गाँजासहित समातिए मकवानपुरका वडाध्यक्ष
मकवानपुर- प्रहरीले मकवानपुरको थाहा नगरपालिकाबाट २ सय २ किलो गाँजासहित तीन जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ परेका मध्य एक जना थाहा नगरपालिका वडा ७ का वडाध्यक्ष हुन् ।
वैशाख १८ गते सोमबार लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वर काठमाडौँ र इलाका प्रहरी कार्यालय पालुङका प्रहरी नायब निरीक्षक उमेशप्रसाद कोइरीको कमाण्डमा खटिएको संयुक्त टोलीले मकवानपुरको थाहा नगरपालिका-७ आग्रा बस्ने ७६ वर्षीय भिमबहादुर थिङ, ३९ वर्षीय शिवराज थिङ र ६७ वर्षीय इन्द्रबहादुर थिङलाई नियन्त्रणमा लिएको हो । शिवराज वडाध्यक्ष हुन् ।
उनीहरू ३ जनाकै घरबाट गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ ।
लागूऔषध गाँजा बिक्री वितरण गर्ने उद्देश्यले लुकाई राखेको अवस्थामा २ सय २ किलो बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
भिमबहादुर थिङ र शिवराज थिङको घरबाट ३० वटा पोकाहरूमा २७ किलो ग्राम गाँजाको धुलो र इन्द्रबहादुर थिङको घरबाट १० वटा बोराहरूमा १ सय ७५ किलो गाँजा गरी २ सय २ किलो गाँजा तथा धुलोसहित उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।
बरामद गरिएको गाँजा र नियन्त्रणमा लिइएका तीनै जनालाई इलाका प्रहरी कार्यालय पालुङ मकवानपुर ल्याइएको र कारबाहीका लागि थप अनुसन्धान भइरहेको मकवानपुर प्रहरीले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया