मिटरब्याजी साहुकाे ज्यादती
प्रहरीको कुटाइबाट घाइते राजोदेवी भन्छिन् : अचेल प्रहरी देख्दा पनि डर लाग्छ
काठमाडौँ- एक दिन राजोदेवी रामका छोराले साँझ खाना खाने बेलामा भने, ‘आमा, नेपालमा बसेर केही होला जस्तो छैन, अब म विदेश जान्छु ।’
कहिल्यै घर नछाडेको सन्तानले एकाएक विदेश जाने कुरा गरेपछि राजोदेवीको मनमा चिसो पस्यो । तर, छोरालाई नजाऊ भन्ने अवस्था उनको थिएन । बूढा श्रीमानकाे कमाइले जेनतेन घरको गुजारा हुन्थ्यो ।
आर्थिक अवस्था कमजोर भएकै कारण छोराले स्कुल टेक्न पाएनन् । ‘नपढेको मान्छेले नेपालमा काम पाउँदैन । ज्यालादारी गरेर जीवन सधैं चल्दैन । त्यसैले उसलाई नजा भन्नै सकिनँ,’ सप्तरी वीरेन्द्र बजारकी ५० वर्षीया राजोदेवी दुई वर्षअघि फर्किइन् ।
लघुवित्तबाट ऋण काढेर परिवारले उनलाई साउदी अरब पठायो । तर, उनी धेरै समय बस्न सकेनन् । अरबी भूमि र साहु उनले सोचेभन्दा निर्दयी थिए । न खाना र निद्राको टुंगो हुन्थ्यो न तलबको । साहुको कुटाइबाहेक केही कुराको टुंगो नभएपछि उनले एक दिन घरमा फोन गरेर आफू थप विदेश बस्न नसक्ने कुरा सुनाए ।
‘गएको तीन महिनामै छोराले म त अब फर्किन्छु भन्यो । उसलाई फर्काउने पैसा मसँग थिएन,’ विगत एक महिनादेखि रत्नपार्कको शान्तिवाटिकामा कष्टकर जीवन व्यतित गरिरहेकी राजोदेवीले इकागजलाई सुनाइन् ।
उनले अगाडि भनिन्, ‘लघुवित्तको ऋण पूरै बाँकी थियो । यस्तोमा थप पैसा कोसँग माग्नू ? साह्रै चिन्ता पर्यो । इस्टमित्रलाई सहयोगका लागि भनेँ, तर कसैसँग पैसा थिएन ।’
कतैबाट पैसाको जोहो नभएपछि गाउँकै सत्यनारायण पण्डितसँग पाँच लाख ऋण लिइन्, मिटरब्याजमा । राजोदेवीले पण्डितलाई साँवाको मासिक तीन प्रतिशतका दरले ब्याज तिर्नुपर्ने भयो । पाँच कठ्ठा जमिनको लालपूर्जा पनि मालपोत कार्यालयमा दृष्टिबन्धक राखियो । ऋणमाथि ऋण गरेर भए पनि उनले छोरालाई नेपाल झिकाइन् ।
सन्तान मृत्यु जितेर आउँदा उनी खुसी भइन् । तर, यता लघुवित्त र मिटरब्याजी साहुले परिवारको शान्ति खोस्न थाल्यो । ‘सत्यनारायणले ब्याज समयमै नतिरे जग्गा लिलाम गरिदिन्छु भन्न थाले । जहाँ भेटे पनि त्यहीँ गाली बेइज्जत गर्न थाले,’ उनले सुनाइन्, ‘लघुवित्तको धम्की पनि उस्तै थियो ।’
यी दुई ऋणबाट मुक्ति पाउन राजोदेवीले अर्को ऋण लिने निर्णय गरिन् । त्यहीँ गाउँका किशोर मण्डल उनका नयाँ साहु भए । मण्डलबाट परिवारले दुई लाख ४० हजार ऋण लियो । धितो राख्ने केही थिएन । ऋणले च्यापिँदै गएपछि उनको जीवन तनावपूर्ण हुन थाल्यो ।
पण्डितले उनीसँग पाँच लाखको ब्याज र साँवासहित ३० लाख मागिरहेका छन् । ‘कस्तो हिसाब गरेर उनले ३० लाख बनाए हामीलाई थाहा छैन । त्यत्रो पैसा म कहाँबाट तिरुँ अब ?’ भावुक हुँदै उनले भनिन्, ‘यता लघुवित्त र नयाँ साहुको तनाब छ ।’
निरुपाय भएर गाउँबाट मिटरब्याजीविरुद्ध आन्दोलन गर्न काठमाडौँ आउँदा उनलाई लागेको थियो, सरकारले हाम्रो मर्का सुन्ला । तर, यहाँ सहयोग पाउनुको त कहाँ हो कहाँ उल्टै प्रहरीको कुटाइबाट घाइते भइन् ।
गत ४ वैशाखमा प्रहरीले शान्तिवाटिकामा मिटरब्याज मजदुर–किसानमाथि बल प्रयोग गर्दा उनीसहित ५० जना घाइते भए । उनको टाउकामा थुप्रै टाका लागेका छन् ।
‘प्रहरीले मेरो टाउकोमा लाठीले हिर्कायो, त्यसपछि म बेहोस भएँ । मनोज खतिवडा र निर्ग नवीनहरू मिलेर मलाई अस्पताल लगे । अस्पतालमा मेरो होस् आयो,’ ४ वैशाखको प्रहरी दमनबारे उनले सुनाइन्, ‘टाउकोमा धेरै टाका लागेका छन् । अहिले त प्रहरी देखे पनि डर लाग्छ ।’
त्यस दिन प्रहरीले आफूलाई विनाकारण कुटेको उनी बताउँछिन् । भन्छिन्, ‘त्यस दिन हाम्रो सिंहदरबारसम्म र्याली थियो । तर, मलाई सञ्चो नभएकाले म बसिरहेकी थिएँ । त्यहीँ प्रहरी मलाई कुट्यो ।’
प्रहरी देख्दा डराउने उनी मिटरब्याजीविरुद्ध आन्दोलन गर्न काठमाडौँ आएको यो पहिलोपल्ट होइन । चौथो पटक हो । तर, उनले अहिले अहिलेसम्म न्याय पाएकी छैनन् । यसपालि भने उनी न्याय उधारो बाचा लिएर नजाने पक्षमा छिन् ।
उनी घाइते भएका खबरले सप्तरीमा रहेका श्रीमान् र छोरालाई चिन्तित बनाएको छ । ‘उनीहरूले मलाई घर फर्किउँ नत्र हामी तिमीलाई लिन आउँछौँ भनिरहेका छन् । तर, उनीहरूलाई मैले यसपालि न्याय नपाउँदासम्म घर फर्किदिनँ भनेकी छु ।’
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया