भांगो पत्ता लागेको छैन । रातारात भएको यस घटना निकै नै घातक साबित भयो, राजाको अमरगतिपछि पहिलाको जस्तो मुलुक शक्तिशाली हुन सकेन, नेपाल त एक भयो तर नेपाली एक हुन सकेन । कठै मेरो देश एकादेशमा राजाले न्याय पाएनन, पछि उनको दरबारले न्याय पाउन सक्या छैन ।


Author

थप समाचार
x